अर्थ

खोटाङमा पौने ४६ करोड बढी बेरुजु, कुन स्थानीय तहमा कति?

खोटाङमा गत आर्थिकवर्षको बेरुजु झण्डै ४६ करोड देखिएको छ। भर्खरै प्रकाशित महालेखा परीक्षकको ‘५९ औँ वार्षिक प्रतिबेदन’ले आर्थिकवर्ष ०७७/७८ मा खोटाङका १० स्थानीयतहको बेरुजु रकम ४५ करोड ७६ लाख ५५ हजार देखाएको छ।

सदरमुकाम दिक्तेल रुपाकोट मझवागढी र हलेसी तुवाचुङ गरी २ नगर तथा ८ गाउँपालिका रहेको खोटाङमा सबभन्दा बढी सदरमुकामकै नगरपालिकामा बेरुजु देखिएको छ। दिक्तेल रुपाकोट मझुवागढीमा ७ करोड ५२ लाख ९७ हजार बेरुजु देखाएको प्रतिबेदनले गाउँपालिकातर्फ सबभन्दा बढी बाराहापोखरीको बेरुजु ४ करोड ४ करोड ३१ लाख ८५ हजार देखाएको छ।  

दिरु मझुवागढीले आर्थिकवर्ष ०७७/७८ मा २ अर्ब ३ करोड ५३ लाख ७२ हजारको आर्थिक कारोबार गरेको थियो। मलेप प्रतिबेदनले वार्षिक कारोबार रकमको ३.७० प्रतिशत बेरुजु देखाएको छ।  मलेपले दिरु मझुवागढीको अघिल्लोवर्षबाट जिम्मेवारी सरी आएको ७ करोड ६४ लाख ४१ हजारसहित ०७७/७८ मा कुल २ अर्ब ६ करोड २५ लाख २४ हजार आमदानी र १ अर्ब ९७ करोड २८ लाख ४८ हजार खर्च भएको देखाइएको छ।  

त्यसैगरी १ अर्ब २० करोड ३ लाख २८ हजार कारोबार गरेको लेखा परीक्षणमा ५ करोड ४४ लाख ५१ हजार बेरुजु देखाइएको हलेसी तुवाचुङ नगरपालिकामा कारोबारको ४.५४ प्रतिशत बेरुजु देखिएको छ। त्यहाँ १ अर्ब २० करोड ३ लाख २८ हजारको लेखा परीक्षण गरिएको थियो। गतवर्षको जिम्मेवारी सरी आएको ५ करोड ५१ लाख २ हजारसहित ६० करोड १२ लाख ५४ हजार आम्दानी भएको हलेसी तुवाचुङमा ५९ करोड ९० लाख ७४ हजार खर्च भएको देखाइएको छ।  

गाउँपालिकातर्फ सबभन्दा ठूलो बेरुजु हिस्सा बाराहपोखरीको ४ करोड ३१ लाख ८५ हजार रहेको छ। ६४ करोड ८८ लाख २९ हजारको लेखा परीक्षणमा बाराहापोखरीमा ६.६६ प्रतिशत बेरुजु देखिएको छ। त्यहाँ जिम्मेवारी सरेर आएको अघिल्लो वर्षको ६ करोड ९८ लाख ८२ हजारसहित ३० करोड ८४ लाख ८० हजार आम्दानी र ३४ करोड ३ लाख ४९ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ।

ऐसेलुखर्क गाउँपालिकामा २ करोड ३९ लाख २८ हजार बेरुजु देखिएको छ। ९ करोड ६९ लाख ५७ हजार आर्थिक कारोबार भएको लेखापरीक्षणले देखाएको बेरुजुको हिस्सा २.६४ प्रतिशत रहेको छ। अर्को गाउँपालिका केपिलासगढीमा ५ करोड ६ लाख १२ हजार बेरुजु देखिएको छ भने त्यहाँ महालेखाले ८० करोड २१ लाख ९९ हजारको लेखा परीक्षण गरेको थियो। बेरुजु अंक सो गाउँपालिकाको ६.३१ प्रतिशत रहेको छ।

बिगत वर्षको जिम्मेवारी सरेर आएको ५ करोड ४ लाख २४ हजारसहित ४१ करोड ६८ लाख ५१ हजार आय दखिएको केपिलासगढीमा ३८ करोड ५३ लाख ४८ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ। खोटेहाङ गाउँपालिकामा ३ करोड ३ लाख ७४ हजार बेरुजु देखिएको छ। त्यहाँ १ अर्ब २ करोड २४ लाख ६७ हजारको लेखा परीक्षण गर्दा २.९७ प्रतिशत बेरुजु देखिएको हो।  

अघिल्लो वर्षको जिम्मेवारी ४ करोड २० लाख ११ हजारसहित ५३ करोड ८० लाख ३१ हजार आम्दानी भएको खोटेहाङमा ४८ करोड ४४ लाख ३६ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ। त्यसैगरी जन्तेढुंगा गाउँपालिकामा ५ करोड ३६ लाख ८२ हजार बेरुजु देखाइएको छ। ७८ करोड ६६ लाख ५३ हजारको लेखा परीक्षणमा ६.८२ प्रतिशत बेरुजु प्रतिबेदनमा देखिएको छ। पहिलो वर्षको जिम्मेवारी २ करोड ५९ लाख २३ हजारसहित ३८ करोड ५८ लाख २२ हजार आम्दानी भएको जन्तेढुंगामा ४० करोड ८ लाख ३१ हजार खर्च भएको छ।  

६८ करोड ९९ लाख ९५ हजारको लेखा परीक्षण भएको साकेला गाउँपालिकामा १ करोड ४६ लाख ८६ हजार बेरुजु देखिएको छ। त्यहाँको बेरुजु हिस्सा २.१३ प्रतिशत रहेको मलेप प्रतिबेदनले देखाएको छ। त्यहाँ जिम्मेवारी सरी आएको २ करोड ६३ लाख ५९ हजारसहित ३४ करोड ६० लाख २० हजार आमदानी र ३४ करोड ३९ लाख ७५ हजार खर्च भएको पाइएको छ।  

३ करोड ३७ लाख ८३ हजार बेरुजु देखिएको अर्को गाउँपालिका दिप्रुङ चुईचुम्मामा २ अर्ब ७ करोड ६२ लाख ११ हजारको लेखा परीक्षण भएको थियो। जसमा ३.१४ प्रतिशत बेरुजु देखिएको छ। त्यहाँ जिम्मेवारी सरी आएको ८२ लाख ७१ हजारसहित ५९ करोड २७ लाख ४ हजार आमदानी भएको र ४८ करोड ३५ लाख ७ हजार खर्च भएको प्रतिबेदनले देखाएको छ।  

रावाबेँसी गाउँपालिकामा २ करोड ४९ लाख ३३ हजार बेरुजु देखिएको छ। जम्मा ७४ करोड ३८ लाख ९० हजारको लेखा परीक्षण गरिएको रावाबेँसीमा बेरुजु अंक ३.३५ पाइएको (छ। सो गाउँपालिकामा अघिल्लो वर्षको जिम्मेवारी ४ करोड ५८ लाख ३९ हजारसहित ३६ करोड ९८ लाख ७० हजार आय भएको तथा ३५ करोड ४० लाख २० हजार खर्च भएको देखिएको छ।

प्रकाशित: ८ श्रावण २०७९ १४:१० आइतबार