अर्थ

त्रियुगाको शिवाई पुल यसैवर्ष सकिने

निर्माणको अन्तिम चरणमा पुगेको शिवाईस्थित त्रियुगा पुल। तस्बिरः महेश्वर

दशकअघि सुरु भए पनि अहिलेसम्म नबनेको उदयपुरको शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल यसैवर्ष बनाईसक्ने गरी काम भईरहेको छ। ०६७ असारमा सम्झौता गरेर काम थालिएको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म नबन्दा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर र शिवाईबासी जनता वर्षायाममा डुंगाको सहारा लिन बाध्य हुँदै आएका छन्।

महालक्ष्मी/लोकप्रिय जेवी कलंकी काठमाडौंले ०७० असार २२ गतेभित्र बनाईसकेर सरकारलाई हस्तान्तरण गर्ने सम्झौता गरेको पुल अनेक बहानामा ढिला भएपछि पटकपटक म्याद थप्दै आउनु परेको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ। कार्यालयका अनुसार स्थानीय सडक सञ्जाल (एलआरएन) प्रविधिमा निर्माण भईरहेको पुल २ सय ८४ दशमलव ६ मिटर लामो र ५ मिटर चौडाईको रहेको छ। सुरुमा १३ स्पाम इस्टीमेट गरिए पनि प्राविधिक समस्याले घटाएर १२ स्पान बन्ने पुल पूर्वतर्फ एउटा स्पाममा स्ल्याव हाल्न बाँकी छ।  

योजना कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलका अनुसार पुल गतवर्ष नै सक्नेगरी काम भईरहेकोमा कोविड महामारीले चैत ११ देखि  लकडाउन भएपछि काम अवरुद्ध हुन पुगेको हो। कोभिडपछि पनि समयमा पुल निर्माणको काम नथालेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएर काममा खटाउनु परेको खकुरेलले बताए।  

‘१० वर्षभन्दा लामो समयसम्म पुल नबन्दा स्थानीयलाई धेरै मार्का परेको छ, त्यसैले छिट्टै काम सक्न भन्यौँ’ डिई खकुरेलले भने ‘पटक पटक म्याद थप्दा पनि बिभिन्न बहाना बनाएर काम ढिला गरेपछि कालोसूचीमा राख्ने चेतावनी दिनु पर्यो, अव भने यसैवर्ष सक्नेगरी काम थालेको छ।’ स्ल्याब ढलान गर्न बाँकी एउटा पिल्लर उठाइएको खाल्डोबाट पानी निस्केर काममा बाधा भएको उनले बताए। पुलको काम ९० प्रतिशत सकिइसकेको भए पनि एउटा मात्र पिल्लर गाड्न लगाइएको ‘बटम प्लग’बाट पानी छिरेपछि फेरि काम रोकिन पुगेको उनले बताए।  

बटम प्लग बनाउँदा कमजोरी भएको हुनसक्ने भएकाले अर्को बटम प्लग बनाएर पिल्लर गाड्दा काम छिटो अघि बढ्ने उनको बुझाई छ। त्यत्ति काम भए दुईमहिनाभित्रै पुल सञ्चालनमा आउन सक्ने डिई खकुरेलले बताए। सकेसम्म वैशाख–जेठभित्रै पुल सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन ठेकेदारलाई निर्देशन दिएको उनले बताएका छन्।  

सुरुमा ८ करोड ६६ लाख ९० हजारमा लागेको पुलको ठेक्का काम ढिला भएर इस्टीमेट संशोधन (भिओ) गर्दा ९ करोड ७८ लाख पुगेको उनले बताए। कार्यालयले भिओ गर्दा १५ प्रतिशतसम्म मात्र बजेट थप्न सक्ने र थप बजेटको भिओ गर्दा विभाग र मन्त्रालयले गर्ने हुँदा सोही अनुसार पछिल्लो भिओबाट पुलको लागत ११ करोड २५ लाख पुगेको खकुरेलले बताएका छन्।

उक्त पुलको काम ढिला हुँदा सप्तरीको कन्चनपुर–फत्तेपुर हुँदै उदयपुरको चौदण्डीगढी नगरपालिका केन्द्र बेलटार आउजाउ गर्न स्थानीयलाई धेरै समस्या रहेको छ। नगरबासीलाई आन्तरिक आउजाउ गर्न मात्र नभएर सुनसरी र उदयपुर सीमाना सुनसरीको चतारादेखि सदरमुकाम गाईघाट हुँदै सिन्धुली, हेटौडा जोड्ने निर्माणाधीन मदन भण्डारी लोकमार्गको बसाहा जोड्न उक्त पुल महत्वपूर्ण छ। तर, वर्षौंसम्म पुल नबन्दा चौदण्डीगढी नगरका ५ नं. वडाबासी जनतालाई नगर केन्द्र बेलटार आउजाउ गर्न नै हरेक वर्षामा डुंगाको सहारा लिनुपर्ने बाध्यता रहेको वडाध्यक्ष देवनारायण चौधरीले बताए।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले पुल नबनेका कारण हरेक वर्षायाममा डुंगाको व्यवस्था गरेर त्रियुगा नदी वारपार गर्नुपर्ने बाध्यता सुनाए। वडाबासीलाई नगर केन्द्र आउजाउ गर्न त्रियुगाको बाढीले हरेक वर्ष अवरोध गर्ने हुँदा वर्षेनी डुंगाको व्यवस्था गर्दै आएको मेयर राईको गुनासो छ। पुल छिटो बनोस् भनेर विभाग, मन्त्रालय र प्रधानमन्त्रीसम्मलाई गुहार्दै आएको तथा नगरपालिकाबाट आवश्यक परे बजेटसमेत हाल्ने तयारी गर्दा पनि पुल नबन्दा नगरबासीलाई पीडा भएको उनले सुनाए।  

सो पुल बनेपछि चौदण्डीगढीका ५, ९ र १० नम्बर वडाबासीलाई नगरपालिका आउजाउ गर्न मात्र नभएर विराटनगर, इटहरीलगायत पूर्वीभेग तथा सप्तरी, सिराहालगायत पश्चिमी भेग छुने कन्चनपुर फत्तेपुर नाका भएर आउजाउ गर्न सहज हुनेछ।

प्रकाशित: ५ चैत्र २०७७ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App