अर्थ

१४ करोड ७५ लाख कर संकलन

करदाता सेवा कार्यालय खोटाङले अघिल्लो आर्थिक वर्षको तुलनामा आव ०७६/७७ मा करिब पाँच करोड बढी कर संकलन गरेको छ। आव ०७५र७६ मा १० करोड कर संकलन गरेको करदाता सेवा कार्यालयले आव ०७६/७७ मा १४ करोड ७५ लाख राजस्व संकलन गरेको हो।  

आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा दुई करोड ५५ लाख ५५ हजार, भदौमा ३८ लाख २७ हजार, असोजमा ५६ लाख ५७ हजार, कात्तिकमा ६२ लाख आठ हजार, मंसिरमा ६० लाख ८५ हजार, पुसमा एक करोड १९ लाख चार हजार राजस्व संकलन गरिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताए।  

यस्तै, माघमा एक करोड ७७ लाख ९७ हजार, फागुनमा ७४ लाख ५१ हजार, चैतमा ३८ लाख ४४ हजार, वैशाखमा ७४ लाख ४७ हजार, जेठमा एक करोड १५ लाख ७४ हजार र असारमा ४ करोड एक लाख २६ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालयले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७७ ०३:१७ बिहीबार

कर संकलन