अर्थ

हलेसीको माथिल्लो माल्खुमा होमस्टे

होमस्टे आएका अतिथिलाई दही दिँदै सुबिन्द्र गिरी । तस्बिर : दमन/नागरिक

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पहिलोपल्ट होमस्टे सञ्चालनमा ल्याइएको छ । स्वदेश तथा विदेशबाट हलेसी आउने पर्यटकलाई लक्ष्यीत गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द्र गिरीले होमस्टे सुरु गरेका हुन् । व्यवसायीकरुपमा गाई, लोकल कुखुरा, टर्की पालन तथा तरकारी खेती गर्दै आएका गिरीले लकडाउनकै अवधिमा आवश्यक संरचना निर्माण गरी होमस्टे सञ्चालनमा ल्याएका हुन् । हाललाई खाजा, नास्ता, पेय पदार्थ लगायतका सेवा सहितको होमस्टे सञ्चालनमा ल्याएको गिरीले बताए । हलेसीबाट ककनी मन्दीर जाने बाटोमा गिरीले दुई वटा कटेज बनाएर होम स्टे सुरु गरेका हुन् । उनको होमस्टेले अझै पूर्णता पाउन बाँकी छ ।  

हलेसी महादेवस्थान विकास समितिको पहलमा गिरीकै अध्यक्षतामा होमस्टे सञ्चालन समिति गठन भएको केही समयपछि होमस्टे सुरु गरिएको हो । माथिल्लो माल्खुमा सामुदायीक होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आवश्यक पुर्वाधार तयार पारेर कम्तीमा पाँच घरबाट होमस्टे सेवा दिने तयारी गरिएको गिरीले बताए । होमस्टेमा आउने पर्यटकलाई देखाउनका लागि माथिल्लो माल्खुमा हाल बालन र संगीनी नाच सिक्ने अभ्यास भइरहेको छ ।  

घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजना केही समयअघि उनीहरुलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम दिएको थियो । ‘पाँच घरबाट सुरु गर्ने र क्रमशः १४÷१५ घरलाई समेट्ने लक्ष्य छ,’ गिरीले भने, ‘प्रत्येक घरमा एक–एक कोठा निकालेर सामुदायीक होमस्टे चलाउने तयारी गरिरहेका छौँ । यसका लागि नगरपालिका र वडासँग पनि सहकार्य गर्ने छौँ ।’

हलेसी माल्खुका सुबिन्द्र गिरीको होमस्टेमा बनाइएको कटेजमा पुगेका अतिथि । 

स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा होमस्टे व्यवसायमा हात हाल्ने गिरी पहिलो हुन् । महादेवस्थानकै तल्लो माल्खु र ऐसेलुखर्क पनि होमस्टे सञ्चालनका लागि सञ्चालक समिति गठन भइसकेको हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले बताए । होमस्टेका लागि ऐसेलुखर्कमा कोपीला राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ । दर्शनार्थी एबं पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको छैन । होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित: ९ भाद्र २०७७ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App