अर्थ

सानिमा बैंकले ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता ल्याएको छ।

बुधबार बैंकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले लघु, साना तथा मझौला उद्योग (एमएसएमइज) का लागि २ करोड अमेरिकी डलर ऋण भित्र्याएको जानकारी दिएको हो। 

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सहायतामा २ करोड अमेरिकी डलर ऋण मुलुकभित्र ल्याएको हो। पत्रकार सम्मेलनमा बोल्र्दै कार्यक्रममा बोल्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमइज सेक्टरमा कर्जा प्रवाह गर्न सहजता हुने बताए। उनले आइएफसीसँगको सम्झौता अनुसार प्राप्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाए।

सानिमा बैंक स्वयंले पनि साना तथा लघु उद्योग माझ आफ्नो व्यवसाय फैलाएको वाणिज्य बैंक हो। बैंकले कर्जा पोर्टफोलियोको ३५ प्रतिशत ऋण लघु साना तथा मझौला उद्योगमा बिस्तार गरेको छ।  ४४ अर्ब रुपैयाँ बराबरको कर्जा यस्ता लघु उद्योगहरूलाई बैंकले प्रदान गरेको छ। बैंकले २५०० लघु उद्यमीहरूले उक्त कर्जाको उपयोग गरेका छन्। 

कर्जाको उपलब्धताको परिणाम स्वरूप यी उद्योगहरूले ५ हजार रोजगारी श्रृजना गर्न सफल समेत भएको बैंकले दाबी गरेको छ। बैंकले आगामी दिनमा साना मझौला तथा घरेलु उद्योगहरूलाई सहयता गरी थप दुई हजार रोजगारी श्रृजना गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २५ श्रावण २०७९ १२:३० बुधबार