अर्थ

एलन मस्क भन्छन् : उत्पादन राम्रो बनाऊ, बैठकमा धेरै समय खर्च नगर

एलोन मस्क

अमेरिकाको विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इन्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले अचेल धेरैजसो उद्यमीले अनुत्पादक  काममा बढी समय बिताउने गरेको टिप्पणी गरेका छन्।  

आफ्नो उत्पादनलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा भन्दा उनीहरूले विभिन्न किसिमका बैठक/छलफलमा बढी समय खर्च गर्ने गरेको उनले बताएका हुन्।  

‘अमेरिकी सिइओेहरू आफ्नो उत्पादनलाई सुधार गर्नमा केन्द्रित छन् त,’ मस्कले एक भर्चुअल बैठकमा भने, ‘मलाई लाग्छ- यसको जवाफ छैनन् नै हो।’  

सल्लाह दिँदै उनले अगाडि भने, ‘पैसा व्यवस्थापनमा कम समय खर्चिने गर्नुहोस्, सभाहलहरूमा हुने छलफलमा कम समय खचिर्ने गर्नुहोस्, पावर प्वाइन्टमा पनि कम समय खर्चिने गर्नुहोस् र धेरै समय आफ्नो उत्पादनलाई अद्भूत र उत्कृष्ट बनाउनमा खर्चिने गर्नुहोस्।’

अर्बपति सिइओ मस्कले कम्पनी व्यवस्थापनका लागि जहिले पनि असामान्य कदम चाले। जसमध्ये एउटा कदमले त उनलाई अप्ठेरोमा समेत पारेको थियो। यो वर्षको सुरुवातमा उनले सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा वित्तीय नियामक निकायको सामना गर्नुपरेको थियो। उनीविरुद्ध सन् २०१८ मा ट्विटरमार्फत टेस्लाबारे भ्रामक सूचना प्रवाह गरेको आरोप लागेको थियो। जसले टेस्लाको सेयर मूल्य घट्ने आकलन गरिएको थियो। यो वर्षको सुरुवातमा उनले ट्विट गर्दै आफूलाई टेस्लाको सेयर मूल्य अत्यधिक भएको बताएका थिए।

उनले प्रायः उद्यमीले आफ्नो संस्थाको आधारभूत मूल्य/मान्यता नै भुल्ने गरेको पनि आरोप लगाए। ‘कुनै कम्पनी आफैंमा उत्कृष्ट हुँदैन। कम्पनी त्यतिबेला मात्र मूल्यवान् हुन्छ, जतिबेला उसले लागतभन्दा बढी सामान र सेवा दिन सक्छ।’

उनका अनुसार सिइओेहरूले कम्पनीका खाता हेरेर दिक्क हुनुभन्दा त्यसको भुइँमा हिँड्नुपर्छ। सकेसम्म धेरै ग्राहकसँग अन्तरक्रिया गर्नुपर्छ। उनले भने,‘नवीनता ल्याउने कुनै अचूक उपाय छैन। यो त निरन्तर सुधारबाट प्राप्त गरिने कुरा हो।’

तपार्इंको उत्पादन जति गुणस्तरीय हुनुपर्ने थियो त्यति छ त ? ‘सायद छैन,’ उनले भने, ‘तपाईं यसलाई गुणस्तरीय बनाउन के गर्न सक्नुहुन्छ? त्यो महत्वपूर्ण कुरा हो।’

उनका अनुसार उत्पादन केन्द्रित मानसिकता एक प्रकारको खुबी हो। जसलाई सिक्न सकिन्छ। सिइओेहरूले नकारात्मक प्रतिक्रिया खोजी–खोजी हेर्नुपर्छ। र, आफ्नो उत्पादनलाई कसरी प्रयोग गर्न चाहन्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ। उनी भन्छन्, ‘यही हो सफलताको सूत्र र यो कुनै रहस्यमय कुरा होइन।’

सामान्यतया उत्पादन गर्ने सामान वा सेवालाई पूर्ण आर्दशवादी भएर हेर्नुपर्ने उनको सुझाव छ। भन्छन्, ‘यदि तपाईंलाई त्यो मन पर्दैन भने अरूबाट पनि त्यो अपेक्षा नराख्नुहोस्।’

उनले आफ्ना कम्पनी टेस्ला र स्पेस एक्समा पनि विगतमा धेरै गल्ती गरेको बताए। ‘विगतमा मैले आफ्नै सुझाव र कम्पनीको मूल कर्तव्यलाई आत्मसात् नगर्दा धेरै गल्ती भए,’ उनले भने।

जतिबेला उनी अधिकतर समय सभाहलहरूमा बिताउँथे, त्यतिबेला सबै कुरा बिग्रिन्थे। उनले भने, ‘तर, पछि मैले कारखानाको भुइँमा समय बिताउन थालेपछि अनि आफैं कार प्रयोग गर्न थालेपछि मात्र राम्रो नतिजा आउन थाल्यो।’

उनले आफ्ना कर्मचारी उनीहरूको कामबारे विस्तृत बताएपछि खुसी हुने गरेको पनि बताएका छन्।  

प्रकाशित: ९ पुस २०७७ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App