अर्थ

६ महिनामा भैरहवा भन्सारको व्यापार घाटा १ खर्ब ७५ अर्ब

६७ अर्ब १७ करोड राजश्व संकलन

मालसामान लिन भारत पस्दै रित्ता ट्रक र भारतबाट एम.एस विलेट बोकेर नेपाल पसेको लरी। मालसामान बोकेर नेपाल पस्दै भारतीय ट्रकहरु। तस्बिरः रेखा/नागरिक

देशकै दोश्रो ठूलो भैरहवा भन्सारबाट हुने मालसामान आयात हरेक वर्ष बढ्दो छ। तर निर्यात नगण्य छ। चालु आर्थिक वर्षका ६ महिनामा यो भन्सारले मालसामान आयात बापतको ६८ अर्ब राजश्व संकलन गरेको छ। यो असुली लक्ष्यभन्दा ३ प्रतिशतले बढी हो। भन्सार विभागले भैरहवालाई आर्थिक वर्ष २०७८/०७९ को पुष मसान्तसम्मका ६ महिनाका लागि ६५ अर्ब ६ करोड ७२ लाख संकलनको लक्ष्य तोकेको थियो। तर भन्सारले पुष मसान्तसम्म ६७ अर्ब १७ करोड ६४ लाख कुल राजश्व संकलन गरेको छ।

संकलित राजश्व मध्ये भन्सार राजश्व २२ अर्ब ६५ करोड ९६ लाख संकलन भएको छ। भन्सार तर्फ विभागले २१ अर्ब ६३ करोड लक्ष्य तोकीदिएकोमा ५ प्रतिशत बढी असुली भएको हो। मूल्य अभिवृद्धि कर तर्फ २२  अर्ब ३४ करोड २६ लाख र अन्तःशुल्क तर्फ १६ अर्ब ३३ करोड ९५ लाख असुली भएको छ। मूल्य अभिवृद्धि कर तर्फ तोकीएको लक्ष्य १९ अर्ब ८८ करोड हो। असुली १२ प्रतिशतले बढी छ। तर अन्तःशुल्कमा भने लक्ष्यको ८८ प्रतिशत मात्रै असुली भएको छ। अन्तशुल्क तर्फ १८ अर्ब ६३ करोड लक्ष्य तोकीएको थियो। त्यसबाहेक सडक मर्मत सम्भार शिर्षकमा ३ अर्ब ३३ करोड, कृषि सेवा शुल्कमा १ अर्ब, पूर्वाधार शुल्कमा ८२ करोड र अन्य शिर्षकमा राजश्व असुली भएको छ।  

यो नाकाबाट औधोगिक कच्चा पदार्थ एम.एस बिलेट, मोटरसाइकल, जिप, कार भ्यान, ग्लेज टाइल, मार्वल, मोवाइल, इन्धन, खाद्यान्न तथा आलुप्याजको आयात उच्च रहेको भन्सारका सूचना अधिकारी तिर्थराज पासवानले बताए। गत वर्ष कोरोना महामारीका कारण यी मालसामानको आयातमा गिरावट आएको थियो। तर यो वर्ष फेरि बढेको छ।  

आयातमुखी अर्थतन्त्रकै कारण यो भन्सारको व्यापार घाटाको ग्राफ वर्षेनि उकालो चढेको अधिकारीहरु बताउँछन्। ६ महिनामा भैरहवा भन्सार हुँदै १ खर्ब ७९ अर्ब २६ करोड मूल्यका मालसामान आयात भएको छ। तर निर्यात नगण्य छ। चालु वर्षका ६ महिनामा जम्मा ४ अर्ब १३ करोड मूल्यका मालसामान नेपालबाट निकासी भएको छ। आयात निर्यातको यो आकँडा अनुसार ६ महिनाको भैरहवा भन्सारको व्यापार घाटा १ खर्ब ७५ अर्ब हो।  

भैरहवाबाट ६ महिनामा ११ अर्ब २४ करोड ६७ लाख मूल्यका १ लाख ७ हजार ९४२ वटा मोटरसाइकल आयात भएको छ। त्यसबापत १० अर्ब ६२ करोड राजश्व संकलन भएको छ। ५ अर्ब ७३ करोड ७७ लाख मूल्यका ५ हजार ७७३ वटा जिपकार भ्यान आयात भएका छन्। त्यस बापतको राजश्व सबैभन्दा बढी १३ अर्ब १८ करोड संकलन भएको सूचना अधिकारी पासवानले बताए। १० अर्ब ८७ करोडको एम.एस विलेट (फलाम) आयात भएको छ। त्यसबापतको राजश्व २ अर्ब २४ करोड छ।  

यो नाकाबाट ६ अर्ब ५१ करोड ३८ लाखका ४ लाख ८२ हजार ४८० वटा मोवाइल आयात भएको छ। २ अर्ब ७३ करोड बढीका पिकअप गाडीहरु नेपाल भित्रिएका छन्। साढे ३ अर्ब मूल्यका ग्लेज टाइल र १ अर्ब ७८ करोड बढीको मार्वल स्ल्याब आयात भएको छ। ३ अर्ब ७ करोडको पेट्रोल र ३ अर्ब ४६ करोडको डिजेल आयात भएको छ। १ अर्ब ४३ करोड बढीका ९२५ वटा ट्रक–मिनिट्रक आयात भएको छ।

राजश्वका हिसावले उत्कृष्ट दशमा पर्ने यी मालवस्तुको हिस्सा संकलित राजश्वमा ५४.८३ प्रतिशत रहेको तथ्याङ्कले बताउँछ। अर्थात यी १० बस्तुहरुको आयातबाट मात्रै ६ महिनामा ३६ अर्ब ८३ करोड राजश्व संकलन भएको छ।

भैरहवाबाट खाद्यान्न र आलुप्याजको आयात पनि उच्च छ। ३ अर्ब ७५ करोडको चामल, १ अर्ब ४ करोडको मकै, १ अर्ब ३ करोडको गहुँ आयात भएको छ। करिब २ अर्बको ८३ हजार मेट्रिक टन आलु आयात भएको छ। १ अर्ब ८९ करोडको ५२ हजार मेट्रिक टन प्याज आयात भएको छ।  

निर्यात हुने सीमित बस्तुमा सेन्थेटिक यार्न, भट्मासको प्रशोधित तेल, पिना, लीडसिसा, चोकर–भुस, खोटो रोजीन, स्टीलका भाडाकुँडा छन्। करिब ९/१० वर्षअघिसम्म यो नाकाबाट निकासी हुने बस्तु मध्ये सबैभन्दा धेरै अदुवा, सुठो र दालचिनी पथ्र्यो तर अहिले अदुवा निकासी ठप्प जस्तै छ। दालचिनी पनि निकै न्यून परिमाणमा निकासी हुन्छ।

प्रकाशित: २२ माघ २०७८ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App