अर्थ

अक्सिजन बिना मनास्लु हिमाल चढ्दै पूर्णिमा

फाइल तस्बिर

पर्वातरोही पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्ने भएकी छन्। यही भदाै २० गते बिना अक्सिजन मनास्लु आरोहणका लागि हिँडेकी उनले सेप्टेम्बर अन्तिमसम्ममा आरोहण गरेर फर्कने नागरिकसँगको कुराकानीमा बताइन्।  

गएको बसन्त ऋतुमा कञ्चनजंघा, लोहोत्से र धैलागिरी हिमालको सफल आरोहण गरेकी श्रेष्ठले अक्सिजन बिना हिमाल चढ्ने आफ्नो निर्णय एकदमै चुनैतीपूर्ण भए तापनि आत्मबल बलियो भएको बताए। उनले भने ‘हिमालसँग मेरो के साइनो छ ठ्याक्कै भन्न त सक्दिन तर मलाई हिमालले जहिल्यै बोलाईरहे झैं लाग्छ। हिमालको लागी सबै चुनौती सामना गर्न सक्छु जस्तो लाग्छ।’

पहिलो पटक २०७५ सालमा मनास्लु हिमालबाटै आरोहण सुरू गरेकी श्रेष्ठले अक्सिजन बिना हिमाल आरोहण गर्न लागेको यो पहिलो पटक हो। ‘ हिमाल आरोहण गर्न पनि पहिलो पटक मनास्लुबाटै सुरू गरेको थिएँ त्यसैले पनि यो हिमालसँग मेरो विशेष सम्बन्ध भएझैं लाग्छ। त्यसैले पनि मैले अक्सिजन बिना आरोहण गर्न यही हिमाल नै रोजेँ’– उनले भनिन्।

श्रेष्ठले हालसम्म विश्वको सर्वोच्च हिमाल सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, धवलागिरी, मकालु, अमादब्लम, र मनास्लुसहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाइको ७ वटा हिमाल चढिसकेकी छन्। नागरिकसँगको कुराकानीमा उनले आरोहणको सफलताले परिचित बनाउने मात्र नभएर आत्मसन्तुष्टि र छुट्टै ऊर्जा दिने बताइन्। उनले हिमाल चढ्ने क्रममा अक्सिजनको अभाव भएको अनुभव धेरै पटक गरेको भए पनि हिमाल चढ्ने मेरो चाहना कत्ति पनि नडगमगाएको बताइन्।  

अभावलाई शक्तिमा ढालेर शिखर चुमेकी श्रेष्ठले अभावले कहिल्यै विचलित नभएको तथा खोंच र शिखर दुबैको अनुभव गरिसकेको पनि बताइन्।

उनले मनास्लुको आरोहण गरेर फर्केपछि आमालाई मज्जाले अँगालो मारेर सफलताको सबै कुरा साझा गरेपछि ओच्छयानमा मज्जाले सुत्ने बताइन्। उनले भनिन् ‘हिमाल के हो भन्ने थाहा नपाइ पहिलो पटक मनास्लु चढेको थिए, अहिले मसँग ७ वटा हिमाल आरोहण गरेको अनुभव छ। डर त छ तर शिखर चुमेर आउँछु।

किनकि यो आँट र ऊर्जा मलाई यही हिमालले दिएको हो र यो साहस विश्वासिलो छ।’ गोरखा आरुघाटमा जन्मेकी श्रेष्ठ पेशाले फोटो पत्रकार हुन्। उनी अन्नपूर्ण र धवलागिरि हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही समेत हुन्।

प्रकाशित: २१ भाद्र २०७९ ०२:०६ मंगलबार

अक्सिजन बिना मनास्लु हिमाल मनास्लु हिमाल