अर्थ

बजेटमा लापरबाही : रोल्पामा १ अर्ब ४२ करोड फ्रिज

रोल्पा सदरमुकाम लिवाङ ।

अघिल्लो आर्थिक वर्षमा ७३ करोड ८१ लाख ८१ हजार बजेट फ्रिज भएको रोल्पामा २०७६/०७७ मा १ अरब ४२ करोड १७ लाख ४० हजार ६ सय २२ रुपैयाँ बजेट फ्रिज भएको छ । चालु र पुजिगत गरि रोल्पामा संघ र प्रदेश सरकार अन्र्तगतका कार्यालयमा आएको ६ अर्ब ५८ करोड ९५ हजार २ सय ४३ रुपैयाँ बजेटमा ५ अर्ब १५ करोड ८३ लाख ५४ हजार ६ सय २१ मात्र अन्तिम निकासा भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले चालु तर्फ ९५.३८ प्रतिशत बित्तीय प्रगती गरेको भए पनि पुजिगत तर्फ २७.१० प्रतिशत मात्र प्रगती गरेको तथ्यांकले देखाएको छ । त्यसैगरि प्रदेश सरकार मातहतका कार्यालयले चालु तर्फ ७३.६८ प्रतीशत बित्तीय प्रगती गरेका छन् भने पुजिगत तर्फ ५१.८३ प्रतिशत मात्र प्रगती भएको देखिन्छ ।

पुजिगत शिर्षकमा संघ तर्फ आएको ९५ करोड ७२ लाख ७५ हजार बजेट मध्य २५ करोड ९३ लाख ९९ हजार ८ सय १५ अर्थात २७ प्रतिशत मात्र खर्च गरिएको छ । जिल्लामा रहेको ठूलो आयोजना सहिद मार्ग सडक आयोजनाको मात्रै २९ करोड बढि बजेट फिर्ता गएको छ । ३७ करोड ९९ लाख ९९ हजार बजेट रहेकोमा ८ करोड ६४ लाख ४४ हजार ४ सय २० रुपैयाँ मात्र खर्च भएको हो ।

त्यसैगरि, अर्को ठूला आयोजना ग्रामिण सडक सञ्जाल सुधार आयोजनाको ३४ करोड ५७ लाख बजेट रहेकोमा १ करोड ७३ लाख १५ हजार ९ सय २५ रुपैयाँ मात्र खर्च भएको छ । कार्यालयहरुले समयमा काम नगरिदिँदा जिल्लामा आएको यति ठूलो रकम फ्रिज भएको स्थानीयको गुनासो रहेको छ ।

प्रदेश तर्फको चालु बजेट ७६ करोड ११ लाख २३ हजार रहेकोमा ५६ करोड ७ लाख ७६ हजार ६ सय ७४ रुपैयाँ खर्च भएको छ । प्रदेश तर्फकै पुजिगत बजेट ६८ करोड ६७ लाख ७८ हजार रहेकोमा ३५ करोड ५९ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ मात्र खर्च भएको छ । संघीय र प्रदेश सरकारका मातहत कार्यालयले गतिलोसंग काम नगरे जस्तै स्थानीय तहहरुले सन्तुष्ट हुने खालका कार्यक्रम गरेका छैनन् । उनिहरुले कति रकमको काम गरे र कति रकम फ्रिज गरे भन्ने तथ्याङ्क आएको छैन ।

मुलुकमा गणतन्त्र आयो, चुनाब भयो, गाउँमा बजेट चलाउने अधिकारसहितको सरकार छ तर पनि आर्थिक वर्ष सुरु भएको ११ महिना बितिसक्दा समेत विकासले गति लिएको थिएन । आर्थिक वर्षको अन्तिम एक महिना बाँकी रहँदा समेत रोल्पामा कुनै पनि सरकारी निकायले गतिलोसंग काम गरेका थिएनन् ।

गत आर्थिक वर्ष ११ महिनाको अवधिमा पुजिगत तर्फ केन्द्र सरकारले दिएको कुल बजेटको १५.०९ प्रतिसत र प्रदेश सरकारले दिएको कुल बजेटको १९.५१ प्रतिशत मात्र निकासा भएको थियो । तर अन्तिम एक महिनामा केन्द्र सरकारको २७.१० प्रतिशत र प्रदेशको ५१.८३ प्रतिशत खर्च देखिएको छ ।

केन्द्र सरकारको ९५ करोड ७२ लाख ७५ हजार बजेट मध्य १३ करोड ८७ लाख १२ हजार ९ सय ९० रुपैयाँ मात्र निकासा भएको थियो । प्रदेश तर्फको पुजिगत बजेट ६८ करोड ६७ लाख ७८ हजार बजेट रहेकोमा १५ करोड ८४ लाख १४ हजार ४ सय ५३ रुपैयाँ मात्र निकासा भएको थियो ।  

आर्थिक वर्ष २०७५/०७६ मा रोल्पाका दश स्थानीय तहमा ६ करोड २० लाख ७८ हजार ५ सय ६५ रुपैयाँ रकम बेरुजु देखिएको छ भने आर्थिक वर्ष २०७४/०७५ को ९ करोड २१ लाख १५ हजार ५ सय २९ रुपैयाँ बाँकी बेरुजु देखिन्छ ।

एक कर्मचारीका अनुसार समयमा काम नहुनु, कर्मचारीको फेरबदल हुनु, जनप्रतिनिधिहरु गैर जिम्मेवार हुनु बजेट फ्रिज जानुका मुख्य कारण हुन । त्यसो त असारे विकासले पनि बजेट फ्रिज हुनुमा मुख्य भूमिका खेलेको छ ।

प्रकाशित: ३ श्रावण २०७७ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App