अर्थ

बजेट खर्च गर्न सक्दैन मधेस सरकार

संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाउने मधेस सरकार बजेट खर्च नै गर्न नसकेको पाइएको छ। सरकार गठन भएयता चार वर्षे अवधिमा कुनै वर्ष पनि बजेट खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ।

मधेस सरकारले चार वर्ष पूरा गरेको अवसरमा सार्वजनिक गरेको ‘उपलब्धि’ पुस्तिकामा उल्लेख तथ्यांकअनुसार ०७५/७६ देखि ०७८/७९ सम्म कुल १ खर्ब ३५ अर्ब ८६ करोड ५० लाख १८ हजारको बजेट ल्याएकोमा चालु वर्षको ६ महिनासम्म ५९ अर्ब ५४ करोड ७३ लाख ३० हजार मात्र खर्च गर्न सकेको छ।

मधेस सरकारले साढे तीन वर्षको अवधिमा ५९ अर्ब ५४ करोड ७३ लाख ३० हजार खर्च गरेको छ भने यस अवधिमा प्रदेश सरकारको आन्तरिक आय, राजस्व र नेपाल सरकारबाट गरी कुल ८९ अर्ब १५ करोड ३३ लाख ८१ हजार ८ सय ६६ को आय गरेको छ।

मधेस सरकारले ०७५/७६ मा २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार, ०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार, ०७७/७८ मा ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र ०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। तर, कुनै वर्षमा पनि बजेट पूर्णरूपले खर्च हुन सकेको छैन।

मधेस सरकारले ०७५/७६ मा १५ अर्ब ९ करोड २३ लाख ७४ हजार, ०७६/७७ मा १८ अर्ब १ करोड ७१ लख ९२ हजार, ०७७/७८ मा २२ अर्ब ७६ करोड ५३ लाख ६३ हजार र ०७८/७९ को ६ महिनामा ३ अर्ब ६७ करोड २४ लाख १ हजार रूपैयाँ मात्र खर्च गर्न सकेको छ।

मधेस सरकार गठनपश्चात् पहिलो पटक ०७४/७५ को चैतदेखि असारसम्मका लागि संघ सरकारबाट प्राप्त अनुदानलाई बजेटको रूपमा प्रदेशसभामा पेस गरिएको थियो। त्यसपछि आर्थिक वर्षमा प्रदेश सरकारले बजेट ल्याए पनि पूर्णरूपले खर्च गर्न सकेका छैनन्।

०७५/७६ देखि ०७८/७९ सम्म पुँजीगततर्फ ७० अर्ब ६१ करोड ३१ लख ६३ हजार रूपैयाँ विनियोजन गरेकोमा तीन आर्थिक वर्ष र चालु वर्षको ६ महिनामा ३२ अर्ब ५७ लाख ९० हजार रूपैयाँ मात्र खर्च गर्न सकेको छ।

चालुतर्फ भने ६४ अर्ब ७९ करोड १८ लाख ५५ हजार रूपैयाँ विनियोजन गरेकोमा २७ अर्ब ५४ करोड १५ लाख ४० हजार रूपैयाँ खर्च गर्न सकेको छ। त्यस्तै, मधेस सरकारले ०७५/७६ देखि ०७८/७९ को ६ महिनासम्म ८९ अर्बभन्दा बढीको आय गरेको उल्लेख गरेको छ। उपलब्धि पुस्तिकाअनुसार सरकारले ०७५/७६ देखि चालु वर्षको ६ महिनासम्म ८९ अर्ब १५ करोड ३३ लाख ८१ हजार ८६६ को आय गरेको छ।

मधेस सरकारको कुल आयमध्ये सबैभन्दा बढी नेपाल सरकारबाट प्राप्त गरेको अनुदान हो। मधेस सरकारले ०७५/७६ देखि २०७८/७९ सम्म नेपाल सरकारबाट अनुदान बापत ५२ अर्ब ४३ करोड ४० लाख ३ हजार ३५१, बाँडफाँटबाट प्राप्त राजस्व २६ अर्ब ५० करोड ९२ लाख ९४ हजार ६३६ र प्रदेश सरकारको आन्तरिक आयबाट १० अर्ब २१ करोड ६३ हजार ८७८ रूपैयाँ प्राप्त भएको छ।

०७५/७६ मा २३ अर्ब ३२ करोड ७० लाख ६२ हजार, ०७६/७७ मा २३ अर्ब ६० करोड ६१ लाख ९ सय ५१, ०७७/७८ मा २७ अर्ब १ करोड २७ लाख २१ हजार र वर्षको ६ महिनामा मधेस सरकारलाई १५ अर्ब २० करोड ७४ लाख ९७ हजार ९१५ रूपैयाँ आय भएको उपलब्धि पुस्तकमा उल्लेख छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App