बन्दाबन्दी (लकडाउन) पछि खुलेको सेयर बजारमा पहिलो दिन नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ ।
कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । नेप्सेमा चार प्रतिशत (करिब ५० अंक)ले घटेर २० मिनेट कारोबार स्थगित भएपछि बजार फर्किएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले सेयर बिक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो । सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँबराबरको ९ लाख ७० हजार ७६ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतका कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् ।
यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बिमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका सेयरधनीले झन्डै १० प्रतिशतले गुमाएका छन् ।
जीवन बिमा, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जिवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटेल, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचुअल फन्ड समूहका सूचकहरु भने घटेका छन् ।
सोमबारदेखि खुलेको नेप्से बजार बन्दाबन्दी (लकडाउन)अघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समयअनुसारको व्यवस्थाबमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो ।
लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुला गरिएको थियो । तर, दुई दिन नै निर्धारित समयअघि नै नकारात्मक सर्किट लागेर कारोबार भन्द भएपछि तेस्रो दिनदेखि कारोबार बन्द गरिएको थियो । त्यसयता अनिश्चित बनेको सेयर बजार असार १५ गते (आज)देखि पुरानै व्यवस्थाअनुसार खोलिएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले लकडाउनभन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो, सोहीअनुसार नै खोलिएको बताए । उनले लकडाउनभन्दा पहिले परीक्षणका रूपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खुला गरिएको जानकारी दिए । लकडाउनअघि परीक्षणका रूपमा एक घण्टा थप गरी दिउँसो ४ बजेसम्म बजार सञ्चालन गरिएको थियो ।
अब दोस्रो बजार कुनै पनि अवस्थामा बन्द नहुने
सिइओ साउदले सार्वजनिक सवारी सधान नचलेको, बैंक पनि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने र निजी सवारीसधान जोर–बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणका रूपमा राखिएको एक घण्टा हटाइएको बताए । उनले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणका रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने बताए ।
उनले दोस्रो बजार अब कुनै पनि अवस्थामा बन्द नहुने दाबीसमेत गरे । दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने उनको भनाइ छ ।
नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले सेयर कारोबार पछिको रकम अनलाइनमार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताए ।
प्रकाशित: १५ असार २०७७ ०९:५५ सोमबार