अर्थ

फागुनदेखि रेलको प्राविधिक परीक्षण

अर्थ मन्त्रालयले जयनगर–कुर्था रेल सञ्चालनका लागि २१ करोड रूपैयाँको स्रोत सुनिश्चितता गरिदिएसँगै फागुन १ गतेदेखि यात्रुबिनै रेलको परीक्षण गरिने भएको छ।

जयनगर–कुर्था चल्ने रेल झन्डै डेढ वर्षदेखि थन्किँदै आइरहेको थियो। नेपाल रेल्वे कम्पनीले आवश्यक बजेट, कानुनी प्रक्रियाको अवरोध देखाउँदै रेल सञ्चालन गर्न सकिरहेको थिएन। कम्पनीले अबको केही साता दिनको एक पटक यात्रुबिनै परीक्षण गर्न लागिएको बताएको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अर्थ मन्त्रालयले रेल सञ्चालनका लागि २१ अर्ब रूपैयाँको स्रोत सुनिश्चितता गरिदिएसँगै रेलको आवश्यक प्राविधिक परीक्षणको प्रक्रिया अघि बढाउन लागिएको बताए। ‘फागुन १ देखि यात्रुबिनै रेलको प्राविधिक परीक्षण गर्न लागेका छौं,’ उनले भने, ‘सरकारले सम्भवतः नेपाल र भारतका प्रधानमन्त्रीले फागुनको दोस्रो सातासम्म भर्चुुअल माध्यमबाट रेलको उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ।’

मन्त्रिपरिषद्को २०७७ माघ १९ को बैठकले जिटुजी सम्झौताअनुसार रेल सञ्चालन गर्न प्राविधिक र अन्य पूर्वाधारका लागि भन्दै २२ करोड भारतीय रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। तर केन्द्रीय बजेटमा सो रकम छुट भएको थियो। कम्पनीले ४५ करोड रूपैयाँ माग गरेको थियो। महाप्रबन्धक झाले अर्थ मन्त्रालयले २१ करोड रूपैयाँको स्रोत सुनिश्चितता र थप २४ करोड रूपैयाँ बजेट नआउने भएसँगै बजेट कटौती गरेको बताए।

महाप्रबन्धक झाले उद्घाटन गरेपछि रेल सेवा स्थगित गर्नुको सट्टा पहिल्यै परीक्षण गरेर उद्घाटन गर्न लागिएको बताए। ‘रेलको उद्घाटन गरेर रेलको सेवा स्थगित गर्ने हो भने बाहिर नराम्रो हल्ला फैलिने सम्भावना देखिन्छ,’ उनले भने, ‘प्राविधिक परीक्षणमा योग्य देखिएसँगै सञ्चालनमा अहिल्यै ल्याउनेछौं।’ महाप्रबन्धक झाले जनकपुरको सीताचोक नजिकै हाटबजार लाग्ने समस्या कायमै रहेको बताए।  

‘जयनगर–कुर्था रेलको लिंकमा अझै पनि अस्थायी हाटबजार, पशुपक्षीलगायत बाँध्ने गरेका छन्,’ उनले भने, ‘अबदेखि नियमित रेल चल्दै छ भनेर जनतालाई बुझाउन पनि रेलको परीक्षण गर्न लागिएको हो।’ सरकारले १६ महिनाअघि जयनगर–कुर्था ३४.९ किलोमिटर खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल भित्र्याएको थियो।

सरकारले आवश्यक तयारीबिनै ८४ करोड रूपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो। भारत सरकारले ६८ किलोमिटर रेलको लिंक ८ अर्ब ७७ करोड रूपैयाँको लागतमा निर्माण गरेको हो। ६८ किलोमिटरमध्ये अहिलेसम्म ३४.९ किलोमिटर ट्र्याक मात्रै रेल सञ्चालनका लागि उपयुक्त छ।

कुर्थादेखि डिजेलपुरासम्मको थप १७ किलोमिटरको ब्रोडग्रेज लिक लगभग ९० प्रतिशत निर्माण सम्पन्न भएको छ। बाँकी डिजेलपुरादेखि बर्दिबाससम्मको १७ किलोमिटरको काम भने उत्साहजनक ढंगले हुन सकेको छैन।

यो रेलमार्ग जयनगर–बिजलपुर बर्दिबास रेलमार्गको एक खण्ड हो। विगतमा जयनगर–बिजलपुरमा न्यारोगेज रेलमार्ग थियो। जयनगर–कुर्था खण्डमा आठवटा ठूला र साना स्टेसन छन्। यो सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको पहिलो ब्रोडगेज सीमापार रेलमार्ग हुनेछ।

जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तरदेशीय रेलमार्ग गत कात्तिक ५ गते नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ। रेल सञ्चालनका लागि ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ पनि तयार भइसकेको छ। अहिले भारतीय २६ जनामध्ये १४ जना फिल्डमा आएर काम गरिरहेका छन्।

अझै १२ जना भारतीय कर्मचारी आउन बाँकी रहेका छन्। अहिले नेपाली न्यूनतम आवश्यकताको आधारमा ६० जना ज्यालादारी कर्मचारी नियुक्त गरेर काम अगाडि बढाइएको छ। महाप्रबन्धक झाले रेल सञ्चालनका लागि कर्मचारी र आवश्यक पूर्वाधारको समस्या नभएको दाबी गरे।

सरकारले गत मंसिर १५ गते अध्यादेशमार्फत रेल्वे अध्यादेश २०७८ जारी गरेको थियो। रेल्वे अध्यादेश २०७८ मा रेल वा रेल्वेमा आगो लगाउने वा विस्फोटन पदार्थ ओछ्याउने, कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप एम्बुस बनाई वा अन्य कुनै प्रकारले रेल सञ्चालनमा बाधा पुर्‍याउने, रेल वा रेल्वे कब्जा गर्ने वा अन्य कुनै किसिमले रेल वा रेल्वेको सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने कार्यबाट कसैको मृत्यु भएमा प्रचलित कानुनबमोजिम ज्यान मारेसरह सजाय हुने व्यवस्था गरेको छ।

यो दण्ड सजाय रेल्वे अध्यादेशको दफा ६३ मा व्यवस्था गरिएको छ। सोही अनुसार ज्यान नमरेको अवस्थामा १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्मको जरिवाना व्यवस्था गरिएको छ। रेल्वे अध्यादेशमा रेल दुर्घटनामा हुन सक्ने गरी रेल वा रेल्वेमा कुनै वस्तु फ्याँक्ने रेलको लिकमा ढुंगा, काठ वा अरू कुनै वस्तु राख्ने वा अधिकार प्राप्त अधिकारीबाहेक कसैले रेलको लिक वा सोसम्बन्धी किला, काँटा, स्लिपर आदि झिक्ने, ज्वाइन्टहरू खुकुलो पार्ने वा अरू कलपुर्जा चलाउने, हेरफेर गर्ने वा बन्द गर्ने कार्य गर्ने गराउनेलाई कसुरको मात्रा हेरेर सात वर्षसम्म कैद र एक लाख रूपैयाँसम्मको जरिवाना अध्यादेशमा समावेश गरिएको छ।

प्रकाशित: २९ माघ २०७८ ०२:४५ शनिबार

अर्थ मन्त्रालय नेपाल रेल्वे कम्पनी जयनगर–कुर्था रेल सञ्चालन