अर्थ

कारोबार रकममा कीर्तिमान

नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिका लागि बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न रोक लगाएपछिको पहिलो कारोबारमा रकमको कीर्तिमान कायम भएको छ। बिहीबारको कारोबारमा नेप्से १.२० बिन्दुले घटेर २८१५.४० कायम भए पनि कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको हो। केन्द्रीय बैंकको निर्देशनपछि सेयर कारोबारमा असर पर्ने धेरैको अनुमान छ। कोरोना महामारीपछि कतिपय बैंकले मुख्य उद्देश्य (निक्षेप संकलन र लगानी) भुलेर सेयर कारोबारमा लागेको पाइएपछि केन्द्रीय बैंकले अल्पकालीन लगानीमा कडाइ गरेको थियो।  

त्यस्तै, वाणिज्य बैंकहरूलाई लघुवित्त कम्पनीका सेयर खरिदमा पनि रोक लगाइएको छ। सर्वसाधारण लगानीकर्ताले केन्द्रीय बैंकको यस्तो नीतिलाई सकारात्मक रूपमा लिए पनि ठूलो लगानी गरेका बैंकहरूलाई केही अप्ठेरो पर्ने अनुमान छ। दुई दिनअघि राष्ट्र बैंकले यस्तो निर्णय गरेपछि बुधबार बुद्ध जयन्तीको सार्वजनिक बिदा परेकाले सेयर कारोबार हुन सकेको थिएन।  

बिहीबार चार करोड १८ लाख १३ हजार एक ४४ कित्ता सेयर १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार रूपैयाँमा खरिदबिक्री भयो। यति रकम बराबरको सेयर कारोबार अहिलेसम्म भएको थिएन। यसअघि सर्वाधिक १३ अर्ब १७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यस दिन सबभन्दा बढी ट्रेडिङ उपसमूह ६.७२ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रोपावर ४.५७, विकास बैंक ३.४३, माइक्रोफाइनान्स ३.४१ र फाइनान्सत २.२८ प्रतिशतले बढेको छ।  

१० प्रतिशत ब्याजको वैदेशिक रोजगार बचतपत्र  

यसैबीच, राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ। बचतपत्र बिहीबारदेखि योग्यता पुगेका इच्छुक व्यक्तिले खरिद गर्न सक्नेछन्।  

वैदेशिक रोजगारीमा गएकालाई लक्षित गरेर ५० करोड रूपैयाँ बराबरको बचतपत्र जारी गरिएको हो। बचतपत्रको अवधि पाँच वर्ष हुनेछ। साथै यसको ब्याजदर अन्य बचतपत्रको भन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ। यो बचतपत्र खरिद गर्नेले आम्दानीबापत सरकारलाई तिर्नुपर्ने पाँच प्रतिशत कर पनि तिर्न नपर्ने व्यवस्था मिलाइएको छ।  

उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपाली नागरिकका परिवारले खरिद गर्न सक्ने बताइएको छ। रोजगारीमा गएका व्यक्तिका आफन्त, बुबा, आमा, पति÷पत्नी, छोरा र छोरीले बचतपत्र खरिद गर्न सक्नेछन्। कम्तीमा १० हजार रूपैयाँको बचतपत्र खरिद गर्नु पर्नेछ। बचतपत्र असार ३ मा बन्द हुनेछ।  

वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आर्जन गरेको रकम सही ठाउँमा सदुपयोग होस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले बेलाबेला यस्तो बचतपत्र निष्कासन गर्ने गर्छ। वैदेशिक रोजगारीमा रहेका ठूलो संख्याका युवायुवतीले आर्जन गरेको न्युन रकम मात्र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

विज्ञहरूले वैदेशिक रोजगारीलाई बर्षात्को खहरे खोलासँग तुलना गर्दै आम्दानी भएको बेला लगानी गर्न नसके भविष्यमा पछुताउनु पर्ने चेतावनी दिँदै आएका छन्। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म करिब ५५ लाखले श्रम स्वीकृतिको लिएकोमा तीमध्ये २५–३० लाख विदेशमा रहेको अनुमान छ।  

विभागले वैदेशिक रोजगारीमा जानेको विवरण राख्ने तर फर्कनेको नराख्ने भएकाले विदेशमा रहनेको यकिन तथ्यांक प्राप्त हुन नसकेको हो। आर्थिक वर्ष २०७६÷७७ मा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। चालु आर्थिक वर्षमा पनि गत वर्षकै हाराहारीमा रेमिटेन्स भित्रिने अनुमान छ। 

प्रकाशित: १४ जेष्ठ २०७८ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App