अर्थ

सगुनले दियो ब्याज र स्कुल शुल्कमा छुट

ऋणीहरुलाई ब्याज तथा विद्यार्थीलाई शुल्क छुटबारे जानकारी गराउँदै सगुनका अध्यक्ष बाबुराम घिमिरे तथा उपस्थित सहकारीका पदाधिकारीहरु । तस्बिर : टंक/नागरिक

सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था र सगुन शिक्षा सहकारी संस्थाले लकडाउनका कारण मारमा परेका ऋणी तथा विद्यार्थीका अभिभावकलाई छुट गरेको छ । सगुन बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधीमा संस्थाको ऋण लगानी, असुली र छुट सम्बन्धी कार्यविधि २०७७ नै तयार पारेर ब्याज हर्जाना पूरै छुट तथा नियमित ब्याज बुझाउने ऋणीलाई ब्याजको १२ प्रतिशतसम्म छुट गरेको छ । लकडाउन सूरु भएको चैतदेखि असारसम्म ४ महिना नियमित किस्ता र ब्याज बुझाउनेलाई १२ प्रतिशत, नियमित ब्याजमात्र बुझाउनेलाई १० प्रतिशत तथा चार महिनाको किस्ता र ब्याज असार मसान्तभित्र एकमुष्ट तिरेका ऋणीलाई ब्याजको ६ प्रतिशत छुट फिर्ता गरिएको कार्यकारी अध्यक्ष बाबुराम घिमिरेले जानकारी दिए ।  

‘लकडाउनका कारण मारमा परेका ऋणीलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्धेश्यले कार्यविधि नै बनाएर छुट गरिएको हो’, घिमिरेले भने, ‘निक्षेपर्तालाई तोकिएको सम्पूर्ण ब्याज दिईने भएकाले ऋणको सम्पूर्ण ब्याज छुट गर्न सक्ने अवस्था रहेन ।’ १० हजार ५४५ जना शेयर सदस्य रहेको सगुनले असार मसान्तसम्म ९९ करोड ७४ लाख ६ हजार ६९३ रुपैयाँ बचत संकलन तथा ८६ करोड ९२ लाख १२ हजार ५५३ रुपैयाँ ऋण लगानी गरेको छ ।

त्यस्तै सगुन शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित सगुन शिक्षा आवासीय विद्यालय हरिवनले विद्यार्थीहरुलाई नयाँ शैक्षिक शत्र सुरु भएयता बैशाखदेखि असारसम्म ३ महिनाको शुल्क छुट गरेको छ । विद्यालयमा ९१५ जना विद्यार्थी अध्ययनरत रहेकाले जम्मा ४८ लाख ४४ हजार ७०० रुपैयाँ छुट भएको सगुन शिक्षा सहकारीका समेत अध्यक्ष रहेका बाबुराम घिमिरेले जानकारी दिए । त्यस्तै शिक्षक कर्मचारीलाई भने ३ महिनाको आधारभूत पारिश्रमिक दिईएको छ । ६२ जना शिक्षक कर्मचारी रहेकाले उनीहरुलाई ३ महिनाको पारिश्रमिक बापत २९ लाख २५ हजार ६६० रुपैयाँ विद्यालयले बहन गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

गत शैक्षिक शत्र अन्तर्गत चैतमा परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्नुपर्नेमा लकडाउनका कारण नियमित हुन नसकेपनि शिक्षक/कर्मचारीलाई विद्यार्थीको घरघरमा पठाएर प्रश्नपत्र दिँदै ‘अभिभावक नै निरीक्षक अनि घर नै परीक्षा केन्द्र’ को अवधारणा अनुसार सबै विद्यार्थीको परीक्षाफल नै प्रकाशित गरिसकिएको विद्यालयले जनाएको छ ।

२०७१ सालमा स्थापना भएको सगुनले नयाँ शैक्षिक शत्रदेखि कक्षा ११ समेत सञ्चालन गर्ने अध्यक्ष घिमिरेले जाजकारी दिए । ‘सहकारीको शेयर सदस्यका बालबालिकाको मासिक शुल्कमा १० प्रतिशत तथा सगुन शिक्षा सहकारीको शेयर खरिद गरेका अन्य सहकारी संस्थाका शेयर सदश्रयका बालबालिकालाई ५ प्रतिशत छुटको व्यवस्था समेत मिलाईएको छ’, अध्यक्ष घिमिरेले भने, ‘कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई १ वर्षमा कम्तिमा २ महिनासम्मको इन्टर्नसिप सगुन बचत तथा ऋण सहकारी संस्थामा गर्न लगाउने र त्यस अवधीमा विद्यार्थीलाई खाजा खर्च उपलब्ध गराउने व्यवस्था समेत मिलाएका छौं ।’

हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले सगुन बचत तथा ऋण सहकारी संस्था एवं सगुन शिक्षा सहकारी संस्थाले लकडाउनबाट मारमा परेका ऋणीलाई ब्याजमा तथा विद्यार्थीका अभिभावकलाई शुल्कमा छुट गरेर सह्रानीय कार्य गरेको भन्दै प्रशंसा गरे । ‘अफ्ठ्यारो परिस्थितीमा सगुनबाट ऋणी र विद्यार्थीका लागि अभिभावकत्वको भूमिका निर्वाह भएको छ’, मेयर प्रसाईंले भने, ‘मुलुकको समृद्धिका लागि अबका दिनमा समग्र समाज नै सहकारी मार्फत एकजुट हुनु जरुरी छ ।’

प्रकाशित: ११ श्रावण २०७७ १२:०४ आइतबार

छुट ब्याज र स्कुल शुल्क