अर्थ

त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन फेरि रोकियो

पत्रकार सम्मेलनमा त्रियुगा उद्योग बाणिज्य संघका पदाधिकारी। तस्बिरः महेश्वर

कार्यावधि सकिएको २ वर्ष नाघिसक्दा पनि ताजा जनादेशका लागि गर्नुपर्ने अधिवेशन स्थगित गर्दै आएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अधिवेशन फेरि रोकिएको छ। उद्योग व्यापारीहरुको हक अधिकारको पैरवीकर्ता संघका पदाधिकारीहरु आफूआफूबीच पौंठेजोरी खेल्ने हुँदा यही पुस ३ गते गर्ने तय भएको अधिवेशन पुनः रोकिन पुगेको हो।

निलम्बित अध्यक्ष गजेन्द्रकुमार भगतको उक्साहटमा परेर पूर्व महासचिव चबुडामणि कार्कीलगायतले दिएको रिटका आधारमा उच्च अदालत बिराटनगरले दिएको अन्तरिम आदेश अनुसार अधिवेशन स्थगित भएको कार्यवाहक अध्यक्ष रमेश रसाईलीले बताए। उनका अनुसार भ्रष्टाचार आरोपमा बहुमत कार्यसमितिले भगतलाई गत असार २८ गते साधारण सदस्यसमेत नरहने गरी निलम्ब गरेको थियो।

कार्यकाल समाप्त भएपछि अधिवेशन हुन नदिन यसअघि पनि बिभिन्न प्रपञ्च गर्दै आएको रसाईलीले बताए। असार २८ गते निलम्बन पर्नुका साथै प्रथम उपाध्यक्ष रराईलीलाई कार्यवाहक अध्यक्ष तोक्ने बहुमत कार्यसमितिको निर्णयविरुद्ध भगतले दिएको रिटउपर उच्च अदालत बिराटनगरले उनी नेतृत्वको कार्यसमिति विघटन गरी नयाँ कार्य समिति चयन गर्न साधारणसभा तथा अधिवेशन गर्न आदेश दिएको थियो। त्यही आदेश अनुसार कार्यवाहक अध्यक्ष रसाईली नेतृत्वको समितिले पुस ३ गते अधिवेशन गर्ने तयारी गरेकोमा पुनः स्थगित गर्न अर्को आदेश आएको हो।

शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी संघले अधिवेशनको सम्पूर्ण तयारी पूरा भईसकेको अवस्थामा अदालतको आदेश आएपछि रोक्नुपरेको जनाएको छ। कार्यवाहक अध्यक्ष रसाईली, उपाध्यक्ष हस्तमाया राई, सदस्यहरु रुपम अनुराग गुप्ता, पर्शुराम चौधरी, विनोद पाण्डे, माया राई ओली र नविन बस्नेतलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा अदालतको पुस १ गतेको अन्तरिम आदेश अनुसार ‘हाललाई अधिवेशन वा साधारणसभा नगर्नू, नगराउनू’ भन्ने पत्र आएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताइयो।

सम्मेलनमा व्यापारी उद्योगीहरुको छाता संगठनको रुपमा स्थापित त्रिउबा संघको पाँचौ अधिवेशन ०७३ मा भएयता अर्को अधिवेशन हुनसकेको छैन। ३ वर्षे कार्यकाल ०७६ मै सकिए पनि ६ महिना म्याद थपेर आफ्नो कार्यकाल आफै बढाएका भगतले पटकपटक अविधेशन गर्न नदिएको रसाईलीले बताए। अधिवेशन टार्ने वहानाबाजी गर्दागर्दै ०७७ चैत पहिलो सातादेखि कोभिड महामारी आईपरेपछि स्वतः कार्यावधि लम्बिएको थियो।

महामारी ओझिएपछि लगत्तै गर्नुपर्ने अधिवेशनको मिति तोक्ने गरे पनि टार्दै आएका उनलाई कोभिडको दोस्रो भेरिएन्ट आएपछि थप सहज बनाएको थियो। त्यही बीचमा साधारणसभाकै विषयलाई लिएर कार्यसमितिमा बढेको बिबादको क्रममा आर्थिक हिनामिना गरेको तथ्य बाहिरिएपछि उनलाई कारबाही गरिएको रसाईलीले बताए। संघमा आबद्ध व्यापारीहरुको सदस्यता नविकरणवापतको रकम हिनामिना गरेको पत्ता लागेपछि आफ्नै कार्यसमितिका बहुमत पदाधिकारीले उनलाई निलम्बन गर्नुपरेको रसाईलीले बताए।

भगतले आफ्नै हातले प्रमाणित गरेको ३ लाख २० हजार २ सय ५ रुपैयाँ हिनामिना गरेको आरोप पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ। विज्ञप्ती अनुसार संघको विधान बमोजिम नविकरण वा अन्य आय रकम आर्थिकवर्षको अन्त्यसम्ममा संस्थाको बैंक खातामा जम्मा गरिसक्नुपर्ने प्रावधान छ। तर, त्यसा अनुसार दाखिला नगरेपछि भगतमाथि कारबाही गर्नु परेको विज्ञप्तीमा जनाइएको छ। निलम्बित अध्यक्ष भगतमाथि संघकै कार्यालयको ५५ हजार बराबरको ल्यापटप चोरी गरेको आरोपसमेत विज्ञप्तीमा लगाइएको छ।

पत्रकार सम्मेलनमा संघका पदाधिकारीले भगतमाथि आर्थिक हिनामिनादेखि ल्यापटप चोरीसम्मको आरोपमा कारबाही गरिपाउँ भन्दै जिल्ला प्रहरी र प्रशासनमा पटटकपटक निवेदन दिए पनि सुनुवाई नगरेको गुनासो गरे। रकम हिनामिना र ल्यापटप चोरीजस्तो गम्भीर विषयमा पनि प्रशासनले चासो नदिनुको कारण बुझ्न नसकेको उनीहरुको दुःखेसो छ।

‘हामीले भगतले गरेको बदमासीविरुद्ध प्रहरी र प्रशासनमा दिएको निवेदनको चाङ लागिसकेको छ’ पत्रकार सम्मेलनमा रसाईलीले भने ‘तर, अहिलेसम्म कुनै कारबाही भएको छैन। बरु छलफल गर्न बस्दा उल्टो उनकै पक्षपोषण हुने काम भईरहेको छ।’

प्रकाशित: ३ पुस २०७८ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App