अर्थ

डिपिआर संशोधनपछि लागत घट्यो

धरानमा निर्माण गरिने भनिएको स्मार्ट बसपार्कको डिपिआर संशोधन भएको छ। बसपार्कको लागत स्टिमेट बढी भएपछि उपमहानगरपालिकाले डिपिआरलाई संशोधन गरेको जनाएको छ। उपमहानगरपालिकाले धरानको भानुचोकस्थित अव्यवस्थित बसपार्कलाई वडा नम्बर ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनाअन्तर्गतको बहुउद्देश्यीय क्षेत्रको जग्गामा निर्माण गर्ने निर्णय गरेको थियो।

सोही अनुसार प्रदेश १ सरकारले धरानमा स्मार्ट बसपार्क बनाउन डिपिआर बनाइदिएको थियो। प्रदेश सरकारले परामर्शदातामार्फत बनाएको डिपिआरको लागि करिब ४३ करोड थियो। उक्त डिपिआरमा धेरै कुरा छुटेकोले उपमहानगरको प्राविधिकहरूले थप गर्दा लागत बढेर झण्डै ६४ करोड पुगेको थियो। अहिले संशोधन भएको डिपिआरअनुसार लागत स्टिमेट ३० करोड ६४ लाखमा सिमित भएको आयोजना प्रमुख खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए।

उपमहानगरले संशोधन भएको डिपिआरबारे पहिलो चरणमा सरोकारवाला एवं सर्वपक्षीय छलफल गरेको पनि आयोजना प्रमुख खतिवडाले जानकारी दिए। उनका अनुसार राजनीतिक दलका प्रतिनिधिहरू, यातायात व्यवसायी, विज्ञ समितिलगायतसँग छलफल गरेर सुझाव लिएको हो। स्मार्ट बसपार्कको लागि संघीय सरकारको ससर्त अनुदानको बजेटबाट चालु आर्थिक वर्षमा नै निर्माण कार्य अघि बढ्ने उपमहानगरले जनाएको छ। योजना तथा इन्जिनियरीङ महशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार संघीय सरकारको २५ करोडको ससर्त अनुदानको बजेट स्मार्ट बसपार्क निर्माण कार्य अघि बढ्नेछ। ससर्त अनुदानको बजेटबाट बसपार्क बनाउने उपमहानगरको प्रस्ताव स्वीकृत भइसकेको उनले बताए।

श्रेष्ठका अनुस अनुदानको २५ करोड बजेटमा संघीय सरकारबाट साढे १२ करोड उपलब्ध हुनेछ भने साढे १२ करोड उपमहानगरपालिकाले ३ वर्षमा व्यहोर्नुपर्ने हुन्छ। यहीँ बजेटबाट काम अघि बढाउनको लागि डिपिआर संशोधन गरिएको उनले बताए। ‘कार्यपालिकाबाट डिपिआर स्वीकृत भएपछि टेण्डर प्रक्रिया हुन्छ, र यही आर्थिक वर्षमा बसपार्क निर्माणको काम अघि बढ्छ,’ श्रेष्ठले भने।

प्रकाशित: ९ पुस २०७७ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App