अर्थ

सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक हस्तान्तरण

कर्णाली करिडोर अन्र्तगत नेपाली सेनाले पहाड फोडेर निर्माण गरेको कालिकोटको खुलालु भिरको सडक । तस्बिर : नगेन्द्र / नागरिक

कर्णालीको समृद्धिसँग जोडिएको उत्तरको छिमेकी चीन जोड्ने खुलालु–हिल्सा सडकको १२२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । २०७१ साल चैतदेखि नेपाली सेनाले कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२२.७५ किलोमिटर सडक निर्माणको जिम्मा लिएको थियो । ‘कर्णाली करिडोर अन्र्तगतको खुलालु–लैफु–सल्लीसल्लासम्म सडक निर्माणको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेका छौं,’ नेपाली सेनाको सडक निर्माण कार्यदल प्रमुख मेजर मिलन कार्कीले भने, ‘१२२.७५ किलोमिटर लामो सडकको चौडाई कम्तिमा पनि छ मिटरको छ ।’ सडक निर्माणसँगै सल्लीसल्लासम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन् ।’

कर्णाली करिडोर अन्र्तगत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दूरी २६७.७५ किलोमिटर हो । त्यो मध्ये सबैभन्दा धेरै अप्ठ्यारो भूभागको १२२.७५ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले २०७१ चैत ५ गते नेपाली सेनालाई दिइएको थियो । अब हिल्सासम्म्म सडक पुग्न सल्लीसल्लादेखि सिमीकोट खण्डको १२ किलोमिटर ट्याक खोल्न बाँकी छ । यो सडकमा सडक विभागले काम गरिरहेको छ ।

हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएकाले समयमै काम सम्पन्न भएको बताए । ‘नेपाली सेनाले सडक निर्माण सम्पन्न गरेसँगै हुम्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएका छन्,’ उनले भने, ‘हिल्सासम्म चाँडो सडक पु¥याउनका लागि बाँकी रहेको खण्ड पनि सेनालाई जिम्मा लगाइनुपर्छ ।’ हुम्लाका ताजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिका कर्णाली करिडोर अन्र्तगत पर्छन् ।  

‘सडक निर्माण सम्पन्न भएसँगै हुम्लाका चार वटै गाउँपालिकाका नागरिकहरुलाई आवत–जावत गर्न र समान ढुवानी गर्नका लागि सहज भएको छ,’ अध्यक्ष फडेराले भने, ‘बाँकी खण्ड पनि सेनालाई जिम्मा लगाउने हो भने चाँडै चीनसँग जोडिन्थ्यो ।’ अहिलेकै अवस्थामा सडक विभागले काम गरिरहने हो भने हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल जोडिन केही वर्ष कुर्नुपर्ने हुन्छ । सडक विभागले सल्लीसल्लाको भीरलाई छलेर अस्थायी रुपमा हुम्ला कर्णालीमा बेलिब्रिज राख्ने तयारी गरेको छ ।

नेपाली सेनाको सडक निर्माण कार्यदलका मेजर कार्कीले सल्लीसल्लाको बाँकी खण्डको जिम्मा दिइए एक वर्षभित्रै हुम्ला सदरमुकाम सिमीकोटसम्म सडक पु¥याउन आफुहरु सक्षम रहेको बताए । ‘खुलालु–हिल्सा सडकखण्ड अन्र्तगतको सल्लीसल्ला–सिमीकोट खण्डको १२ किलोमिटर चट्टाने भीरमा ट्याक खन्न बाँकी छ,’ उनले भने, ‘यो खण्ड सेनालाई दिइए एक वर्षभित्र निर्माण पूरा गरेर हस्तान्तरण गर्न हामी सक्छौं ।’ सल्लीसल्लादेखि सिमीकोटसम्मको ५१ किलोमिटर खण्ड मध्ये बाँकी खण्डमा ट्याक खुलिसकेको छ । यस्तै हुम्ला सदरमुकाम सिमीकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ ।  

सरकारले चालू आर्थिक वर्षभित्रै हुम्लालाई राष्ट्रिय सडक सञ्जाललमा जोड्ने बताएको छ । चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्लालाई बैशाखभित्र जोड्ने बताएको छ । तर, १२ किलोमिटर चट्टाने भीर फोडेर सडक सञ्चालन गर्न सहज भने छैन् ।

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ को खुलालुदेखि सल्लीसल्लासम्म ठूला चट्टानी पहाडहरु फोडेर सेनाले सडक निर्माण गरेको हो । कालिकोटको रेगील भिर, सिलाजीत भिर, बाजुराको कालेपहरा भिर, राँगेडाँडा भिर र हुम्लाको हलगाडे, पम्कडेलगायतका भीरहरु फोडेर सेनाले सडक निर्माण गरेको छ ।  

सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडकको जिम्मा पाएको थियो । भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू–बनोटका कारण खुलालु–हिल्सा सडक अन्र्तगतको १२२ किलोमिटर सडकको जिम्मा २०७१ साल चैत ५ गते नेपाली सेनालाई दिइएको थियो ।  

चार जनाले ज्यान गुमाए

कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२२ किलोटर सडक निर्माणका क्रममा छ जना मजदूरले ज्यान गुमाउनु प¥यो । सडक निर्माण कार्यदलका प्रमुख कार्कीका अनुसार कालिकोट खण्डमा चार जना र हुम्ला खण्डमा दुई जनाले ज्यान गुमाएका हुन् । ‘कडा चट्टानयुक्त क्षेत्रमा सडक निर्माणको काममा खटिएका छ जनाले ज्यान गुमाउनु भएको छ,’ उनले भने ।

प्रकाशित: २ श्रावण २०७८ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App