अर्थ

खराब मौसमले किसान मर्कामा

काठमाडौं - बैशाखको पहिलो हप्तादेखि नै बिग्रिएको मौसमका कारण मुलुकको कृषि क्षेत्र मर्कामा परेको छ । निरन्तरको झरीसहित आएको हावाहुरी र असिनाका कारण तरकारी, भित्र्याउनै लागेको बाली, फलफूल लगायतमा क्षति पुराएको हो ।  

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मुख्य गरि बाग्मती र गण्डकी प्रदेशमा बढि क्षति पुगेको जानकारी आएको बताएको छ । ‘गण्डकी र वाग्मती प्रदेशमा क्षति बढि छ ,अन्य वालीमा भन्दा पनि तरकारी र फलफूलमा असर बढि परेको प्रारम्भिक जानकारी छ,’ मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले भने,‘लकडाउनका कारण तथ्यांक संकलन गर्न गाह्रो परेको छ, हामी सबै प्रदेशबाट तथ्यांक मागेका छौं ।’ प्रवक्ता केसीले पानीले भन्दा पनि असिना र हावाहुरीको कारणले क्षति बढि भएको बताए ।

 उनले भने,‘पानी कै कारण समयमै बाली लगाउने कुरामा गाह्रो भएको हुनसक्छ तर त्यस भन्दा बढि असिनाले बाली स्याहार्ने समयमा परे पछि समग्र उत्पादन र फलफूलको उत्पादनमा पनि असर पुग्ने देखिन्छ ।’ उनले क्षतिको विवरणका आधारमा थप योजना बनाइने भए पनि प्रभावित किसानलाई राहत दिन संघसँग तत्काल कुनै योजना नभएको बताए । उनले भने,‘हामीसँग त्यस्तो योजना छैन ,स्थानीय र प्रदेश सरकारले नै त्यसको व्यवस्थापन गर्छन ।’  

मन्त्रालयले अहिलेसम्म गण्डकी प्रदेशबाट मात्र बिस्तृत तथ्यांक प्राप्त भएको जनाएको छ । मन्त्रालयका बरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा १५ अर्व दुई करोड ७४ लाख भन्दा बढिको क्षति भएको तथ्यांक प्राप्त भएको जानकारी दिए । धान, मकै, गहुँ, दलहन बाली, तरकारी, फलफूल लगायतका १८ बालीको उत्पादनमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको तथ्यांक अनुसार विपद्बाट २३ हजार एक सय ५३ हेक्टरमा क्षति पुराएको छ । कुल एक लाख २७ हजार आठ सय ८३ मेट्रिक टन अनुमानित उत्पादन क्षमता मध्येमा २९ हजार तीन सय ७९ मेट्रिक टन  

क्षति भएको मन्त्रालयले जनाएको छ । जसबाट ४० हजार चार सय ३४ घरधुरी किसान मर्कामा परेका छन् ।  

गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी ज्योती क्षेत्रीले गण्डकी प्रदेशका म्यादी, पर्वत, बाग्लुङ र स्याङ्जामा बढि क्षति पुराएको बताइन् । उनले प्रभावित किसानलाई मन्त्रालयले आकस्मिक प्याकेजको रुपमा विनियोजन गरिएको रकमबाट किसानलाई राहत उपलब्ध गराउन शुरु गरिएको जानकारी दिइन् । उनले भनिन्,‘थप सहयोगको लागि कुनै निर्णय भएको छैन, अहिले आकस्मिक प्याकेजको लागि तीन करोड बिनियोजन गरिएको थियो, त्यसबाटै राहत उपलब्ध गराइएको छ, अहिले सम्म एक करोड ४० लाख माथि राहत सहयोग उपलब्ध गराइएको छ ।’

अर्को धेरै क्षति भएको क्षेत्रको रुपमा हेरिएको बाग्मती प्रदेशले तथ्यांक संकलन हुँदै गरेको जनाएको छ । ‘ठ्याक्कै हामीसँग पनि तथ्यांक आइसकेको छैन , जिल्ला तथा स्थानीय तहले त्यसको संकलन गरिरहेकाछन्,’बाग्मती प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता शरण कुमार पाण्डेयले भने,‘बाग्मती प्रदेशमा मुख्य गरि तरकारी बालीमा क्षति भएको छ,केही स्थानमा पोल्ट्री फार्म पनि असर गरेको भन्ने जानकारी आएको छ । दैनिक रुपमा थपिँदै गएको अवस्थाले पनि एकिन हुन सकेको छैन ।’ उनले  तरकारीमा आधुनिक प्रविधिको प्रयोग गरेका किसानकोमा क्षति नभएको भए पनि खुला स्थानमा खेती गर्दै आएका किसान मर्कामा परेको बताए ।

 प्रवक्ता पाण्डेयले क्षतिको पुर्ण विवरण आए पश्चात मात्रै किसानलाई राहत सहयोगको योजना अगाडि बढ्ने बताए ।‘राहतमा बिशेष गरि विउमा अनुदान दिने कुरा नै हो , मकै, गहुँ, कोदो, आलु र तरकारी बालीको विउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम अगाडि सारेका छौं,’ उनले भने,‘खुला ठाउँमा तरकारी खेती गरेका किसानलाई हाइटेकमा जान सहयोग पुग्ने गरि अवस्था हेरेर ८० प्रतिशतसम्म सहयोग गर्ने योजना छ ।’

प्रदेश २ मा प्रदेशका आठै वटा जिल्लाबाट क्षतिको विवरण आइसकेको र त्यसको मुल्यांकन हुन बाँकी रहेको प्रदेश—२ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सू्चना अधिकारी रजनीश मिश्रले जानकारी दिए । ‘आएको तथ्यांकको मुल्यांकन हुँदै छ, यसका आधारमा राहतका प्याकेजमा पनि छलफल होला,’ उनले भने,‘यस अघि नै कोभिड १९ को प्रभावका परेका किसानलाई राहत घोषणा भएको छ, त्यही निर्णयमा टेकेर यसका प्रभावितलाई समेट्न सकिन्छ की भन्ने छलफलमा छौं ।’ उनले प्रदेश सरकारले यस अघिनै कोभिड १९ बाट प्रभावित किसानलाई ४ महिना व्याज अनुदान, प्रति कठ्ठा सात सय ५० रुपैँया नगद, फलफूलको क्षतिमा एकमुष्ठ २२ हजार नगद अनुदान लगायतका प्याकेज ल्याएको जानकारी दिए । उनले भने,‘किसानलाई अनुदान सहयोग उपलब्ध गराउन मापदण्ड बनाएर आठै जिल्लामा प्रति जिल्ला तीन करोड ७५ लाखका दरले पठाइएको छ ,सोही अनुसार वितरण हुन्छ ।’

प्रदेश—२ मा सबै भन्दा बढि क्षति भएको बारा जिल्लामा १५ हजार दुई सय हेक्टर क्षेत्रमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । बारामा सबै भन्दा बढि तरकारी बाली ५४ सय ४३ हेक्टर, मकै चार हजार २८, गहुँ बाली ३५ सय ३४ र फलफूल २१ सय ९६ हेक्टरमा क्षति पुगेको प्रमुख यादवले बताए । 

प्रकाशित: २ जेष्ठ २०७७ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App