अर्थ

‘कृषि वन’ नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने

कृषिवन (एग्रोफरेस्ट्री) नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने विज्ञहरुले बताएका छन्। कल्प एकेडेमीले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘नेपालमा एग्रोफरेस्ट्रीः सम्भावना र चुनौती विषयक गोष्ठीमा बोल्दै कृषि तथा वन विज्ञहरुले कृषिवनबाट नेपालले धेरै फाइदा लिन सक्ने बताएका हुन्।

हाम्रो परम्परा नै कृषि वनमा आधारित भए पनि पछिल्लो समय कृषि पनि मासिदै गएको र वन पनि विनास हुँदै गएकोप्रति उनीहरुले चिन्ता व्यक्त गरे। एकैथलोबाट कृषि उपजको उत्पादन, प्रकृति संरक्षण र जैविक विविधताको संरक्षण गर्न सकिने भए पनि यसमा सरकारले खासै चासो दिन नसकेको विज्ञहरुको गुनासो थियो।

कार्यक्रममा बोल्दै मिडिया विज्ञ रामाकृष्ण रेग्मीले कृषिवनलाई सामाजिक वहसमा लैजान आवश्यक रहेको बताए। कृषिवन हाम्रो परम्परा भएको र रुख विरुवालाई पूजा गर्ने र संरक्षण गर्ने प्रचलन सायद नेपालमा मात्रै रहेको भन्दै रेग्मीले अब समाजलाई बुझाउन ढिला गर्न नहुने बताए। उनले भने, ‘एग्रोफरेस्ट्री समाजकै एक अंग हो यसलाई समाजभन्दा फरक राखेर कल्पना गर्न सकिँदैन।’ कृषि उपज, पशुपालन र वन एकैपटक उत्पादन हुने भए पनि यसमा सरकार लगानी गर्न डराइरहेको उनको भनाई थियो। उचित कानुन नबन्दा कृषिवनबाट समाज र राष्ट्रले ठूलो आम्दानी गुमाइरहेको उनले बताए।

कृषि वनमा विगत लामो समयदेखि अभ्यास गर्दै आएका गुल्मीका दिलिप भण्डारीले कृषि वन प्रवद्र्धन गर्ने र कृषकलाई प्रोत्साहन गर्ने सरकारको कुनै सोचै नभएको गुनासो गरे। आफूले विगत लामो समयदेखि अगरउड, श्रीखण्ड, तेजपात, टिमुर लगायतका बोटविरुवा लगाए पनि राज्यबाट सहयोग र समर्थन नपाएको उनको भनाई थियो। ‘मैले करोडौँ लगानी गरेर विरुवा लगाएको छु, मलाई ल्याब परीक्षण गरिदिनुस्, लेबलिङ गरिदिनुस् भन्दा सरकारले सहयोग गरेन’, उनले भने, ‘मेरो एक वर्ष त मन्त्रालय र विभाग धाउँदैमा बित्यो।’ गुल्मी र आसपासका क्षेत्रमा मात्रै तीनहजार भन्दा धेरै कृषकहरु सामूहिक र व्यक्तिगत रुपमा कृषिवनमा आवद्ध भएको पनि उनले सुनाए। बहुमूल्य रुखहरु लगाएर राज्यले आम्दानी लिनसक्नु पर्ने उनको सुझाव थियो। कृषकलाई प्रोत्साहन मात्रै गरे पनि लगानी राज्यले गर्नु नपर्ने उनले बताए।

भारतको आसामका अगरउड व्यवसायी तथा विज्ञ ताम्जिद अलीले अगरउड विश्वकै महङ्गो वनस्पती भएकोले यसको महत्व चिन्नुपर्ने उल्लेख गरे। नेपालमा पनि यसको प्रशस्त खेती गर्न सकिने उनको सुझाव थियो। अगरउडलाई इनोकुलेशन गर्दा प्रतिबोट ५ हजार आइसी जति खर्च आउने र त्यसबाट साढे २ केजीसम्म अगर बन्ने उनले बताए। जसको हाल बजारमूल्य प्रतिकेजी ४० हजारभन्दा माथि रहेको उनले बताए। अहिले अगरको माग बढिरहेकोले जति धेरै उत्पादन गरे पनि मूल्य नघट्ने र बजारको समस्या नरहेको उनको भनाई थियो।

बुद्धबाटिका एग्रोफरेस्ट्री केन्द्रका सञ्चालक डा. मनिराम बन्जारेले अर्घाखाँची, कपिलवस्तु आदि क्षेत्रमा श्रीखण्ड, अगरउड लगायतका बोटविरुवाको व्यवसायिक उत्पादन गरिरहेको बताए। धेरै रिसर्च र अभ्यास गरेर एग्रोफरेस्ट्रीमा हात हाले पनि चुनौति रहेको उनले सुनाए। एकै ठाउँबाट धेरै प्रकारका कृषि उपज छोटो वा लामो समयमा उत्पादन गर्न सकिने फाइदा भए पनि लेभरको समस्या, मेकनाइजेशनमा कठिन, राज्यको असहयोग, कमजोर रिसर्च विङ्स, इन्स्योरेन्सको अभाव, जमिनको सम्झौतामा इमान्दारिताको अभावजस्ता चुनौति रहेको उनले उल्लेख गरे।

मलेसियाका प्रोफेसर डा.सइफुल निजामले आफूले अगरउडबाट विभिन्न वस्तु उत्पादन गरेर बजारमा बिक्री गरिरहेको जुममार्फत देखाएका थिए। मलेसियामा अगरको राम्रो माग भएको र उत्पादन पनि भइरहेको उनले सुनाए। उत्पादन, प्रशोधन, बजारीकरण र बजारको मागको विषयमा उनले सान्दर्भिक प्रस्तुती दिएका थिए।

कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले एग्रोफरेस्ट्रीमा लगानी गरेर आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताए। नेपालमा प्रशस्त कानुन बने पनि राज्यले जिम्मेवारी नलिँदा बैंकहरुले कृषिवनको क्षेत्रमा लगानी गर्न डराइरहेको उनले बताए। ‘१५ वर्षपछि उत्पादन दिन्छ कि दिँदैन भन्ने ग्यारेन्टी नभएकोले बैंक लगानी गर्न तयार छैनन्’ उनले भने, सरकारले ग्यारेन्टी गरिदियो भने बैंक लगानी गर्न तयार छन्।’ 

सरकारले ‘समृद्धिका लागि वन’ भन्ने कार्यक्रम ल्याएकोले त्यो अन्तर्गत विश्व बैंकबाट आएको ६ मिलियन डलरलाई कृषि विकास बैंकले ऋण प्रवाह गरिरहेको उनले बताए। उनले कृषि विकास बैंकले मात्रै हाल मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ६० करोड जति ऋण कृषिवनमा प्रवाह गरिरहेको तथ्याङ्क प्रस्तुत गरेका थिए। 

कृषि विकास बैंकबाट ऋण प्राप्त गर्न फर्म वा कम्पनी चाहिने, व्यवसाय दर्ता हुनुपर्ने, व्यावसायिक योजना, धितोको व्यवस्था गर्नुपर्ने उनले सल्लाह दिए। कृषकको लगानी अर्थात् रुखविरुवा, पशु वा बालीलाई नै धितो मानेर ऋण दिनुपर्ने माग आइरहेको सुनाउँदै बैंकले त्यसको ग्यारेन्टी गर्न नसक्ने सरकार वा इन्स्योरेन्स ग्यारेन्टी बस्यो भने त्यस्ता वस्तुलाई नै धितो मानेर ऋण प्रवाह गर्न सकिने उनको भनाइ थियो।

अर्का विज्ञ तथा आइसीए नेपालका अध्यक्ष डा. तत्व तिमिल्सिनाले नेपालको आर्थिक अवस्था गम्भीर मोडमा पुगे पनि सम्भावना पनि उत्तिकै रहेको उल्लेख गरे। आफूले झापा र मोरङमा रबरखेतीको प्रवद्र्धन गरिरहेको उल्लेख गर्दै सरकारले झापालाई रबरजोन घोषणा गरेकोमा खुसी व्यक्त गरे। तर उत्पादन दिने रुखलाई कृषि मन्त्रालय र मातहतले हेर्ने कि वन मन्त्रालय र मतहतले हेर्न भन्ने विवादले समस्या सिर्जना गरेको उनले बताए।

नेपाल सरकारका पूर्वसचिव डा. कृष्णकुमार श्रेष्ठले कृषिवन प्रवद्र्धनका लागि एक कार्यदल बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए। कार्यदलले कानुन निर्माण वा संशोधन, बैंक तथा वित्तीय संस्थासँग समन्वय र कृषकको पहुँच बढाउन काम गर्नुपर्ने उनको सुझाव थियो। कार्यक्रममा कृषि विभागका डिजीको संयोजकत्वमा एक कार्यदलसमेत प्रस्ताव गरिएको थियो।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले कृषिको उत्पादन र वनको क्षेत्र घटिरहेको उल्लेख गरे। कृषि र वनलाई जोडेरसँगै लैजान सकिने भए पनि त्यसतर्फ उल्लेख्य प्रगति हुन नसकेको उनले बताए। कृषिवनलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभागले विभिन्न कार्यक्रम ल्याएको उल्लेख गर्दै डा. केसीले कृषकलाई कृषिवनप्रति आकर्षित गराउने प्रयास भइरहेको उल्लेख गरे।  

कृषिवनमा अगरउड, श्रीखण्ड लगायतका बहुमूल्य बोटविरुवा लगाउन सकिने भए पनि नेपालमा हाल चुनौति रहेको डा. केसीले उल्लेख गरे। अगरउडलाई इनोकुलेशन गर्ने जनशक्ति र प्रविधि नेपालमा नभएकोले चीन वा अन्य मुलुकबाटै ल्याउनु पर्ने बाध्यता रहेको उनले सुनाए। उनले भने, ‘इनोकुलेशन गर्ने जनशक्ति हाम्रै विभागमा पनि छैन। अहिले चाहिँदा चीनबाट झिकाउनु पर्ने अवस्था छ।’ कोरोनाका कारण दुई वर्षदेखि चिनिया विज्ञ र प्राविधिक नआएकोले कृषकलाई विभागले पनि जवाफ दिन नसकेको उनले बताए। ‘एक पटक इनोकुलेशन गर्न १० लाखसम्म खर्च हुन्छ, चीनबाट विज्ञ आइदिएनन् भने कृषकलाई जवाफ दिन सकिन्न। यही रिक्स लिन चाहेको छैनौं’ उनले भने। अगरउडको इनोकुलेशन विभाग आफैले गर्न चाहेको पनि उनले उल्लेख गरे।  

कार्यक्रमको अन्त्यमा समीक्षा गर्दै मिडियाविज्ञ रामाकृष्ण रेग्मीले एग्रोफरेस्ट्री लागू गर्न गभर्नेन्सको ग्याप रहेको देखिएको बताए। एग्रोफरेस्ट्री पूर्वपरिभाषित भए पनि कार्यरुपमा बदल्न समस्या छ भन्ने आजको कार्यक्रमबाट पुष्टि भएको उनले उल्लेख गरे। एग्रोफरेस्ट्रीमा थुप्रै सम्भावना रहेकोले यसको राम्रो प्रवद्र्धन गर्न सके देशकै अर्थतन्त्र मजबुद बन्ने उनले बताए। एग्रोफरेस्ट्री अन्तर्गत अगरउड, श्रीखण्ड, तेजपात लगायतका बहुमूल्य बोटविरुवा लगाएर समृद्धि हासिल गर्नुपर्ने, यसका लागि बैंकले किसानलाई ऋण दिनुपर्ने तथा सरकार जमानी बस्नु पर्ने उनको भनाई थियो।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष तथा कल्प एकेडेमीका प्रमुख डा.प्रल्हाद कार्कीले एग्रोफरेस्ट्रीलाई सरकारले अभियानकै रुपमा अगाडि बढाउनु पर्ने सुझाव दिए। बहुमूल्य बोटविरुवाहरु लगाएर वातावरण संरक्षण, जैविक विविधताको संरक्षणसहित राज्यले आर्थिक संवृद्धि हासिल गर्ने उनको भनाई थियो। विश्वमा भएका रिसर्चलाई नेपालले पनि अवलम्बन गरेर काम गर्दा थप लगानीको भार नपर्ने उनको सुझाव थियो।

प्रकाशित: २५ चैत्र २०७८ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App