अर्थ

हिउँ पन्छाएपछि चल्यो हुम्लाको हवाइ सेवा

भारी हिमपातका कारण रोकिएको हुम्ला विमानस्थल सञ्चालनमा आएको छ। झण्डै पाँच दिनपछि हवाइ सेवा शुरु भएको हो। सिमिकोट विमानस्थलमा दुई फिट हिउँ परेको थियो।  

हुम्ला विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतले विमानस्थलमा जमेको हिउँ फालेका थिए। पाँच दिनसम्म हवाइ सेवा ठप्प हुँदा यात्रु अलपत्र परेका थिए।

पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाइ उडान हुन सकेको थिएन। हिउँ पन्छाउने कार्य सकिएपछि सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ। हवाइ सेवा सञ्चालनमा आएपछि हुम्लाबासीलाई यात्रा गर्न सहज बनेको हो।

हवाइ सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत मिलेको हुम्लाबासी बताउँछन्। नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन्।

हवाइ सेवा सञ्चालनमा आएपछि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्न समेत ढुवानी भएको छ। पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो। हवाइ सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ। सीता, तारा र समिट एयरले जिल्लाका लागि उडान भर्छन्।  

हिमपातले जुम्ला, डोल्पा र मुगु जिल्लाको विमानस्थलमा समेत जहाज चल्न सकेका थिएनन्। जुम्लामा सुरक्षाकर्मीले हिउँ पन्छाएपछि दुई दिनमै जहाज चलेका थिए।

प्रकाशित: २५ माघ २०७८ १४:३९ मंगलबार