अर्थ

आन्तरिक राजश्व र यातायात कार्यालय बन्द

समुदाय स्तरमा कोरोना फैलिएको आशंकापछि बाँकेमा थप कडाई गरिने भएको छ । समुदाय स्तरमा संक्रमण फैलिने सम्भावना बढेको भन्दै बाँकेमा सार्वजनिक कार्यक्रम २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने निर्णय गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले बाँकेमा कोरोना रोकथामका लागि थप कर्डाइ गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले आन्तरिक राजश्ज कार्यालय र यातायात कार्यालयलाई समेत बन्द गर्ने निर्णय गरेको छ ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना रोकथामका लागि थप सर्तकर्ता अपाउन स्थानीय तहलाई आग्रह गरेको छ ।  

बाँकेको अधिकाश स्थानीय तहले क्वारेनटाइन र सरकारी निकायले आइसुलेसन सेन्टर हटाइसकेको छन । तर बाँकेमा संक्रमित हुनेको संख्या रोकिएको छैन । जोखिम अझै कायम रहेकोले आइसुलेसन सेन्टर र क्वारेनटाइनलाई पुर्ण रुपमा बन्द नगर्न बैठकले स्थानीय तहलाई आग्रह समेत गरेको प्रमुख जिल्ला अधिकारीले बताए ।  

बाँकेमा पछिल्लो समय सार्वजनिक कार्यक्रममा मानिसको भिड बढदै गएको थियो । लकडाउन पश्चात सामाजिक दुरी कायम नहुँदा बजारमा कोरोना संक्रमणका खतरा बढदै गएको छ । नेपालगन्जको त्रिभुवन चौकमा दैनिक ज्यालादारीका लागी आउने मदजुर र मिठाइ पसलेलाई पनि संक्रमण देखिएको थियो । बाँकेको विभिन्न सार्वजनिक स्थानमा गरिएका नमुना संकलनका क्रममा पनि कोरोना पुष्टि भएको थियो ।  

यसै साता आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आन्तरिक राजश्व र यातायात कार्यालय उच्च जोखिममा रहेको भन्दै अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नागरिकलाई बताए । उनले भने, ‘लकडाउन खुलेपछि बाँकेमा कोरोनाको संक्रमण बढदै गएको देखिन्छ । यसले संक्रमण फैलिने खतरा बढेको छ । सार्वजनिक कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टि भएपछि दुबै कार्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।’  

शनिबार आन्तरिक राजश्वका शाखा अधिकृतलाई कोरोना पुष्टि भएपछि आइतबार कार्यालय कार्यरत ५४जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षणमा एक नायब सुब्बा पनि संक्रमित भेटिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आन्तरिक राजश्वका एक कर्मचारीमा संक्रमण पोजेटिभ देखिएको हो । 

नमुना परीक्षण रुपमा आन्तरिक राजश्वका एक जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको पहिलो ब्यक्तिमै संक्रमण पुष्टि भएपछि आन्तरिक राजश्व लगायत बाँकेका सरकारी कार्यालय पनि संक्रमणको उच्च जोखिममा रहेको पुष्टि हुन्छ । यसैगरी सोमबार बसेको बैठकले घरबाहिर निस्कदा अनिवार्य रुपमा माक्स लगाउन समेत नागरिकलाई अपिल गरेको छ ।

प्रकाशित: १२ श्रावण २०७७ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App