अर्थ

वायु प्रदूषणले हवाई उडान फेरि प्रभावित

पोखरा–काठमाडौंका उडान रद्द

तुवाँलोले ढाकेको पोखरा । तस्बिरः उमेश पुन÷नागरिक

वायु प्रदूषणले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ । झन्डै एकसाता अवरुद्ध रहेको उडान गत विहीबारदेखि सुचारु भएपनि सोमबारदेखि पुन प्रभावित भएका हुन् ।  

पोखरा विमानस्थलका प्रमुख बिक्रमराज गौतमका अनुसार सोमबार बिहान पोखरा–जोमसोम रुटमा उडान भएपनि नौबजेपछि काठमाडौंका लागि हुने सबै उडान भने अवरुद्ध भएका छन् । ‘झन्डै एकसाता अवरुद्ध भएका उडान गत विहीबारदेखि संचालनमा आएका थिए । तर, सोमबार बिहानैबाट पुन अवरुद्ध भएका छन,’ गौतमले भने, ‘अब पनि केहीदिन प्रभावित हुने संकेत देखिएको छ ।’  बिहान खुलेको मौसम नौ बजेपछि अवरुद्ध हुन थालेको उनले बताए । पोखराबाट उडान हुनका लागि भिजिविलिटी अपुग भएपछि उडान रोकिएको उनले बताए । यहाँबाट उडान हुनका लागि पाँचहजार मिटरको भिजिविलिटी आवश्यक पर्छ ।

गौतमका अनुसार सोमबार बिहान पोखरा–जोमसोम रुटमा सातवटा उडान भएका छन् । समिट एयरका चार र तारा एयरका तीनवटा उडान जोमसोमका लागि भएका थिए । तर पोखरा–काठमाडौं रुटमा भने बुद्ध र यतीले एक–एकवटा मात्र उडान गर्न सकेका छन् । ‘वायु प्रदूषणका कारण लामो समय अवरुद्ध भएका उडान खुलेर आकार लिँदै थिए । तर, फेरि प्रदूषण बढिरहेको छ,’गौतमले भने, ‘हवाई उडान पुरै प्रभावित भएको छ ।’

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले उडान अवरुद्ध हुँदा समस्या भएको बताए । उनका अनुसार सोमबार बिहान नौबजेपछिका सबै उडान रद्द गर्नुपर्ने अवस्था आएको बताए । बरालका अनुसार बिहान साढे ८ बजे बुद्धको जहाज काठमाडौंबाट पोखरा आएर फर्केपछि कुनैपनि उडान हुन सकेनन । ‘बिहान नौबजेपछि विमानस्थल बन्द भएको थियो । नौ बजेपछि भिजिविलिटी घटेको थियो,’ उनले भने ।  

बरालका अनुसार बुद्धले सोमबार पोखराबाट भैरहवा, भरतपुरका एकएक तथा काठमाडौंका लागि १० वटा उडान राखेको भएपनि सबै सम्भव हुन सकेनन् । ‘सोमबार एउटा मात्र उडान भयो । अरु सबै ११ वटा उडान रद्द भयो,’ बरालले भने । यती एरलाइन्सले पनि पोखरा–काठमाडौं रुटका तीनवटा उडान रद्द भएको जनाएको छ । पोखराबाट हवाई उडान संचालन हुन कम्तिमा ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्छ । तर बाँक्लो तुवाँलोले भिजिविलिटी  एकहजार मिटरसम्म झर्ने गरेको छ । 

प्रकाशित: २३ चैत्र २०७७ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App