सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि स्वास्थ्य र कृषिमा बजेट बढाएकाे छ । कृषिमा ६० करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्यमा ३ अर्ब २६ लाख ६६ लाख विनियोजन गरेको छ ।
कोभिड–१९ ले बेरोजगार भएकालाई कृषि क्षेत्रमा स्वरोजगार बनाउन र १५ करोड बजेट विनियोजन गरिएको छ । कृषि लागत घटाउन, मल बिउ तथा भन्सार शुल्कमा सहुलियतमा ६ करोड, कृषि सिँचाइ तथा सिँचाइका लागि कृषि मिटर अनुदानमा ३ करोड, कृषि बाली बिमा तथा प्रिमियमान र ६ करोड, पशु रोग नियन्त्रण तथा खोपमा ४ करोड, साना डेरी उद्योगतर्फ १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । सञ्चालनमा रहेका दुग्ध पदार्थ कार्यक्रम निरन्तरमा २ करोड, पशु शिक्षा, कृषि यान्त्रीकरणमा ५ करोड, विभिन्न स्थानमा कोल्ड च्याबरतर्फ ५ करोड, पशुपालन तथा मत्स्यपालनमा ५० प्रतिशत अनुदान दिन २ करोड बजेट विनियोजन गरिएको छ ।
यसैगरी, कैलालीको टीकापुर र गोदावरी नगरपालिकामा पशु बधशाला बनाउन १ करोड ४० लाख, एक तह, एक कृषि उपच भण्डारण तथा एकीकृत कृषि विकासमा ८ करोड ९० लाख, सामूहिक गौशाला निमार्णका गर्न १० करोड, भूमिहीनका ८० घर निमार्ण गर्न ५ करोड, कैलाली र कञ्चनपुरमा १ हजार स्यालो ट्युबेल बनाउन र ५ करोड, पशु नश्ल सुधारमा र २ करोड बजेट छुट्याइएको छ ।
गुठीका जग्गा व्यावसायिक उपयोगका लागि र २ करोड, उखुखेतीको व्यावसायिकताका लागि उपकरण व्यवस्था गर्न १० करोड, सबै जिल्लामा एकीकृत बजार विस्तार र निरन्तरता गर्न ५ करोड ४० लाखमध्ये पहाडका ७ जिल्लामा कृषि उत्पादन र प्रवद्र्धनका लागि ५ करोड, बीउ स्रोत केन्द्र तथा चिस्यान केन्द्रमा १० करोड, व्यावसायिक फलपूmल खेतीका लागि ३ करोड, खाद्य तथा पोषणका लागि कुखुरापालनमा २ करोड, कृषि उद्यम विकास र पशुसेवा तालिम केन्द्रमा २ करोड ५० लाख, व्यवसाय दुग्ध प्रवर्द्धन, बाख्रापालनलगायतका लागि २० करोड, दुग्ध ढुवानी तथा चिस्यानमा ४ करोड र मत्स्य विकासमा १५० हेक्टरमा माछा पोखरी निमार्ण गर्न र ६ करोड बजेट विनियोजन भएको छ ।
प्रदेश सभाषद् कृष्ण चौधरीले कृषिलाई प्रोत्साहन हुने खालका कार्यक्रम बढ्नु सकारात्मक भएको बताए । ‘कृषि नै हाम्रो आधार हो भन्नेमा बजेट देखिएको छ,’ उनले भने, ‘बजेट छुट्याइएको छ । अब कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ ।’
आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले ३३ अर्ब ३८ करोड १३ लाख ४८ लाखको बजेट सोमबार प्रदेशसभामा प्रस्तुत गरेका थिए । चालु खर्च १४ अर्ब १८ करोड ७८ लाख ४८ हजार रहेको छ भने पुँजीगत खर्च १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार छुट्याइएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन २ अर्ब १३ करोड ५० लाख र वित्तीय व्यवस्थापनमा ३० करोड विनियोजन गरिएको छ ।
आम्दानीतर्फ आन्तरिक आय रु ६० करोड ७० लाख, राजस्व बाँडफाँड ७ अर्ब ८७ करोड ३७ लाख, समानीकरण अनुदान ८ अर्ब ७ करोड ६८ लाख, बचत १० अर्ब ५९ करोड १० लाख, वित्त आयोगबाट ७ करोड, प्रदेश सरकारको खर्च नभई बचत रहेको १० अर्ब ५९ करोड ५६ लाख, सङ्घीय सरकारबाट सःसर्त अनुदान ४ अर्ब ३९ करोड ३५ लाख, समपूरक अनुदान १ अर्ब २६ करोड २९ लाख, विशेष अनुदान ४० करोड ५० लाख र अन्य साझेदार निकायको बजेट प्रणालीमार्फत परिचालन हुने सहायता रकम १ करोड ८९ लाख हुने अनुमान गरिएको छ ।
बजेटमा –कोभिड १९ लाई लक्षित गरी टीकापुर अस्पतालसहित सात वटा जिल्ला अस्पतालमा १० शय्याको भवन निर्माण, औजार उपकरणका लागि ५ करोड १५ लाख छुट्यायाइएको छ । सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर स्थापना एवं सञ्चालन गर्न र टीकापुर अस्प्तालमा सरुवा रोग अस्प्ताल र अनुसन्धान केन्द्र स्थापनाका लागि ३ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, कोभिड–१९ लगायतका महामारी रोकथामका लागि टीकापुरसहित सात वटा अस्पतालका लागि ७ करोड ५५ लाख बजेट छुट्याइएको छ । लम्कीस्थित सामुदायिक अस्पताललाई १ करोड बजेट विनियोजन गरेको छ ।
भत्ता कटौती
सुदूरपश्चिम प्रदेशले कोरोना रोगको रोकथामका सन्दर्भमा अग्रपंक्ति रहेर काम गर्ने कर्मचारीबाहेक अरुलाई प्रदान गरिने प्रोत्साहन, अतिरिक्त समय, बैठक, जोखिम भत्ता २०७७ साउन १ देखि खारेजगरेको छ ।
प्रकाशित: २ असार २०७७ ०९:०१ मंगलबार