अर्थ

निर्यातका समस्या समाधान गर्न आग्रह

उद्योग संगठन मोरङले आयोजना गरेको निर्यात प्रवद्र्धन सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सरकारले निर्यातमूलक उद्योगले भोग्दै आएका नीतिगत, प्रक्रियागत समस्या समाधान गरी निर्यात व्यापारलाई बढावा दिँदै देशको वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउनुपर्नेमा उद्योगी, व्यवसायीले जोड दिएका छन्।  

संगठनका अध्यक्ष सुयश प्याकुरेलले ड्युटी ड्र ब्याक सुविधा प्राप्त गर्न अत्यन्तै जटिल भएकाले यस्तो व्यवस्था परिमार्जन आग्रह गरे।  

एउटा वस्तु उत्पादनमा धेरै कम्पोनेन्ट प्रयोग हुने उत्पादनको हकमा प्रतिकेजीका दरले ड्युटी ड्र ब्याक सुविधा उपलब्ध गराउनुपर्ने, नेपाली जुटका उत्पादनमा भारतले लगाएको एन्टी डम्पिङको पाँचवर्षे अवधि पूरा भइसकेकाले भारतको सम्बन्धित निकाय समक्ष एन्टी–डम्पिङ खारेजीका लागि नेपाल सरकारका तर्फबाट याचिका दायर गरी नेपाली जुट उद्योगको प्रवद्र्धन गर्न उनले सुझाए।  

अध्यक्ष प्याकुरेलले विराटनगरको महेशपुरमा निर्माण हुने रेल्वे परियोजनाको जग्गा मुआब्जा विवादको विषय यथाशीघ्र समाधान गरी रेल्वे सेवा सञ्चालनमा ल्याउन समेत माग गरे।  

पूर्ववाणिज्य सचिव तथा उद्योग सगठन मोरङका विशिष्ट सल्लाहकार पुरुषोत्तम ओझाले उत्पादनमूलक उद्योगले मूल्य अभिवृद्धि गर्ने उत्पादनमा ध्यान केन्द्रित गर्दै उत्पादन र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।  

संगठनका विशिष्ट सल्लाहकार एवं व्यापार सहजीकरण विज्ञ श्याम दाहालले अबका दिनमा नीति निर्माण गर्दा प्रक्रियागत, नीतिगत सरलतालाई ध्यानमा राखी उद्योग, व्यवसाय क्षेत्रको समग्र विकासमा टेवा पुग्ने नीति निर्माणमा केन्द्रित हुनेपर्ने बताए।  

संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासका साथै उद्योग, व्यवसाय क्षेत्रको विकास एवं विस्तारमा मदत पुग्ने गरी आगामी दिनमा सरकारले काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १ श्रावण २०७८ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App