अर्थ

भक्तपुर औद्योगिक तथा व्यापार मेला: पाँंचौं दिनसम्ममा एक करोडको कारोबार

भक्तपुरको सल्लाघारीमा भइरहेको भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक कारोडको कारोबार भएको जनाएको छ। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले गरिरहेका मेलाको पाँंचौ दिन सोमबारसम्म उक्त रकम बराबरको कारोबार भएको जानकारी आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले गराए।  

मेलामा उपभोक्ताले चाहेका हरेक सामग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइरहेको मेला संयोजक दीपक थापाले बताए। मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामग्रीका स्टलहरू छन्। ‘फेशन तथा नृत्य, औधोगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने।  

भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिइरहेको आयोजकले बताएको छ। मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ।  

मेलामा दुई सयभन्दा बढी स्टल रहेका छन्। १० दिने मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ। करिब ८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको मेला वैशाख ४ सम्म हुनेछ।

प्रकाशित: २८ चैत्र २०७८ १२:०९ सोमबार