अर्थ

लिगलिगकोटको होमस्टेः पाहुनालाई छुट्टै घर

पालुङटारको लिगलिगकोटमा सुरु भएको होमस्टे घर ।

लिगलिग पुग्ने पर्यटकले कहाँ बस्ने, के खाने भन्ने चिन्ता अब लिनु पर्दैन। गाउँमा आएका पर्यटकलाई सुरक्षित रुपमा राख्न, सँगै भान्सामा पाकेको खानेकुरा खुवाउन पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीका स्थानीयले शनिवारदेखि हामेस्टे सुरु गरेका छन्। अन्यत्र जस्तो एउटै घरमा घरका सदस्य र पाहुना बस्ने होईन, यहाँ पाहुनाका लागि एक कोठे छुट्टै घरको ब्यवस्था छ।  

ऐतिहासिक र धार्मिक रुपमा परिचित गोरखाको पालुङटार स्थित लिगलिगकोटको काखमा रहेको खोल्ली गाउँका सातवटा घरबाट होमस्टे सुरु भएको छ। होमस्टे भएको एक घरमा तीन जनासम्म पाहुना राख्न सकिने लिगलिगकोट होमस्टे समितिका अध्यक्ष प्रेमकुमारी थापाले बताइन्। ‘२० वटा घरसम्म होमस्टे विस्तार गर्ने योजनामा छौँ’, उनले भनिन्, ‘घरमै बसेर दुईचार पैसा जोहो भयो भने नुन तेल चल्छ कि भन्ने चाहना हाम्रो पनि हो।’

दाल, भात, तरकारी, स्थानीय रुपमा उत्पादन भएको लोकल कुखुरा, ढिँडो, गुन्द्रुकको अचार, सिस्नोको साग होमस्टेमा खुवाउन सकिने स्थानीय बताउँछन्। कति रुपैयाँमा खुवाउने भन्ने समितिले निर्णय गर्न भने बाँकी छ। होमस्टेका लागि छुट्टाछुट्टै ब्लकमा घर, बाथरुम, शौचालय पनि छुट्टै भएकाले पाहुनालाई सजिलो हुने कोषाध्यक्ष देवी ठकुरी बताउँछिन्। २० वटा घरमा होमस्टे चलाउने योजना उनीहरुको छ।

होमस्टेको उद्घाटन गर्दै पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेलले स्थानीय उत्पादनलाई बिक्री गरेर आर्थिकस्तर बढाउन होमस्टेले मद्धत पुग्ने बताए। ‘यहाँका स्थानीयसँगै सिङ्गो पालुङ्टार नगरपालिकाको आम्दानी बढाउन, स्तरवृद्धि गर्न होमस्टेले सघाउँछ।’ लिगलिगकोटको प्रचार प्रसारसँगै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन होमस्टेले मद्धत पुग्ने उनले बताए। ‘लिगलिगको काखमा भएकाले यहाँ आउने पाउनाले सेवा पनि पाउनेछन्’, उनले भने। आफ्नो समाजको सँस्कृति, उत्पादन सबै बिक्री गर्ने ठाउँ होमस्टे भएको बताउँदै नगरप्रमुख कँडेलले नेपालको उद्गमथलो लिगलिग भएकाले पर्यटक आकर्षित गर्ने एउटा माध्यम रहेको बताए।

अहिले रहेको सातवटा होमस्टेका छुट्टाछुट्टै घर रहेको समितिकी कोषाध्यक्ष देवी ठकुरी बताउँछिन्। घर निर्माण गर्न हाल अमेरिका रहेका स्थानीय बालकृष्ण शर्मा मरहट्टाले प्रतिघर तीन लाख रुपैयाँ सहयोग गरेका थिए। पालुङटार नगरपालिकाले निर्माण सामग्री ढुवानीमा सहयोग गरेको र सँगसँगै नेपाल नामक सँस्थाले वौद्ध हिमाल युवा क्लवमार्फत करिब छ लाखको फर्निचर सहयोग गरेको समितिले जनाएको छ। ‘बाँकी स्थानीयले आफैँले श्रमदान गरेका हौँ’, कोषाध्यक्ष ठकुरीले भनिन्।

स्थानीयको आयस्तर उकास्न, पाहुनासँगको भाईचारा बढाउन, एकअर्को ठाउँका मानिस बीच परिचितहुन, सँस्कार आदानप्रदान गर्न, समुदायका मानिस बीच सद्भाव कायम गराउन होमस्टेले मद्धत पुग्ने संरक्षक वेदबहादुर राना बताउँछन्।

होमस्टे संचालन गर्ने महिलाहरुलाई पाहुनाको स्वागत सत्कार, होमस्टे ब्यवस्थापन, सरसफाई लगायतको तालिम दिने योजना रहेको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले बताइन्। ‘हामीले महिला लक्षित कार्यक्रममार्फत उहाँहरुलाई सिप, तालिम दिनेछौँ, होमस्टे ब्यवस्थापनमा सहयोग गर्छौँ, यसले महिलाहरु आर्थिक रुपमा पनि सशक्त हुन मद्धत पुग्छ’, उनले भनिन्।

वडा नम्बर २ का वडाध्यक्ष लोकनाथ वाग्लेले धार्मिक रुपमा पनि लिगलिगकोटको छुट्टै इतिहास रहेकाले धार्मिक पर्यटकीय स्थलको रुपमा पनि लिगलिगलाई बिकास गर्न सकिने बताए। ‘धार्मिक पर्यटक पनि आउँछन्, यहाँको धार्मिक प्रचार पनि गर्न सकिन्छ, यसले  स्थानीयको जीवनस्तर उकास्न मद्धत पुग्छ भन्ने अपेक्षा लिएका छौँ’ उनले भने।

अहिले दैनिक लिगलिगकोट पुग्ने पर्यटक नजिकै होमस्टे, होटल नहुँदा टेन्ट भाडामा लिएर बस्न बाध्य छन्। खानेकुरा आफैं बोकेर जानुपर्ने बाध्यता अब हटेको नगरप्रमुख कँडेलले बताए। ‘हामीले होमस्टेका लागि थप सहयोग गर्दै जानेछौँ’, उनले भने। होमस्टे निर्माण २०७६ देखि सुरु भएर अहिले सम्पन्न भएको हो।

प्रकाशित: १४ मंसिर २०७७ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App