अर्थ

प्रदेश २ का किसानलाई राहत : चार महिनाको ब्याजमा अनुदान

बारामा शुक्रबार राति आएको हावाहुरी र असिनाले क्षति पु-याएको मकै खेती । हावाहुरी र असिनाले किसानको गहुँ, मकै र खुर्सानी, करेला, बोडी, काँक्रो, लौका, रामतोरिया, केरा लगायतमा ठूलो क्षति पु-याएको छ। तस्बिर : उपेन्द्र यादव-नागरिक

जनकपुरधाम, - प्रदेश २ सरकारले किसानलाई चार महिनाको ब्याजमा अनुदान दिने भएको छ । कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले कृषि क्षेत्रमा नराम्रो असर पारेको भन्दै सरकारले कृषकलाई अनुदान दिन लागेको हो । 

गत वर्ष चैत मसान्तदेखि असारसम्म कृषि प्रयोजनका लागि किसानले लिएको ऋणमा अनुदानका लागि प्रदेश मन्त्रिपरिषद्बाट राहत तथा अनुदान प्रवाह निर्देशिका पारित भएको छ । निर्देशिका अनुसार चार महिनाको कुल ऋण रकम पाँच लाखसम्म अधिकतम १२ प्रतिशत ब्याजदर भएको हकमा शतप्रतिशत सरकारले तिरिदिने र १२ प्रतिशतभन्दा बढीको ब्याज रकम ऋणी स्वयंले बेहोर्नेुपर्नेछ । 

पाँच लाखभन्दा माथि १५ लाखसम्म ब्याजदरको ५० प्रतिशत वा ६ प्रतिशतसम्म अनुदान सरकारले उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । १५ लाखाभन्दा माथि ३० लाखसम्म ब्याजदरको ४० प्रतिशत वा ब्याजदर पाँच प्रतिशतले हुन आउने रकम सरकारले तिरिदिने बताइएको छ । 

यस्तै ३० लाखभन्दा माथि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्धारण गरेबमोजिम मन्त्रालयले यथार्थ विवरण आंकलन गरी बढीमा पाँच प्रतिशतसम्म ब्याज अनुदानका लागि सिफारिस गर्न सक्ने मन्त्रिपरिषद्बाट पारित भएको निर्देशिकामा उल्लेख छ ।

कृषि फार्मलाई कुनै बैंकबाट कृषि प्रयोजनका लािग प्रवाह भएको ऋणको ब्याजमा प्रदेश सरकारबाट दिइने अनुदानमा यो सुविधा प्रयोग गरिने निर्देशिकामा उल्लेख छ । 

प्रदेशका आठवटै जिल्लाको साना किसान फर्मले कृषि प्रयोजनकालागि सहकारी विकास बैंक, वाणिज्य बैंक, लघुवित संस्थामार्फत लिएका ऋणको हकमा सम्बन्धित बैंक वा संस्थाको चैतदेखि असारसम्मको ब्याजमा अनुदान दिइने प्रदेश २ भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: ७ वैशाख २०७७ ०३:२६ आइतबार

प्रदेश_२ किसान ब्याज अनुदान