अर्थ

विराटनगरमा ५ अर्ब लागतमा व्यापारिक कम्प्लेक्स बन्ने

विराटनगरमा व्यापारिक कम्प्लेस निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागीहरू। तस्बिरः नागरिक

विराटनगरमा २५ तलाको व्यापारिक कम्प्लेक्स निर्माण गरिने भएको छ। विराटनगर महानगरपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तलाको व्यापारिक कम्प्लेक्स निर्माण गरिने भएको हो।

विराटनगर वडा न.९ स्थित गुद्रिबजार क्षेत्रको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स निर्माण हुन लागेको हो। बिहीबार विराटनगर महानगरपालिका र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कम्प्लेक्स बनाउने विषयमा समझदारी गरेको हो। प्रदेश लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

परियोजनाको काम तीन महिनाभित्रै सुरू हुने जनाइएको छ। स्वदेशी लगानीकर्ताहरुकै लगानीमा बन्ने उक्त कम्प्लेक्सको लगानी ५ अर्ब रुपैयाँभन्दा  बढीको हुने समझदारी पत्र हस्ताक्षर कार्यक्रममा जानकारी दिइएको छ। कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीका रुपमा रहेको विराटनगरले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक कम्प्लेक्स पाउन लागेको बताए। यो योजनाले शहरको सुन्दरता, स्थानीयको आर्थिक उपार्जन हुनुका साथै अर्थिकरुपमा विराटनगर महानगर समेत सबल बन्ने कार्कीले बताए।

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै परियोजनालाई अगाडि बढाएको बताए। आधुनिक, सुविधासम्पन्न र अन्तर्राष्ट्रिय स्तरको व्यापारिक भवन बन्ने हुँदा विराटनगर थप गतिशिल शहरका रुपमा स्थापित हुने मेयर पराजुलीको भनाइ थियो। उनले भने, ‘बहुउद्देश्यीय व्यापारिक भवन निर्माण हुने भएकाले यसले विराटनगरलाई आर्थिक रुपमा सबल र विकसित बनाउन मद्धत गर्छ।’

कार्यक्रममा वडा नंं ९ का वडाध्यक्ष बिश्वनाथ भगतले व्यापारिक कम्प्लेक्स बनाउन वडास्तरबाट गर्ने सबैखाले प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै परियोजना सम्झौताको रोहवरमा विराटनगर महानगरका सामुदायिक शाखा प्रमुख पुनम दाहाल र प्रदेश लगानी प्राधिकरण प्रदेश १ का अधिकृत वासुदेव कुवर रहेका छन्।

व्यापारिक कम्प्लेक्स भवन ३ वर्षभित्र बनिसक्ने छ भने यसमा निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियमावली, २०७६ मा भएको कानूनी व्यवस्थाको अधीनमा रही परियोजना सम्पन्न गरिने कार्यक्रममा जानकारी दिइएको छ।

प्रकाशित: ११ कार्तिक २०७८ १३:५८ बिहीबार

व्यापारिक कम्प्लेक्स