अर्थ

दूध उत्पादनबाट आम्दानी गर्दै दलित समुदाय

दूध संकलन गर्ने स्थानमा लगेर बिक्री गर्न जाँदै पवित्रा नेपाली। संकलन गर्ने स्थानमा आफूले ल्याएको दूध खन्याउँदै किसान। तस्बिरः गोविन्द/नागरिक

नारायण नगरपालिका–६ भुर्तीकी पवित्रा नेपाली गिट्ठी कुट्ने र अन्य काम गरेर घर खर्च चलाउँदै आएकी थिइन्। तर, पेशा परिवर्तन भएयता अचेल उनको दैनिकी फेरिएको छ। उनी भैंसीपालन अग्रसर भई आम्दानी लिन थालेकी छन्। साँझको दूध घरमा खाएर विहानको दूध बिक्री गरेकी छन्। पवित्राले भैंसीपालन गरेयता आम्दानी समेत लिइरहेकी छिन्।

दुई वर्षदेखि लक्षित वर्गका लागि सरकारले दिएको भैंसी पालेर दूध बेच्न थालेकी हुन्। घर छेउमै दूध लिन दिनहुँ डेरी उद्योगबाट गाडी आउँदा बिक्री नहोला भन्ने चिन्ता पनि नभएको पवित्रा बताउँछिन्। दलित समुदायले बेचेको दूध बिक्री नहुने पुरानो समस्या हटेर गएको छ। ‘घर छेउमै दूध लिन गाडी आउँछ,’ उनले भनिन्, ‘दूध बिक्री नहोला भन्ने चिन्ता छैन। हामीले उत्पादन मात्र गर्नुपर्छ घरबाटै बिक्री हुन्छ।’ उनीजस्ता भुर्तीका ३८ घरधुरीलाई (विपन्न वर्ग) सहकारी मार्फत दुई वर्षअघि भैसी वितरण गरिएको थियो। त्यही भैंसीको स्याहार गरेर दूध उत्पादन गर्न थालेसंगै अहिले भुर्ती गाउँबाट दूध दैलेखबजार पुग्छ।

दलित समुदाय बढी रहेको भुर्ती गाउँमा प्रायः कामको खोजीमा भारत जाने गर्दछन्। भैंसी पालनपछि आम्दानी थपिएको ३५ वर्षीया काली नेपालीले बताईन्। व्यवसाय नयाँ अपनाउँदा आम्दानी पनि लिईरहेका छन्। राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित दैलेख डेरीले किसानहरुबाट दूध संकलन गरेर बिक्री गर्दै आएको छ। महिनामा किसानहरुलाई दूधको रकम एकमुष्ट दिने गरेको भुर्तीका दूध संकलक मनकुमारी नेपालीले बताईन्। ‘गाउँमै दूध संकलन हुन्छ,’ संकलक नेपालले भनिन्, ‘महिनादिनभित्र उहाँहरुले भुक्तानी पाउनुहुन्छ।’ उनका अनुसार भुर्तीमा अहिले १६ घरबाट दूध संकलन भईरहेको छ।’ सिजनमा ३ सय लिटर र बेसिजनमा १ सय ७० लिटर दूध संकलन हुने गरेको दैलेख डेरीले जनाएको छ।

दैलेख डेरीले लक्षित वर्गका लागि उद्योग सञ्चालन गरि दूध ओसार्न गाडी अनुदानमा किनेर गाउँगाउँ पठाउने गरेको हो। जसका कारण अन्य समुदाय पनि प्रभावित भएका छन्। डेरीले भुर्ती, विजौरा, विन्ध्यावासिनी, बेस्तडाबाट समेत दूध संकलन गरेको छ। दुई वर्षअघि यहि सहकारीबाट भुर्तीका दलित समुदायको आम्दानी बढाउन ३८ घरधुरीलाई  ३८ वटा भैंसी वितरण गरिएको थियो। प्रति भैंसी १ लाख १० हजारमा जिल्लाबाहिरबाट खरिद गरिएको थियो।

नारायण नगरपालिकाभर १ सय २० वटा भैसी लक्षितवर्गलाई दिईएको थियो। आम्दानीको श्रोत बलियो होस् भनेर लक्षित समुदायमा भैंसी वितरण गरिएको र त्यसको नतिजा देखिन थालेको राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खुमबहादुर थापाले बताए।

प्रकाशित: २४ पुस २०७८ ०८:४४ शनिबार