अर्थ

सगरमाथा आधार शिविर सार्ने तयारी, हतार गर्न नहुने पर्वतारोहीको सुझाव

सगरमाथा आरोहण सुरु भएयता उपयोग हुँदै आएको सात दशक पुरानो आधार शिविरलाई केही सय मिटर तल सार्न गृहकार्य सुरु भएको छ। मानवीय गतिविधिका कारण आधार शिविरमा वातावरणीय जोखिम बढेकाले यसको संरक्षण आवश्यक रहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए। सगरमाथा आरोहणलाई सहज पार्न गत वर्ष वसन्त ऋतुमा विभागद्वारा गठन गरिएको सगरमाथा अनुगमन तथा सहजीकरण समितिले आधार शिविर परिवर्तन गर्न सुझाव दिएको हो।  

हाल सगरमाथाको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको छ। सन् २०२४ सम्ममा नयाँ स्थानमा शिविर सार्ने विभागको प्रारम्भिक योजना छ। महानिर्देशक अधिकारीले २ सयदेखि ४ सय मिटर तल शिविर सार्न समितिले सुझाएको तर दायाँबायाँ तथा उचाइको हिसाबले राख्ने ठाउँ अझै तय भइनसकेको बताए।

‘यस विषयमा थप प्राविधिक अध्ययन आवश्यक छ। थप अनुसन्धान, पर्वतारोही, विज्ञ एवं स्थानीय समुदायसँग परामर्श गरेर निर्णय लिइनेछ,’ महानिर्देशक अधिकारीले बताए। उनले मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय लिनुपर्ने बताए। मे २६ तारिखसम्म पर्यटन विभागबाट विभिन्न देशका ४४ टोलीसँग सम्बद्ध ३ सय २५ जनाले यो वर्षको ग्रीष्म ऋतुमा सगरमाथा आरोहण अनुमति लिएका छन्। बर्सेनि सयौं पर्वतारोहीले गर्दा सगरमाथा क्षेत्रमा आरोहणजन्य फोहोर र प्रदूषणसमेत बढ्ने गरेको छ।

पर्यटन विभागद्वारा गठित सगरमाथा अनुगमन तथा सहजीकरण समिति सदस्य सचिवसमेत रहेका नापी विभागप्रमुख नापी अधिकृत खिमलाल गौतम खुम्बु हिमनदी पग्लेर हिउँ सखाप हुँदै गएकाले आधार शिविर केही तल झार्न आवश्यक रहेको तर्क गर्छन्। ‘हिउँ पग्लिसकेको र चट्टानी स्थानमा आधार शिविर सार्न उपयुक्त देखिएको छ,’ उनले भने।

सगरमाथाको दक्षिणी मोहडामा करिब २ हजार वर्ष लागेर बनेको हिउँ विगत २५ वर्षमै पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। वैज्ञानिक जर्नल नेचरमा प्रकाशित तथा अमेरिकाको मेन विश्वविद्यालयका अनुसन्धानकर्ताले नेतृत्व गरेको उक्त अध्ययनले दक्षिणी मोहडामा १५० फिट हिउँ (बरफ) क्षय भइसकेको देखाएको हो। हिउँ बन्नेभन्दा पग्लने क्रम ८० गुणाले तीव्र रहेको उक्त अध्ययनको निष्कर्ष छ। यसैगरी सन् २०१८ मा बेलायतको लिड्स विश्वविद्यालयले गरेको अध्ययनले आधार शिविरनजिकको हिमनदीको एक भाग बर्सेनि एक मिटरका दरले पातलो हुँदै गएको देखाएको थियो। दुईपटक सगरमाथा आरोहण गरिसकेका र कैयौंपटक आधार शिविर पुगेका नापी विभागका गौतम सयौं आरोही कैयौं दिनसम्म आधार शिविरमा बस्ने र यो क्रममा खाना पकाउँदा तथा पिसाब फेर्दासमेत तातोपना बढ्दा हिउँ पग्लने गरेको मान्छन्।

‘हाम्रा गतिविधिले जानीनजानी आधार शिविरलाई तताएको छ र हिउँको क्षय भइरहेको छ। समयमै उचित निर्णय लिइएन भने तिब्बततर्फको आधार शिविर जस्तै हाम्रो पनि हिउँविहीन हुन सक्छ,’ गौतमले गत साता एभरेस्ट क्रोनिकल बेसक्याम्प डायरीमा लेखेका छन्, ‘यो पृष्ठभूमिमा हिउँ पग्लिसकेको कालापत्थर एक वैकल्पिक बेस क्याम्प हुन सक्छ।’

हतार नगर्न पर्वतारोहीको माग

सगरमाथा २६ पटक आरोहण गरेर विश्व कीर्तिमान बनाएका पर्वतारोही कामी रिता शेर्पा आधार शिविर सार्न हतार गर्न नहुने तर्क गर्छन्। ‘आधार शिविर सार्दा राम्रै हुन्छ भन्ने हुँदैन। आधार शिविर टाढा हुँदा आरोहीलाई सुविधा कम हुन सक्छ र आरोही तिब्बततर्फ मोडिन सक्छन्,’ उनी तर्क गर्छन्।

वातावरण जोगाउन एलपी ग्यासको प्रयोगको साटो विद्युतीय तथा वैकल्पिक ऊर्जाको प्रयोग गर्न सकिने र सरकारले यसमा सहयोग गर्नुपर्ने उनको जोड छ। आधार शिविर सार्दा पनि सगरमाथा चढ्ने बाटो उही भएकाले अहिलेको आधार शिविर १ मा परिवर्तन हुन सक्ने र सगरमाथाको आरोहणका लागि शिविरको संख्या बढेर पाँच पुग्ने उनको भनाइ छ। ‘हाम्रो ध्यान आधार शिविरमा सरसफाइ र वातावरण जोगाउने अरू विकल्पमा जानुपर्छ। आधार शिविर सार्न हतार गर्नुहुँदैन। यसमा थप छलफल र अध्ययन आवश्यक छ,’ शेर्पाले भने।

प्रकाशित: ७ असार २०७९ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App