अर्थ

संरक्षणका लागि सिस्नु खेती गर्दै स्थानीय तह

केही वर्ष अघिसम्म सिस्नुलाई एउटा वनस्पतिको दृष्टिकोणले मात्र हेर्ने गरिन्थ्यो । गाउँघरको बारी, डिल, काल्ला, पाखामा फल्ने सिस्नुको खासै महत्व थिएन । थोरैले मात्र तरकारीको लागि प्रयोग गर्थे । धेरैले त घाँसदाउरा गर्दा सिस्नोले पोल्ने डरले सिस्नोलाई फाँडेर फ्याल्ने गर्थेे । तर अहिले मानिसहरुले यसको महत्व बुझेर यसलाई सिस्नु फाँडेर फाल्नुको साटो संरक्षण गर्न थालेका छन् । केही ठाउँमा भने यसैलाई आम्दानीको श्रोत बनाएका छन् ।  

जिल्लाका दुई स्थानीय तह रोशी र तेमाल गाउँपालिकामा सिस्नुको संरक्षणका लागि व्यवसायिक सिस्नु खेती सुरु गरेका छन् । अहिले रैथाने खानामा मानिसहरुको आर्कषण बढ्दै गएकाले आफ्नो वार्षिक निति तथा कार्यक्रममा कृषि अन्र्तगत रैथाने खाद्यन्न संरक्षणलाई प्राथमिकतामा राखेको रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले बताइन् । उनका अनुसार कार्यक्रमले किसानलाई कृषिमा आत्मनिर्भर गराउने लक्ष्य राखेको छ । यो कार्यक्रमप्रति कृषकहरुले चासो राख्नुभएको छ । लक डाउन अघि नै ८ जना कृषकले व्यवसायिक रुपमा सिस्नु खेती सुरु गरेको उनले जानकारी दिइन् ।  

विभिन्न मुलुक र नेपालमै पनि सिस्नुको माग बढ्दै गएकाले सिस्नुलाई व्यवसायिक खेती गरेर किसानको आम्दानीको स्रोत बढाउने कार्यक्रम रहेको उपाध्यक्ष बर्तौलाले बताइन् ।  ‘सिस्नु औषधीय गुणले भरिपूर्ण भएकाले यसको माग स्वेदेशदेखि विदेशसम्म बढ्दै गएको  छ,’उनले भनिन्,‘गाउँपालिकाले गरेको अध्ययन अनुसार गाउँपालिकामा सिस्नु खेती गर्ने उपयुक्त ठाउँहरु धेरै भेटिएपछि कार्यक्रम सुरु गरेका हौँ ।’

कृषकहरु यसतर्फ आर्कषण बढेसँगै गाउँपालिकाले सिस्नु खेती गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । अहिले लक डाउनका कारण यो कार्यक्रमलाई बिस्तार गर्न नसकिएकाले लक डाउनपश्चात निरन्तरता दिने गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले बताइन् । उनका अनुसार अहिले सिस्नु खेती कार्यक्रमको प्रारम्भिक चरणमा गाउँपालिकाको वडा नं ९ को मंगलटार र रजबास, वडा नं २ र ३ को शिखरआम्बोटे, वडा नं ४ र ५को सिसाखानीमा सिस्नु खेती गर्ने तयारी भएको छ । 

बिस्तारै गाउँपालिकाका अरु ठाउँमा पनि यो कार्यक्रम बिस्तार गरिनेछ । त्यस्तै तेमाल गाउँपालिकाको वडा नं २ स्थित चुखामा पनि व्यवसायिक सिस्नु खेती सुरु गर्ने तयारी भएको छ । उक्त ठाउँमा पाइलटिङको लागि प्रयोगमा नआएका जमिनमा सिस्नु खेती गर्न लागिएको गाउँपालिकाले जनाएको छ । लक डाउनका कारण कार्यक्रम बिस्तार हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

दुई स्थानीय तहमा सञ्चालन भएको सिस्नुखेती कार्यक्रम शान्ती जनआर्दश सेवा केन्द्रको साझेदारीमा सञ्चालन भइरहेको छ । सिस्नु अहिले गाउँघरका लोप हुने लागेको कुरालाई मध्यनजर गर्दै गाउँपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएकोे कार्यक्रमको साझेदारी संस्था शान्ती जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंख बुढा लामाले बताए । उनका हाम्रै गाउँघरमा प्रयोगमा नआएको पाखा पखेरामा सिस्नु लगाएर राम्रै आम्दानी गर्न सकिने भएकाले नै कार्यक्रमको परिकल्पना गरिएको हो । सिस्नु खेती गर्न किसानले धेरै मिहेनत गर्न नपर्ने भएकाले पनि कृषकहरुको यसमा आकर्षण बढ्दै गएको उनले बताए । उनका अनुसार बिना  लगानी थोरै मिहेनतमै धेरै आम्दानी गर्न सकिने भएकाले यसमा महिलाहरुको आकर्षण बढि देखिएको छ ।

सिस्नु रानी र साधारण लोकल रैथाने गरि दुई जातका हुन्छन् । रैथाने सिस्नुको लोकप्रियता बढेकाले दुवै स्थानीय तहमा रैथाने सिस्नु लगाइएको उनले जानकारी दिए । कार्यक्रमको लागि १० हजार सिस्नु विरुवा रोपिने लामाले बताए ।उक्त साझेदारी कार्यक्रमको लागि गाउँपालिकाबाट १० लाख र शान्ती जनआर्दश सेवा केन्द्रबाट १० लाख गरि कुल २० लाख बजेट बिनियोजन गरिएको छ । उनका अनुसार सिस्नु खेतीबारे कृषक दिनुपर्ने तालिम अहिले लक डाउनका कारण सञ्चालन गर्न सकिएको छैन । लक डाउनपश्चात कृषकलाई तालिम दिने योजना बनाइएको छ । जिल्लाको दुई स्थानीय तह सञ्चालन भएको व्यवसायिक सिस्नु खेती कार्यक्रम, तेमालमा उत्पादन क्षेत्र बनाइने र रोशीमा उत्पादन र प्रशोधन क्षेत्र दुर्व बनाइने केन्द्रको जानकारी छ ।

समुन्द्री सतहबाट २ सय मिटरदेखिको चिस्यानयुक्त माटोमा सिस्नु फस्टाउने भए पनि ७ सयदेखि एक हजार ३ सय मिटरको उचाइमा पनि सिस्नु खेती गर्न सकिन्छ । खेतीकै रूपमा लगाउने हो भने फलफूलको बगैँचाभित्र लगाएर दोहोरो आम्दानी गर्न सकिन्छ । प्रत्यक्ष घाम नलाग्ने ठाउँमा राम्रोसँग सप्रिने हुँदा सेपिलो वा अन्य बाली नसप्रने ठाउँमा पनि सिस्नु लगाउन सकिन्छ ।  

सिस्नु स्वास्थ्यका लागि फलदायी
पछिल्लो समय सिस्नु औषधीको रुपमा पनि प्रयोग हुन थालेको छ । यसले स्वास्थ्यमा धेरै फाइदा गराउने भएकाले सिस्नुको लोकप्रियता बढ्दै गएको छ । सिस्नुमा पाइने क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरन जस्ता तत्व पाइने भएकाले धेरै फाइदाजनक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार सिस्नु मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ । गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । सिस्नोले उच्च रक्त नियन्त्रण गर्न मद्दत गर्छ । यसका साथै प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ । छाला र कपालका लागि अति नै राम्रो मानिन्छ । कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ ।  

यसले अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ । नयाँ रगत बन्नका लागि पनि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ । नयाँ रगत बन्नको लागि पनि सिस्नोले धेरै भुमिका खेलेको हुन्छ । वृद्धवृद्धामा देखिने विभिन्न समस्या हल गर्न मद्दत गर्ने स्वास्थ्यकर्मीको जानकारी छ । त्यस्तै  पिसाब संक्रमण हुनेहरुले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ । शरीरमा एलर्जी हुनेहरुका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ ।  

 

 

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ १४:३७ बुधबार

संरक्षण स्थानीय तह सिस्नु खेती