अर्थ

भेटरेनरी र कृषिको बजेट सार्वजनिक

कार्यक्रममा सहभागी अतिथिहरु। र वार्षिक कार्यक्रम सार्वजनिक गर्दै पशु विज्ञान केन्द्र प्रमुख डा. साह। तस्बिर: महेश्वर

कृषि ज्ञान केन्द्र उदयपुर र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले चालु वर्ष जिल्लामा गर्ने कार्यक्रमको बिबरण सार्वजनिक गरेका छन्। ज्ञान केन्द्र र विज्ञान केन्द्रले बुधबार सदरमुकाममा संयुक्त कार्यक्रम आयोजना गरीे २०७८–८९ मा गर्ने वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन्।  

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित ‘आर्थिक वर्ष २०७८–८९ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण गोष्ठी’मा पशु विज्ञान केन्द्र र कृषि ज्ञान केन्द्रले बजेट तथा कार्यक्रमबारे जानकारी गराएका हुन्। गोष्ठीमा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा.अजयकुमार साह तथा कृषि ज्ञान केन्द्र निमित्त प्रमुख महेशकुमार चौधरीले वार्षिक कार्यक्रमबारे सहभागीहरुलाई जानकारी गराएका थिए। जिल्ला समन्वय प्रमुख खड्ग परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहका प्रमुख, उपपप्रमुख, प्रदेश सभा सदस्यहरुको उपस्थित थिए।

पशु विज्ञान केन्द्र प्रमुख डा.साहका अनुसार चालु आर्थिक वर्ष ०७८–७९ को स्वीकृत कार्यक्रममअन्तरर्गत कुल ६ करोड २६ लाख १२ हजार रुपैँया बजेट रहेको छ। जसले ४ वटा मुख्य मुख्य कार्यक्रम गर्नुपर्नेछ। दुवै कार्यालयको तालुक मन्त्रालय एउटै भएको र कार्यक्रम पनि मिल्दोजुल्दो भएकाले संयुक्त कार्यक्रम गरेर जानकारी गराइएको डा. साहले बताए।  

पशु र कृषि केन्द्रको कार्यक्रम मिल्दोजुल्दो भएकाले एकैचोटी सार्वजनिक गरिएको र काम गर्दा पनि एकीकृत योजना बनाएर गर्ने लक्ष्य लिइएको कृषि केन्द्रका निमित्त प्रमुख महेशकुमार चौधरीले बताए। उनका अनुसार ०७८–७९ मा कृषि केन्द्रलाई प्रदेश सरकारबाट ४ करोड ५३ लाख ८४ हजार बजेट बिनियोजन भएको उनले बताए। संघीय सरकारतर्फ पनि २ करोड ४ लाख ५ हजार गरी जम्मा कृषि ज्ञान केन्द्रको बजेट ६ करोड ५७ लाख ८९ हजार रहेको चौधरीले जानकारी दिए।  

जसबाट कृषि ज्ञान केन्द्रले १५ जना कर्मचारीले बिषादी खुद्रा विक्रेता तालिम, माटो जाँच गर्न रसायन खरिद व्यवसाय, बगैचा तथा फलफुल वितरणजस्ता विभिन्न २७ वटा कार्यक्रम गर्नुपर्ने तोकिएरै आएको निमित्त प्रमुख चौधरीले बताए। मुख्य समस्या दरबन्दी अनुसार कर्मचारी नभएकाले काम गर्न अप्ठेरो भएको उनले बताए। दरबन्दी संख्या १५ भए पनि १० जना मात्र कर्मचारी कार्यरत रहेको ५ जनाको दरबन्दी रिक्त रहेकाले काम गर्न समस्या परेको उनको भनाई छ।  

८ वटा स्थानीयतह त्यसमा पनि हिमाल, पहाड, तराईसम्म रहेकाले कार्यक्रम लागू गर्न, अनुगमन गर्न कर्मचारीले नभ्याएको स्थिति छ। दरवन्दी अनुसार कर्मचारीको अभावसँगै कार्यालय भवन पनि भूकम्पले ध्वस्त पारेको हुनाले ज्ञान केन्द्रलाई समस्या परेको चौधरीको गुनासो छ। कृषि कार्यक्रम अत्यन्त उपयोगी भएको तर, कर्मचारी अभाव र भौतिक स्रोतसाधनको कमीले लक्ष्य अनुसार लागू गर्न नसकिएको चौधरीले बताए।  

कार्यक्रमका सहभागी जनप्रतिनिधिहरुले मुलुकको मेरुदण्डको रुपमा रहेको कृषि कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उत्पादनमूलक हिसावले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। त्रियुगा नगर उपप्रमुख देवीकुमारी चौधरी, चौदण्डीगढी नगर उपप्रमुख रीताकुमारी चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल, पत्रकार महासंघ अध्यक्ष भरत खड्कालगायत सहभागीले कार्यक्रम प्रभावकारी बनाउन आग्रह गरे। वक्ताहरुले कृषि योजनाहरुलाई जनमैत्री, सवल, प्रभावकारी र उपलब्धीमुलक बनाउनुपर्नेमा जोड दिएका थिए।  

कृषि कार्यक्रमहरुलाई युवामैत्री बनाउन पनि सहभागीहरुले जोड दिएका थिए। परम्परागत रुपमा भन्दा पनि वैज्ञानिक वस्तुनिष्ट र समयसापेक्ष रुपमा कृषि योजनाहरुको तर्जुमा र कार्यान्वयन हुनुपर्ने उनीहरुको सुझाव थियो। सबभन्दा बढी कृषिक्षेत्रमै बजेट छुट्याउनुपर्नेमा थोरै बजेटमा सानो आकारका कार्यक्रमहरु सञ्चालन गर्दा उपलब्धीभन्दा बढी जनतालाई झन्झट हुने सहभागीहरुको तर्क थियो।  

युवामैत्री, व्यवसायिक कृषकमैत्री र समय सान्दर्भिक कार्यक्रमहरु ल्याएर कार्यान्वयन गर्न सके मात्र उपलब्धी दिने र त्यसबाट आत्मनिर्भ र समृद्धिमा सहयोग पुग्ने सुझाव सहभागीहरुको थियो। साथै कार्यक्रमको प्रभावकारी सञ्चालन र खर्च पारदर्शी बनाउन अधिक जनसहभागिता र नियमित अनुगमनमा जोड दिनुपर्ने पनि सुझाएका थिए। जनताको जीवनस्तर उकास्न र आयआर्जन बृद्धि गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सके कृषि व्यवसायले देशको अर्थतन्त्र बलियो बनाउन ठूलो सहयोग पुग्ने भन्दै अपारदर्शी र कम जनसहभागिताले बजेटको सदुपयोग हुन नसक्ने ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: ३ भाद्र २०७८ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App