अर्थ

कृषिमा कोरोना असरः ब्याडमा पुरानै बिउ छर्दै किसान

गौरीगंगाका एक किसान धानको बिउ राख्न ब्याड सम्म्याउँदै । तस्बिरः नागरिक

गौरीगंगा–७ मट्कौनाका किसान रणबहादुर बमले यसपालि उन्नत जातको धानको बिउ पाएनन्। कोरोनाका कारण बजार बन्द रहनु र स्थानीय बजारमा उन्नत जातको धानको बिउ नपाइँदा उनले ब्याडमा घरकै पुरानो बिउ छरेका हुन्। 

अरूको जमिन अधिया लिएर खेती गरेका बमले यसपालि उन्नत जातको धानको बिउ रोपेर उत्पादन राम्रो फलाउने लक्ष्य लिएका थिए। तर, समयमा उन्नत बिउ नपाउँदा उनको योजना कल्पनामै सीमित रह्यो। बम मात्रै हैनन्, गौरीगंगाकै गंगाराम चौधरीले पनि यसपालि घरकै पुरानो धानको बिउ ब्याडमा छरेका छन्। मूल बिउ र उन्नत बिउ स्थानीय बजारमा नपाउँदा उनीहरूले भात खानका लागि भण्डारण गरी राखिएको धानलाई नै बिउका रूपमा ब्याडमा छरेका हुन्। भात खानका लागि राखिएको धानलाई बिउका रूपमा छर्दा कति उत्पादन दिने हो भन्ने चिन्ता थपिएको बताउँदै चौधरीले भने,‘मूल तथा उन्नत बिउ पाएको भए त्यसले उत्पादन राम्रै दिन्थ्यो, यो धानले त खै भन्न सकिन्न।’ बिउका लागि छुट्याइएको धानको ग्रेडिङ गरिने तथा प्रमाणित गरिएका कारण धानले फसल नदिए पनि सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिने गरेको बताउँदै उनले भने, ‘घरबाटै लगाएको धानको बिउले फसल नदिँदा किसान आफै ठगिन्छन्।’

निषेधाज्ञाले ग्रामीण भेगसम्म मूल तथा उन्नत जातको धानको बिउ आउन नसक्दा किसानले भात खानका लागि घरमै भण्डारण गरिएको धानलाई बिउका रूपमा ब्याडमा छर्न थालेका छन्।

धानको बिउका लागि ब्याड बनाउने र बिउ छर्ने उपयुक्त समय यही भएको बताउँदै अगुवा किसान रमेश भाटले भने,‘कोरोना कहरले सबैतिर बन्द रहेकाले यसपालि ग्रामीण भेगसम्म मूल तथा उन्नत जातको धानको बिउ आउन सकेन, जसले गर्दा किसानले घरकै धानलाई बिउका रूपमा ब्याडमा छर्न थालेका छन्।’

यस्तो समयमा बिउ सहज रूपमा किसानले पाउन नसक्दा सरकारको कृषि क्रान्तिको नारा नारामै सीमित रहेको बताउँदै उनले भने, ‘स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि यस्तो बेला सहज रूपमा किसानलाई पुर्‍याउन सहयोग गर्नुपर्ने हो तर किसानले बिउ किन्न खोज्दा पनि पाउन सकेका छैनन्।’ अन्य वर्षको तुलनामा यस वर्ष धानको बिउ बिक्री नभएको अपी हिमालय सिड कम्पनी धनगढीका लोकेश भट्टले बताए। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष किसानसम्म धानको बिउ पुग्नै पाएको छैन। ‘हामीले उत्पादन गरेको मूल र उन्नत जातको धानको बिउ गोदाममै थन्किएको छ,’ उनले भने,‘निषेधाज्ञाका कारण ग्रामीण क्षेत्रका किसानसम्म बिउ पुग्न नसकेको हो।’ धनगढी आसपासका एग्रोभेटसम्म आफ्नै गाडीमा धानको बिउ राखेर पुरयाए पनि रुट लेवलसम्म धानको बिउ पुग्न नसकेको उनी बताउँछन्।

‘हामीले मूल र उन्नत जातका गरेर तीन सय क्विन्टल धानको बिउ उत्पादन गरेर भण्डारण गरेका थियौं,’ उनले भने,‘अहिलेसम्म एक सय क्विन्टल मात्रै कटेको छ, बाँकी दुई सय क्विन्टल धानको बिउ गोदाममै थन्किएको छ ।’ आफूले तराईको माटो सुहाउँदो र अत्याधिक फसल दिने विभिन्न १४ वटा जातका धानको बिउ उत्पादन गरेको उनले बताए। ‘हामीसँग विभिन्न १४ जातका धानको बिउ छन्,’ उनले भने,‘तर भएजति बिउ कटेकै छैन ।’

प्रकाशित: ९ जेष्ठ २०७८ १२:४९ आइतबार

कृषिमा कोरोना असर गौरीगंगा–७ मट्कौना