अर्थ

निर्धक्क भएर काम गर्न व्यवसायीलाई प्रधानमन्त्रीको सल्लाह

 नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन सरकारले निजी क्षेत्रसँगसमन्वय गरेर अघि बढ्ने बताएका छन। प्रधानमन्त्री देउवाले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा निजी क्षेत्रलाई निर्धक्क भएर काम गर्न पनि  अनुरोध गरे।  

सो अवसरमा महासंघका पदाधिकारीले कोभिड–१९ ले अर्थतन्त्र थिल्थिलो भएको भन्दै उद्योग, व्यवसायलाई माथि उठाउन निजी क्षेत्रलाई प्रथामिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गरेका थिए। महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबारै अर्थमन्त्री जर्नादन शर्मालाई पनि भेटेको छ। सो अवसरमा अध्यक्ष गोल्छाले सरकारले बजेटमार्फत निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न माग गरे।  

अध्यक्ष गोल्छाले अर्थतन्त्र टिकाउन अग्रभागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कामदार कर्मचारीलाई खोपको व्यवस्था गर्न आग्रह गरेका थिए।  

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोप लगायत अन्य कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रसँग नजिकमा रहेर काम गर्ने विश्वास दिलाएको महासंघको विज्ञप्तिमा उल्लेख छ । अर्थमन्त्री शर्माले महासंघसँग सहकार्यका लागि छिट्टै विस्तृत छलफल गर्ने योजना रहेको बताए।  

महासंघले अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो बनाउने भन्ने लक्ष्यका साथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारले समेत यसको अपनत्व लिइसकेकाले त्यसको कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गरेको छ। 

प्रकाशित: १ श्रावण २०७८ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App