अर्थ

पोखरा–काठमाडौं उडानमा दुईहजार यात्रु आउजाउ

झन्डै ९० प्रतिशत सिटमा यात्रु

पोखरा–काठमाडौं उडानको तयारीमा रहेका जहाज

कोरोना भाइरस संक्रमणको महामारीले थलिएको हवाई यातायातले बिस्तारै गति लिन थालेको छ । कोरोनाको त्रासले गरिएको लकडाउनका कारण झन्डै ६ महिना ठप्प भएको हवाई उडान अहिले पहिलेकै आकारमा आउन थालेको एयरलायन्सले बताएका छन् । कोरोना त्रासका कारण पोहोर चैतदेखि रोकिएको उडान असोज पहिलो सातादेखि मात्र खुलेको थियो ।  

आन्तरिक यात्रुको भरमा मात्र पनि अहिले हवाई उडानले गति लिएको एयरलायन्सले बताएका छन् । कोरोनाका कारण विदेशी पर्यटक नहुँदा एयरलायन्सले आन्तरिक यात्रुको भरमा मात्र उडान थालेका थिए । तर, आन्तरिक प्रयाप्त यात्रु तान्न सक्दा अहिले हवाई उडानलाई गति दिन सहज भएको एयरलायन्स पदाधिकारी बताउँछन् । अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा हवाई उडानमा आन्तरिक यात्रुको भीडभाड रहेको पोखरा विमानस्थलले बताएको छ ।  

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार अहिले पोखरा–काठमाडौं रुटमा बुद्धका ९, यतिका ६ र श्री एयरलायन्सको एक गरि दैनिक १६ वटा एकतर्फी उडान भईरहेका छन् । त्यस्तै पोखराबाट भरतपुर, भैरहवा र जोमसोम पनि उडान भईरहेको छ । बुद्धले पोखराबाट भरतपुर र भैरहवा दैनिक एउटा उडान गरिरहेको छ । त्यस्तै समिट र तारा एयरले पोखरा–जोमसोम रुटमा दैनिक २ वटाका दरले उडान गरिरकेका छन् । ‘पोखरा–काठमाडौं रुटमा मात्र दैनिक १६ वटा एकतर्फी उडान भईरहेका छन् । अहिले पोखरा–काठमाडौं रुटमा मात्र दैनिक झन्डै एकहजार जना यात्रु उड्छन,’ सुवेदीले भने, ‘दुईतर्फी यात्रु करिब दुईहजार छन् । अरुतिरका उडानमा पनि यात्रुको चाँप छ ।’

उनका अनुसार अघिल्ला वर्ष यो सिजनमा विदेशी यात्रु पनि हुँदा पोखरा विमानस्थलबाट दैनिक करिब चारहजार (दुईतर्फी) यात्रु ओहोरदोहोर गर्दथे । उडान संख्या पनि झन्डै दुईदर्जन हुन्थे । तर अहिले विदेशी यात्रु नहँुदाको अवस्थामा पनि आन्तरिक यात्रु र उडान थपिँदा उत्साह जागेको उनले बताए । ‘कोरोनाको यो महामारीका बाबजुत पनि यात्रु संख्या थपिएका छन,’ उनले भने । अहिले उडान गर्नेमध्ये सबै यात्रु आन्तरिक छन् । कुनै उडानमा एकाध विदेशी भएपनि सबैजसो यात्रु आन्तरिक भएको उनले बताए । ‘हरेक उडानका करिब ९० प्रतिशत सिट आन्तरिक यात्रुले ओगटेका छन्,’ उनले भने, ‘हवाई यात्रामा आन्तरिक यात्रुको संख्या निकै नै बढेको छ ।’

सुवेदीका अनुसार यात्रुलाई केही सस्तो भाडादरमा उडाउँदा अहिले हवाई यात्रामा आन्तरिक यात्रु थपिएका हुन् । यात्रु तान्नकै लागि एयरलायन्सले भाडादर निकै नै सस्तो दिईरहेको उनले बताए । ‘सस्तोमा यात्रुलाई उडाएर हवाई यातायातप्रति बानि पार्ने प्रयासको रुपमा पनि बुझिएको छ,’ उनले भने, ‘कुनै न कुनै रुपमा यात्रुलाई सहज भएको छ । रित्तो जहाज उडाउनु भन्दा सस्तोमा भएपनि यात्रु पाउँदा एयरलायन्सको ब्यापारमा पनि केही सघाउ पुगेको छ ।’ यात्रु संख्या बढेपछि विमानस्थलको व्यस्तता पनि बढेको उनले सुनाए ।  

हवाई कम्पनिका पदाधिकारी पनि पोखरा–काठमाडौं रुटमा अहिले आन्तरिक यात्रुको भरमा उडान बढिरहेको बताउँछन् । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले ९० प्रतिशत अकुपेन्सी ओगट्ने गरि हवाई यात्रु पाएको बताए । ‘हुन त सबै यात्रु आन्तरिक हुन् । अहिलेको अप्ठेरोमा पनि यो आकारमा आन्तरिक यात्रु पाउन सकिएको छ,’ बरालले भने, ‘यसले यात्रुलाई पनि सहज भएको छ भने हवाई कम्पनिले पनि यात्रुलाई सेवा दिन पाएका छन् । विमानस्थलले दैनिक एकहजार भन्दा बढी यात्रुलाई एकतर्फी सेवा दिन पाएको उनले बताए ।  

अर्काे निजी कम्पनि यती एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौला पनि आन्तरिक यात्रुको भरमा चलायमान बन्न मात्र सकेको बताउँछन् । उनका अनुसार पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्या भने निकै नै बढेको छ । कोरोना अघि भन्दा पनि अहिले आन्तरिक हवाई यात्रु बढि रहेको उनले बताए । ‘यात्रु संख्या त सोचेभन्दा बढी थपिएका छन् । तर, केही सस्तो भाडादरमा उडान गर्नुपरेको छ,’ बर्ताैलाले भने, ‘तरपनि यात्रुलाई सहज भने भएकै छ ।’ उनका अनुसार अहिले पोखरा–काठमाडौं रुटमा हवाई यात्रुको संख्या दिनहुँ बढिरहेको छ । ‘यात्रु बढेकै कारण हामीले उडान संख्या पनि थप्न बाध्य भएका छौ,’ बर्ताैलाले भने, ‘आन्तरिक यात्रुकै भरमा अहिले हवाई क्षेत्रले गति लिएको हो ।’

सस्तो भाडादर

पोखरा–काठमाडौं–पोखरा रुटमा एकतर्फी भाडा सबैभन्दा बढी ४८१० रुपैयाँ हो । यात्रुको चाँप अनुसार भाडादर केही सस्तो पनि छ । तर, अहिले उडान संख्या बढाएर यात्रु तान्ने प्रतिश्पर्धा चल्दा निकै नै सस्तो भाडादरमा यात्रुले उड्न पाएका छन् । अहिले काठमाडौं–पोखरा १८ सयदेखि २ हजार रुपैयाँमा टिकटमा यात्रु उड्न पाउँछन भने पोखरा–काठमाडौं २२ सय रुपैयाँसम्म पर्छ । कुनै दिन त १५ सय रुपैयाँमा पनि यात्रु उड्न पाएका छन् ।

‘बजार प्रतिश्पर्धा निकै नै बढेको छ । बसभाडा भन्दा पनि सस्तो हुने अवस्था आएको छ । यात्रुलाई त फाइदा पुगेको छ, तर, एयरलायन्सले कमाई भने त्यो अनुसार गर्न पाएका छैनन,’ एक निजी हवाई कम्पनिका पदाधिकारीले भने, ‘जहाज खालि उडाउनु भन्दा पनि सस्तोमा उडाएर यात्रु तान्ने प्रयास भएकै हो ।’

यती एयरका प्रवक्ता बर्ताैला पनि सस्तो भाडादर प्रवद्र्धनात्मक भएपनि अरुदिनको मुल्य पनि केही घटेको बताउँछन् । ‘कहिलेकाँही हामी दिर्न तोकेर सस्तो भाडादर दिन्छौ । तर अरुदिनको भाडा पनि पूर्णआकारमा लिन सकिएको छैन,’ बर्ताैलाले भने, ‘बाहिरबाट हेर्दा यात्रु खचाखच छन, तर, आम्दानी अझै पहिलेकै आकारमा आउन सकेको छैन । सस्तोमा उडाएर कमाउन सक्ने अवस्था छैन ।’ उनका अनुसार पोखरा–काठमाडौं रुटमा कुनैदिन त १५ रुपैयाँमा पनि यात्रुले उड्न पाएका छन् । ‘निकै नै सस्तो भाडा पनि दिएका छौ । यसले यात्रुलाई त सहज भएको छ, तर, हवाई कम्पनि उभो लाग्न सकेका छैनन,’ उनले भने । 

प्रकाशित: २५ फाल्गुन २०७७ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App