सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थललाई देश तथा विदेशका सम्भावित बजारमा प्रचार–प्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउन धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको छ। ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने मूल नारासहित नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगरपालिका र नाटा सुदूरपश्चिम प्रदेशको सहकार्यमा ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना हुने भएको हो।
सुदूरपश्चिममा सन् २०१० देखि पर्यटकीय क्षेत्रको व्यापक प्रचार प्रसार भएको बताउँदै फारवेष्ट ट्राभल मार्ट–२०२२ का संयोजक मायाप्रकाश भट्टले भने,‘हामीले २०१० देखि २०२० सम्म यहाँका पर्यटकीय क्षेत्रको व्यापक प्रचार प्रसार गर्यौं, अब भने त्यसलाई व्यवसायीकरण गर्न यो मार्टको आयोजना गरेका हौँ।’ सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको व्यापक प्रचार प्रसार भएकाले अब त्यसलाई व्यवसायीकरण गर्दै कसरी आम्दानी गर्न सकिन्छ भनेर यो मार्टको आयोजना गरिएको उनको भनाइ छ।
मार्टमा ९ वटै जिल्लाका स्टलहरु रहनुका साथै सार्क राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट अधिकृत, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा टूर प्याकेज विक्री गर्ने पर्यटन व्यवसायीलाई सहभागिताका लागि निमन्त्रणा गरिएको संयोजक भट्टले बताए। ‘मार्टमा करिव तीन सय स्वदेशी तथा विदेशीको सहभागिता रहनेछ,’ भट्टले भने, ‘होटेल एवम् पर्यटन व्यवसायी, टूर अपरेटर तथा गाइडहरूलाई विजनेश टू विजनेश कार्यक्रमसहित प्रदेशका प्रमुख पर्यटकीय स्थलको अवलोकन भ्रमण गराउने कार्यक्रम तय भएको छ।’
कार्यक्रमको पहिलो दिन धनगढीमा प्रभातफेरीसहित वि टू वि सम्मेलन हुनेछ भने दोस्रो दिन तीन टोली बनाई प्रदेशका पर्यटकीय गन्तव्य भ्रमण कार्यक्रम रहेको संयोजक भट्टले बताए। ‘एक टोली धनगढी उपमहानगरभित्रका पर्यटकीय स्थलको अवलोकन गर्नेछन्, दोस्रो कर्णालीमा र्याप्टिङ गर्नेछन् भने तेस्राे टोली पहाडको बुडरसम्म पुग्नेछन्,’ संयोजक भट्टले भने, ‘तेस्रो दिन गोदावरीमा बृहत कार्यक्रमसहित समापन गरिनेछ।’
कार्यक्रमलाई अझै व्यवस्थित र उपलब्धिमूलक बनाउन विभिन्न समिति गठन गरिएको छ। अनुगमन, मूल्याङ्कन र प्रतिवेदन समितिको संयोजक डा. हेमराज पन्त, सचिवालय व्यवस्थापन संयोजक कलम बम, समारोह स्थल व्यवस्थापन संयोजक पदमविक्रम सिंह, अतिथी सत्कार संयोजक जगदीशचन्द भट्ट, अतिथी आमन्त्रण संयोजकमा परमानन्द भण्डारी, सांस्कृतिक समितिको संयोजक पुष्करराज भट्ट, प्रचार–प्रसार संयोजक भीम चौधरी र अर्थ व्यवस्थापन संयोजक धनञ्जय जोशीलाई तोकिएको छ।
प्रकाशित: १३ चैत्र २०७८ ०९:५८ आइतबार