कोरोना भाइरस महामारीबाट थलिएका पर्यटन व्यवसायीले आन्तरिक पाहुना तान्न छुटका योजना ल्याउन थालेका छन् । पोखराको आकाशमा पर्यटकलाइ सयर गराउने अल्ट्रालाइट जहाज र जाइरोकप्टर (हेलिकप्टर स्वरुप) ले आन्तरिक पाहना तान्न शुल्कमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।
कोरोनाबाट पर्यटन व्यवसाय थलिएको र त्यसलाई उकास्नका लागि पनि छुट ल्याउन बाध्य भएको उनीहरुले बताएका छन् । पोखराको आकाशमा पाहुना घुमाउने जाइरोकप्टर उडान गरिरहेको हेलि एयर नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्तबहादुर लामिछानेले आन्तरिक पाहुनालाई आकर्षण गर्नका लागि पनि छुटको प्याकेज ल्याएको बताए ।
जाइरोकप्टरका पाइलट समेत रहेका लामिछानेले भने, ‘यो बेला व्यवसाय कसैगरि धान्नुपर्ने छ । कमाउने बेला छैन, तर, व्यवसाय टिकाइरहन पनि छुट नदिई सुखै छैन ।’ उनका अनुसार १५ मिनेटको छोटो उडानमा पहिला पर्यटकले १३ हजार रुपैयाँ तिर्नुपर्नेमा अहिले ६ हजार ५ सय रुपैयाँ तिरे पुग्छ । त्यस्तै आधा घण्टाको (फिस्टेल) २३ हजार रुपैयाँ पर्ने गरेकोमा अहिले ११ हजार ५ सय रुपैयाँ पर्छ । एकघण्टाको (अन्नपूर्ण) उडानमा पहिला ४३ हजार रुपैयाँ पर्नेमा अहिले २१ हजार ५ सय रुपैयाँ पर्छ ।
‘दिनमा आधादर्जन हाराहारीमा उडान भएका छन् । यो आम्दानीले व्यवसाय चलायमान बनाउने मात्र हो,’ लामिछानेले भने, ‘कम्तिमा आन्तरिक पर्यटकलाई आकर्षण गर्न सकिएको छ । व्यवसाय चलाउने मेसो बनेको छ ।’ उनका अनुसार आधा छुटको आम्दानीले कम्पनिलाई नाफा हुने नभई व्यवसायले निरन्तरता भने पाउँछ । ‘कोरोनाको यो त्रासका बेला कमाउने अवस्था भएको छैन, व्यवसाय संचालन गर्ने मात्र हो,’ उनले भने, ‘आकाशमा उड्ने साधनलाई भूँइमा अड्याइ राख्दा नोक्सानी बढ्ने मात्र हो । त्यही भएर चलायमान बनाउन खोजेका हौ ।’
आन्तरिकलाई पाहुनालाई घुमाएर भएपनि व्यवसाय चलिरहेको भन्ने देखाउन सकिएको उनले बताए । ‘सधैं ताला लगाएर बसेर पनि भएन, व्यवसायमा ताला लगाउँदा कमाइ हँुदैन, नोक्सानी बढ्दै जाने मात्र हो,’ लामिछानेले भने, ‘कम्तिमा व्यवसाय चलायमान बनाउन सकेका छौ ।’ अहिलेको छुट कोरोनाको अवस्था सामान्य नभएसम्म रहिरहने उनले बताए । यो बेला आउने विदेशीले पनि छुट पाउने उनले बताए । आन्तरिक पर्यटक आउन थालेको र केही भारतीय पाहुना थपिने हो भने व्यवसाय थेग्न सकिने उनले बताए । ‘पर्यटन तत्कालै लयमा फर्किने अवस्था देखिएको छैन । खर्च धानेर व्यवसाय टिकाइरहन सकियो भने त्यो नै उपलब्धि हुनेछ,’ उनले भने, ‘जुन दिनदेखि कोरोना कहर सकिन्छ, त्यसपछि बल्ल कमाई हुनसक्छ ।’ कोरोनाका कारण गत चैतदेखि रोकिएको जाइरोकप्टरको उडान तीनसाता अघि मात्र पुन संचालनमा आएको थियो । यो बेला केही आन्तरिक पर्यटक पोखरा घुम्न आएकोले ती पाहुनालाई उडाउन पाएको पाइलट लामिछानेले बताए ।
पोखराकै आकाशमा पाहुनालाई सयर गराउने अल्ट्रालाइट जहाजमा पनि आधा छुट घोषणा गरिएको छ । पोखराको आकाशमा पाहुना सयर गराउने तीनवटा अल्ट्रालाइट कम्पनि रहेपनि अहिले पोखरा अल्ट्रालाइट मात्र संचालनमा छ । अरु दुई कम्पनि अझै संचालनमा आउन सकेका छैनन् । दसैंपछि पुन संचालन भएको पोखरा अल्ट्रालाइटले भने पाहुनालाई शुल्कमा आधा छुट दिने घोषणा गरेको संचालक पोमनारायण श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार सबैखाले उडानमा ५० प्रतिशत छुट दिइनेछ । १५ मिनेटको उडानमा पहिला ११ हजार रुपैयाँ पर्नेमा अहिले ५५ सय रुपैयाँ शुल्क पर्ने उनले बताए । त्यस्तै ३० मिनेटको उडानमा पहिला २० हजार र अहिले ९५ सय, एकघण्टाको उडानमा पहिला ३८ हजार पर्नेमा अहिले १९ हजार रुपैयाँ मात्र पर्ने श्रेष्ठले बताए । उनका अनुसार यो छुट आगामि मार्च महिनासम्म लागु हुनेछ । ‘पर्यटनको अवस्था कुन रुपमा अघि बढ्छ, त्यही अनुसार छुटको समय बढाउन सकिन्छ,’ उनले भने, ‘अहिले पुरै शुल्क लिने अवस्था छैन ।’
आधा छुटले खर्च मात्र धान्न सकिने उनले बताए । नाफा कमाउनका लागि नभई व्यवसाय चलायमान बनाउनका लागि छुट दिएर पाहुना आकर्षणको प्रयास गरेको संचालक श्रेष्ठले बताए । ‘५० प्रतिशतको छुटले व्यवसाय मात्र चल्छ, कमाई हुँदैन,’ उनले भने, ‘अहिले कमाई हुने अवस्था छैन । व्यवसायलाई निरन्तरता दिनु नै ठुलो उपलब्धि हो ।’ कोरोना संक्रमण त्रासका कारण चैतदेखि रोकिएको अल्ट्रालाइटमा अहिले दैनिक आधादर्जन जति उडान भइरहेका छन् ।
केहीदिन अघि नयाँवर्षका कारण पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढेसँगै केही भारतीय पाहुना पनि थपिएका थिए । ती भारतीय पाहुना पनि अल्टालाइट जहाज चढ्न पुगेका थिए । ‘आन्तरिक पर्यटक र केही भारतीय पाहुना थपिने हो भने हाम्रो व्यवसाय चलायमान हुन्छ,’ उनले भने, ‘तत्कालका लागि कमाउने भन्दा पनि व्यवसाय टिकाउनका लागि छुट दिएका छौ । कम्तिमा व्यवसायले निरन्तरता पाएको छ ।’
प्रकाशित: २२ पुस २०७७ ११:१३ बुधबार