सिजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा सिजी नेटको नामबाट इन्टरनेट सेवा सुरु गरेको छ। सिजी कम्युनिकेसन्स चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी हो।
सिजी कम्युनिकेसन्सले १२० एमबिपिएस क्षमताको इन्टरनेटलाई प्रतिमहिना ९ सय ९९ रूपैयाँमा उपलब्ध गराएको छ। यो मूल्यमा दूरसञ्चार सेवा शुल्क समावेश छ भने मूल्य अभिवृद्धिकर (भ्याट) समावेश छैन। यो नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्य भएको दाबी गरिएको छ।
कम्युनिकेसन्सले ‘सिजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आइएसपी) भएको र यसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि सेवा उपलब्ध गराउने बताएको छ। कम्पनीले निकट भविष्यमै आइपी टिभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने बताएको छं।
भिडियो, ओटिटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सिजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको बताएको छ।
‘सुरुमा हाम्रो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ। तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कम्पनीका अनुसार १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सिजी नेट’ विस्तार हुनेछ। उपभोक्ताका माग अनुसार ६ देखि २४ घन्टाभित्र सेवा उपलब्ध हुनेछ। यो वर्ष २०७८ अन्त्यसम्ममा देशभर सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य छ।
कम्पनीले अहिले जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा सिजी डिजिटलका शाखा राखेको छ। नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि ग्राहक सेवा केन्द्र थप गर्दै लगिने बताएको छ।
कम्पनीले सेवा शुभारम्भका अवसरमा १ सय २० एमबिपिएस गतिको इन्टरनेटका लागि मासिक ९ सय ९९ रूपैयाँ शुल्क तोकेको बताएको छ। वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ। मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ।
सिजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता अनुसार ‘सिजी नेट’ सेवा सुरु गरिएको बताए। ‘दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,’ चौधरीले भने, ‘प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा उपस्थिति जनाउन सिजीले कुनै कसर बाँकी राख्ने छैन।’
कम्पनीका अनुसार एक महिनाको इन्टरनेट सेवा लिँदा राउटर किसिम हेरी २५ सयदेखि ३५ सय रूपैयाँ पर्नेछ भने तीन महिनाका लागि लिँदा दुईदेखि ३ हजार पर्नेछ। यस्तै ६ महिनाको सेवा लिँदा यो रकम १५ सयदेखि २५ सय हुनेछ। एक वर्षका लागि इन्टरनेट सेवा दिँदा जडान शुल्क लाग्ने छैन। इन्टरनेटको मुल्य भने एक महिना र एक वर्ष जुनसुकै लिए पनि एउटै राखिएको छ। यसमा केबल भने सबैमा निःशुल्क हुनेछ।
प्रकाशित: १९ जेष्ठ २०७८ ०८:४८ बुधबार