अर्थ

सिदिङ्वाको बजेट ४२ करोड बढी

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ४२ करोड बढी रकमको बजेट ल्याएको छ। मंगलबार अपरान्ह भएको ७ औं गाउँसभा तथा बजेट अधिबेशनमा गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङले चालू आर्थिक बर्ष २०७८।०७९ का लागि ४२ करोड २ लाख २९ हजार रुपैंया बराबरको बजेट प्रस्तुत गरेका हुन्।

यो मध्ये वडा तथा गाउँपालिकाको प्रशासनिक कार्यका लागि ७ करोड ७० लाख बजेट विनियोजन भएको छ। विकास सहितका अन्य कार्यका लागि ३४ करोड ३२ लाख २९ हजार रुपैँया रकम विनियोजन भएको छ। यो रकममध्ये चालूतर्फ १९ करोड ४७ लाख ३३ हजार अर्थात् ५७ प्रतिशत र पूँजीगततर्फ १४ करोड ८४ लाख ९६ हजार अर्थात् ४३ प्रतिशत बजेट रहेको उपाध्यक्ष ताम्लिङले जानकारी दिए। कोरोना संक्रमणका कारण संवैधानिक व्यवस्थाअनुसार १० असारमै बजेट ल्याउन असमर्थ रहेको सिदिङ्वाले २५ साउनको २ बजेका लागि बजेट अधिवेशनको मिति तोके पनि २६ साउनको अपरान्ह तिरमात्रै नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको हो।  

बेरुजुरहित पालिका बनाउन बिशेष योजना

गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमार्फत् बेरुजुरहित गाउँपालिका बनाउन बिशेष योजना घोषणा गरेको छ। उसले बेरुजु शून्य बनाउने अभियानमा क्रियाशील कर्मचारीलाई प्रोत्साहन तथा बेरुजु कायम गर्ने प्रकृयामा उद्यत कर्मचारीलाइ दण्डको व्यवस्था गरिएको नीति घोषणा गरेको हो। आवश्यक प्रकृया र कागजात पुगेकाहरुको सहज भुक्तानी र नपुग भएकाहरुलाई प्रकृया पुर्याएर मात्र भुक्तानीको प्रकृयामा लैजान वडागत तहबाटै अभियान थालिने भएको छ। 

प्रकाशित: २७ श्रावण २०७८ १०:४९ बुधबार

बजेट