सप्तकोसीमा सञ्चालित स्टिमर (मोटरबोट) आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र बिदाका दिनमा यहाँ स्टिमर चढेर रमाउन आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ। बिदाका दिन यहाँ घुम्न आउने आगन्तुकले स्टिमरको टिकट पाउन हम्मेहम्मे हुने गरेको छ।
बिदाको दिन बिहानैदेखि मोटरबोट चढ्न लाइनै लाग्नु पर्ने हुन्छ। कहिलेकाहीँ त पर्यटहकले स्टिमरको टिकट नपाई त्यसै फर्कनुसमेत पर्ने गरेको छ। सुनसरीको चतरादेखि भोजपुरको सिम्लेसम्म चल्ने मोटबोटमा यात्रा गर्दा सप्तकोसीकिनारका क्षेत्रको अवलोकन गर्न पाइन्छ। यति मात्रै होइन, देशकै ठूलो नदीमा चल्ने स्टिमरबाट देखिने भीर, जंगल र हरिया डाँडाले पर्यटकलाई थप उत्साहित र आनन्दित बनाउने गर्दछ। मोटबोटमा यात्रा गर्दा ठाउँठाउँमा खोलाका भँगालो माथिबाट मोटबोट उफ्रेर बेलाबेला त्रसित पनि पार्ने गर्दछ। थोरै पानी भएको स्थानमा मोटरबोटको यात्रा जोखिमपूर्ण पनि हुने गरेको छ। तर, मोटरबोट पानीको भँगालो पार गर्ने क्रममा उफ्रँदा बेग्लै किसिमको रमाइलो पनि यात्रुहरूलाई लाग्ने गर्दछ।
कोरोना कहरका कारण करिब ९ महिना बन्द भएर खुलेको मोटरबोटले यतिबेला आन्तरिक पर्यटकलाई आकर्षण गरिरहेको छ। चतरा पौराणिक कथामा उल्लेख भएको प्रसिद्ध धार्मिक स्थल पनि हो। योसँगै वराहक्षेत्र धाम पनि जोडिएको छ। चतरा आउने पर्यटकले मोटरबोटको रोमाञ्चक यात्रासँगै चतराधाम घुम्न र वराहक्षेत्र पुगेर वराह भगवान्को दर्शन पनि गर्न पाउँछन्। ‘एक काम दो पन्थ’ भने जस्तै हुने भएकाले धार्मिक पर्यटकसमेत मोटरबोट हेर्न र चढेर रमाइलो गर्न पछि पर्दैनन्। चतरामा सञ्चालित मोटबोटले वराहक्षेत्र धामको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
अन्य पर्यटकीय क्षेत्रमा कोरोनाका कारण अझैसम्म प्रभाव परिरहे पनि सप्तकोसीमा सञ्चालित मोटरबोटमा भने यतिबेला आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। सप्तकोसीको मोटरबोटमा यात्रा गर्न देशभरबाटै पर्यटकहरू आउन थालेका छन्। कोरोना महामारीका कारण भारतसँगको सीमा बन्द भएकाले भारतीय पर्यटकहरू भने न्यून मात्रै आउने गरेको व्यवसायी बताउँछन्। उनीहरूका अनुसार मोटबोट चढेर रमाउन आउने अधिकतर पर्यटक नेपाली छन्। भारतबाट छिटफुट मात्रै पर्यटक आउने गरेका छन्। अन्य दिन न्यून मात्रै पर्यटक आए पनि शनिबार र बिदाका दिन यहाँको मोटबोटले आन्तरिक पर्यटकलाई नै धान्न मुस्किल हुने गरेको छ।
‘बिदाका दिन भ्याइनभ्याई हुन्छ,’ एक व्यवसायीले भने, ‘अन्य दिन भने पर्यटक न्यून मात्रै हुन्छन्।’ कतिपय त दिनभर मोटबोटको पालो कुरेर पनि बोट नचढी फर्कन बाध्य छन्। गत शनिबार मोटबोट चढ्न धनकुटाबाट आएको कमल श्रेष्ठको टोली घन्टौं पालो पर्खंदा पनि पालो नआएपछि त्यत्तिकै फर्कियो। मोटरबोट चढ्न धेरै समय पर्खिंदा पनि टिकटै नपाएपछि कमल र उनका साथी त्यसै फर्कनुपर्यो। यो टोली मात्रै होइन शनिबार धेरै पर्यटक स्टिमरको टिकट नपाउँदा त्यसै फर्कन बाध्य भए। बिदाका दिन धेरै मानिस आउने र अन्य दिन त्यसै बस्नुपर्ने समस्या रहेको व्यवसायी तथा वराहक्षेत्र जलयातायात तथा पर्यटन प्रालिका अध्यक्ष विमलमान श्रेष्ठ बताउँछन्। उनले भने, ‘बिदाका दिन भीड लाग्ने र अन्य दिन खाली बस्नुपर्ने अवस्था छ।’ वराहक्षेत्र म्यारिन एन्ड रिसोर्ट प्रालि, सप्तकोसी एड्भेन्चर्स प्रालि, वराहक्षेत्र जलयातायात तथा पर्यटन प्रालिलगायत ५ वटा कम्पनीले हाल कोसीमा स्टिमर सञ्चालन गरिरहेका छन्।
जल यातायात व्यवस्थित गर्न चुनौती
नेताहरूले चुनावका बेला पानीजहाजको हुइयाँ चलाए। प्रधानमन्त्रीले नै पानीजहाज चलाएर सस्तो यातायातको व्यवस्था गर्ने घोषणा गरे। तर पानीजहाज सञ्चालनका लागि हालसम्म देशका कुनै नदीमा सम्भाव्यता अध्ययनसमेत भएको छैन। न डिपिआर तयार भएको छ, न सरकारले पानीजहाजका लागि पूर्वाधार नै बनाएको छ। प्रदेश सांसद विमल बस्नेतले भने, ‘पानीजहाजमा चढेपछि थाहा भयो, जहाज कसरी सञ्चालन भइरहेको छ।’ उनले नेपालको पानीजहाज त सडकमा गुडेको गाडी जस्तो भीरबाट हात हल्लाउनेहरूलाई ठाउ“ठाउ“मा रोक्दै चढाउ“दै उतार्दै पो सञ्चालन गरिँदो रहेछ।’
मोटरबोटमा लगानी गर्न लगानीकर्ता आकर्षित भइरहे पनि बोट तथा साना पानीजहाज सञ्चालनका लागि कोसीमा पूर्वाधार निर्माण भएको छैन। कोसीका ठाउठाउमा ठूला ढुंगा, भँगाला आदिको व्यवस्थापन नहुदा यात्रु जोखिममा छन्। यति मात्रै होइन, कोसीमा बास ढुवानी हुदा पानीजहाज ठोक्किने र दुर्घटनामा पर्ने खतरा पनि छ। हाल चतरास्थित कोसी पुलदेखि वराहक्षेत्र धामसम्मको प्रतिव्यक्ति ५ सय रूपैयाँ र भोजपुरको सिम्लेसम्मको प्रतिव्यक्ति एक हजार रूपैयाँ भाडा लिएर पानीजहाज सञ्चालकले यात्रु ओसारपसार गरिरहेका छन्। जल यातायात महँगो भएको गुनासो आइरहे पनि व्यवसायी भने जल यातायात सस्तो भएको दाबी गर्छन्। अन्तर्राष्ट्रिय स्तरमा पनि स्टिमरको भाडा न्यूनतम ४ सय डलर रहेको उनको दाबी छ।
‘अन्तर्राष्ट्रिय स्तरमा स्टिमरको भाडा ४ सय डलर छ,’ श्रेष्ठले भने, ‘हामी ५ सय रूपैयाँमा यात्रु ओसारपसार गरिरहेका छौं।’ सडक यातायातबाट भोजपुरको सिम्ले पुग्न एक दिन लाग्ने र भाडा पनि १ हजार २ सय रूपैयाँ पर्ने गर्दछ। तर, मोटरबोटबाट आधा घण्टामै पुगिने र भाडा पनि आधाभन्दा कम पर्ने गरेको श्रेष्ठ बताउँछन्। उनले भने, ‘सप्तकोसीमा स्टिमर चल्न थालेपछि स्थानीयको समय र खर्च दुवैको बचत भएको छ।’ कोसीमा सञ्चालित स्टिमरमा वराहक्षेत्र नगरपालिका र निजी कम्पनीको २० करोड रूपैयाँभन्दा बढी लगानी रहेको श्रेष्ठले बताए। कोसीमा स्टिमर सञ्चालनमा आएपछि चतरा पूर्वाञ्चलकै भेडेटार पछिको दोस्रो गन्तव्यस्थल बनेको व्यवसायी बताउँछन्।
चर्चामा खुवालुङ
किराँतहरूको आस्था खुवालुङ (पानी ढुंगा) स्टिमर चढ्ने पर्यटकले चासो देखाउन थालेका छन्। सप्तकोसीको खुवालुङले स्टिमर सञ्चालनमा अवरोध पुर्याएकाले फुटाउनुपर्ने प्रधानमनत्री केपी शर्मा ओलीको धारणापछि खुवालुङ चर्चा र चासोको विषय बनेको छ। प्रधानमन्त्रीले किरातको आस्थाको केन्द्रका रूपमा रहेको ढुंगा फुटाउने अभिव्यक्ति दिएको भन्दै किरात धर्मावलम्बीहरू विरोधमा उत्रिए। किंरातहरूको विरोधका कारण खुवालुङबारे चर्चा र चासो सुरु भयो। खुवालुङका विषयमा विभिन्न खोज तथा अनुसन्धानसमेत सुरु भएको छ।
एकाएक खुवालुङ चर्चामा आएपछि यतिबेला खुवालुङ हेर्नसमेत पर्यटक चतरा आउन थालेका छन्। सप्तकोसी नदीभित्रको खुवालुङ किरातहरूको सभ्यताको प्रतीकका रूपमा लिने गरिन्छ। यसैबीच प्रदेश सरकारले खुवालुङको संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाएको छ। गत चैत १८ गते खुवालुङको अवलोकनमा पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ फुटाउने नभई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। खुवालुङको संरक्षण गर्दै प्रदेशको समृद्धिमा, देशको समृद्धिमा यसलाई जोड्ने र यस ठाउँलाई धार्मिक सांस्कृतिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने राईले बताएका थिए।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेका तीन ठूला नदी अरूण, तमोर र दूध कोसीको संगमस्थल त्रिवेणीलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेतर्फ छलफल केन्द्रित हुने उनले बताए। प्रधानमन्त्रीले स्टिमर चलाउन ढुंगो भत्काउने बताएपछि किरात समुदायले विरोध गरेको थियो। सो विरोधपछि चर्चामा रहेको खुवालुङ हेर्न पर्यटक त्रिवेणीसम्म पुग्ने गरेका छन्। दैनिक एक सय हाराहारीमा खुवालुङ हेर्नका लागि पर्यटक आउने गरेको पर्यटन व्यवसायी राजेन्द्र कार्कीले बताए।
प्रकाशित: २५ चैत्र २०७७ ०२:१५ बुधबार