अर्थ

‘वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो पारेको भए सच्याइने छ'- अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको बताएका छन्। महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा सरकारको कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने उनले विश्वास दिलाएका छन्।  

नेपाल उद्योग बाणिज्य महासङ्द्धारा आज राजधानीमा आयोजित नवउत्थान सम्मेलनलाई सम्बोधन गर्दै उनले भने,' वित्तीय बजारमा कतै सरकारको नीतिले अफ्ठेरो पारेको छ भने सिधै भन्नुहोुस्, राष्ट्र बैंँकमा प्रतिनिधि पनि छन्, यहीँ समाधान गर्ने गरी हामी निर्णय गर्न तयार छौँ।'

पोष्ट–कोभिडको बदलिँदो परिस्थितिमा तिव्र र दीगो आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर महासङ्ले आज उक्त बहस चलाएको हो। सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनका लागि सरकारमा समेत बुझाइने महासङघले जनाएको छ।  

अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठुलो प्रभाव पर्नसक्ने अवस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले श्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पुर्‍याउनुपर्ने बताए। उनले आफ्नो आवश्यकता, क्षमता र सम्भव प्रतिष्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिए। 'सबैमा प्रतिष्पर्धा गर्न सकिन्न, स्वयं आत्मनिर्भर र प्रतिष्पर्धामा जानसक्ने क्षेत्र कुनकुन हुन्, नयाँ ढङ्गबाट त्यसको अध्ययन गर्नुपर्छ, त्यसैमा केन्द्रित भएर लगानी वृद्धि गर्ने कुरा आजको आवश्यकता हो', अर्थमन्त्री शर्माको भनाइ थियो।   

उनले बैँक/वित्तीय संस्थाले चालु चार महिनामा मै बार्षिक लक्ष्यको ४९ प्रतिशत लगानी ३८७ अर्ब कर्जा विस्तार गरिसकेको जानकारी दिए। 'यो लगानी विस्तार नकारात्मक हो या सकारात्मक अध्ययन जरुरी छ', उनी आशावादी हुँदै भने, 'तथ्याङ्क हेर्दा बढी औद्योगिक क्षेत्रमा लगानी गरेको पाइन्छ, त्यसको प्रयोग हुँदै जाँदा अर्थतन्त्रमा मद्दत नै पुर्‍याउने देखिन्छ।'

मुलुकमा अहिले देखिएको तरलताको समस्याले व्याज वृद्धि हुने खतरा कायमै रहेको उल्लेख गर्दै उनले भने, 'यसलाई बजारमा छाड्ने की नियमन गर्ने भन्ने कुरा गम्भिर प्रश्न छ, महासङ्घको धारणा के हो? हामीलाई के सुझाव दिन्छन्, त्यसको प्रतिक्षामा छौँ।' उनले क्षमतावान बनाउन र तरलताको समस्या आउन नदिन के नीति चाहिने हो प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई समेत आग्रह गरेका थिए। 

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले लगानी वृद्धि गर्ने र व्यवसायलाई आकर्षित हुने गरी राज्यको नीति बनाउनुपर्नेमा जोड दिएका थिए। उनले विस्तारै अर्थतन्त्रमा केही सकारात्मक प्रभाव शुरु भएपनि कोभिड–१९ को त्रास कायमै रहेकाले आर्थिक क्षेत्रमा सरकारको सहयोगको खाँचो रहेको बताए।  

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज दिनभर पोष्ट कोभिडमा आर्थिक क्षेत्रमा परेको प्रभाव र सुधार गर्नुपर्ने विषयमा छलफल हुने र एउटा आधिकारिक धारणा तय गरी आएका निष्कर्ष सरकारलाई बुझाउने जानकारी दिए। उनले लगानी बढाउने गरी नीति निर्माण भए आन्तरिक लगानी बढ्ने विश्वास व्यक्त गरेका थिए।

सम्मेलनको पहिलो सत्रमा तरलता व्यवस्थापन, दोस्रो सत्रमा लघु, घरेलु तथा  साना उद्योग प्रवद्र्धन, र तेस्रो सत्रमा निर्यात प्रवद्र्धनका विषयमा विषय विज्ञ र आर्थिक क्षेत्रका प्रतिनिधिबीच समुहगत छलफल गरी निष्कर्ष निकालिने छ। रासस

प्रकाशित: २९ मंसिर २०७८ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App