अर्थ

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

चीनबाट आयात भएका खाद्य सामग्रीको नमुना परीक्षण गरिदैँ। तस्बिर: हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।  

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै आयात भएका एक सय ३१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो। नाकाबाट सामान आउने क्रम बढेसँगै परीक्षण पनि बढेको हो। भदौमा एक, कात्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैतमा ३५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै एक सय २३ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। गएको साउनदेखि हालसम्म एक सय २३ टन खाद्य सामग्री आयात भएको हो। कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ।  

तथ्यांक अनुसार फलफूल तथा सागपात २६ टन, खाद्यान्न दलहन तथा अन्य ४५ टन, मसलाजन्य ३.४ टन, दूधजन्य ६.८, मासुजन्य ३.४, चियाजन्य ५.९, कन्फेक्सनरी ०.१ टन र अन्य सामग्री ३२ टन आयात भएको हो। नाकाबाट सामान आउने क्रम बढेकाले परीक्षण बढेको खाद्य अनुसन्धान अधिकृत नविन देउजाले बताए।

उनका अनुसार आएका सामग्री सबै मापदण्ड अनुसारका छन्। ‘योभन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे,’ उनले भने, ‘अहिले मापदण्ड पूरा भएका मात्र आएका छन्।’ चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पिठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड बिन पेस्ट, आदि आयात भएको कार्यालयले जनाएको छ।  

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ। कोभिड–१९ भन्दा पहिले दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामान ल्याएर झार्ने काम गरिरहेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दुरी पार गर्नुपर्छ।

प्रकाशित: ११ चैत्र २०७७ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App