अर्थ

२८ प्रतिशतले सार्वजनिक यातायात भाडादर वृद्धि

खोटाङका यातायात व्यवसायीले सार्वजनिक यातायातका सवारी भाडादर वृद्धि गरेका छन्। नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐनले दिएको अधिकार प्रयोग गरी जिल्लाका यातायात व्यवसायीले हाल कायम भाडा दरमा २८ प्रतिशतले वृद्धि गरेका हुन्।

सोमबार दिक्तेलको किराँतचोक (रत्नपार्क)मा पत्रकार सम्मेलन गर्दै खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीहरुको भाडादर वृद्धि गरिएको जानकारी दिए।

हाल दिक्तेल–काठमाडौँ गर्ने बसमा यात्रा गर्नका लागि जनही १ हजार ५३६ रुपैयाँ, दिक्तेल–इटहरीका लागि १ हजार ५३६, दिक्तेल–धरानका लागि १ हजार ५३६, दिक्तेल–विराटनगरका लागि १ हजार ६००, दिक्तेल–काँकडभिट्टाका लागि १ हजार ७२८ र दिक्तेल–गाईघाटका लागि १ हजार २४ रुपैयाँ भाडा निर्धारण गरिएको छ।  

यस्तै, दिक्तेलबाट काठमाडौँ चल्ने जीपका लागि जनही १ हजार ८५६, दिक्तेल–इटहरीका लागि २ हजार २००, दिक्तेल–धरानका लागि २ हजार २४०, दिक्तेल–विराटनगनरका लागि २ हजार ३०४, दिक्तेल–काँकडभिट्टाका लागि २ हजार ३०४ र दिक्तेल–गाईघाटका लागि १ हजार ५३६ रुपैयाँ भाडा दर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए।

जिल्लामै सञ्चालन हुने लोकल रुटमा सञ्चालन हुने सवारी साधनको भाडादर समेत वृद्धि गरिएको यातायात व्यवसायीले बताएका छन्। नयाँ भाडा दर मंगलबारबाट लागू हुने जनाइएको छ। 

यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, प्रशासन खर्च, ¥हास कट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका सम्वन्धमा गत असार २७ गते नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय (मन्त्री स्तर)को सहमति एवं यातायात व्यवस्था विभागको असार २९ गतेको निर्णयानुसार भाडा दर बढाइएको महासचिव हिङमाङले बताए। 

प्रकाशित: १८ श्रावण २०७८ १२:०४ सोमबार

यातायात भाडादर नेपाली श्रमिक