अर्थ

राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिँदा उज्यालियो जुम्ला

जुम्लामा विद्युतको राष्ट्यि प्रसारण लाइन पुगेको छ। आइतबार विहान १० बजेर ५५ मिनेटदेखि जुम्ला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो। योसँगै जिल्ला सदरमुकाम खलंगाका झण्डै दुई हजार बढी ग्राहकले एकैसाथ बिजुली बाल्न पाएका हुन्।

यसअघि साना जलविद्युत आयोजनाको घुघुत्तीबाट निकालिएको बिजुली १५ घण्टा लोडसेडिङ बेहोरेर बाल्नु परिरहेको थियो।अहिले २४ सैँ घण्टा बिजुली बाल्न पाउने विद्युत प्राधिकरण इकाइ कार्यालय जुम्लाका प्रमुख गौरब पाण्डेले जानकारी दिए। उनले भने, ‘अधिकांस दिन अँध्यारोमा बिताउनु पर्ने जुम्लाबासीको बाध्यता हटेको छ। अब राष्ट्रिय प्रसारणलाइन जडान भएसँगै उद्योग कलकारखाना र इलेक्ट्रोनिक सम्बन्धी सबै काम सहजै हुनेछन्।’

अहिले विद्युत प्राधिकरणको बिजुली दुई हजार १ सय ग्राहकले मात्र बालिरहेका छन्। बिस्तार भएर चार हजार ५ सय सम्म पुर्याउने लक्ष्य राखिएको छ। सदरमुकामभित्र जुगाडखोला लघु जलविद्युत आयोजना र ठिन्के जलविद्युत आयोजना सञ्चालनमा छन्। सबै साना जलविद्युत आयोजना केन्द्रीकृत गरेर बिजुलीको दिगो समाधान निकाल्ने कर्णाली प्रदशका उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: १७ श्रावण २०७८ ११:४२ आइतबार

विद्युत प्राधिकरण