अर्थ

सिलिन्डर अभावले ग्यासका बुलेट थन्किए

धादिङ थाक्रे गाउँपालिका वडा नं ७ को जुँगेखोलामा रहेको श्री ग्यास उद्योग परिसरमा थन्किएका ग्यास ढुवानी बुलेट । तस्बिर: सरिता-नागरिक

धादिङ, - सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् । 
धादिङका १३ ग्यास उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन् । यी उद्योगले सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउँछन् । ग्यासका बुलेट आउने तर बजार पठाइएका सिलिन्डर नआउँदा समस्या परेको उद्योग सञ्चालकहरुको भनाइ छ । 

थाक्रे गाउँपालिका वडा नं ७ जुँगेखोलामा रहेको श्री ग्यास उद्योगले काठमाडौं र धादिङमा एक लाख एक हजार चार सय ६४ सिलिन्डर बजार पठाएको छ । ती सबै उद्योगमा नआएकाले बुलेटहरु थन्किएको उद्योगका स्टोरकिपर श्यामकृष्ण उप्रेतीले बताए । ‘दैनिक ३५ सयदेखि चार हजार सिलिन्डर बजार पठाउने यस कम्पनीमा आएका २३ वटा ढुवानी बुलेट थन्किएको छ,’ उनले भने, ‘पृथ्वी राजमार्गमा सञ्चालित ग्यास उद्योगमा सिलिन्डर फिर्ता नभएपछि भारतबाट ग्यास ल्याउने बुलेट थन्किनुपरेको छ ।’ 

लकडाउनसँगै बजारमा अभाव भएपछि आधा सिलिन्डर ग्यास मात्रै बजार पठाउन थालिएको थियो । भएका सिलिन्डरमा आधामात्रै भर्ने सरकारी निर्देशनले बजार गएका ग्यास सिलिन्डर नै बिक्री नभएको उद्योगले बताएको छ । १४.२ केजी ग्यास भरेर पठाउने भएकोले भर्न सजिलो भए पनि आधा भर्दा पूरै समय निगरानी गर्नुपर्ने, ढुवानी खर्च र जनशक्तिको खर्च पनि उत्तिनै लाग्ने भएकोले घाटा समेत पर्ने उप्रेतीले बताए । ६ वटा बुलेट भण्डारण क्षमता भएको उक्त कम्पनीलाई मासिक दुई सय ४८ टन आयात गर्न पाउने अनुमति छ । 

राजधानी काठमाडौं र छिमेकी जिल्लालाई मुख्य बजार बनाएर पृथ्वी राजमार्गमा सञ्चालित ग्यास उद्योगहरुमा सिलिन्डर फिर्ता नभएपछि दुवानी गर्ने ६८ वटा ग्यास बुलेट धादिङमै थन्किएका छन् । जसका कारण रिफिलिङ कम्पनीले बुलेटबाट ग्यास अनलोड समेत गर्न पाएका छैनन् । बुलेट ट्यांकर खाली नहुँदा चालकहरु समेत अप्ठेरोमा परेका छन् । बजारमा लकडाउनअघि नै उपभोक्ताले ग्यासको जोहो गरेकाले आधा सिलिन्डर ग्यास नबिकेर होल्ड भएका छन् ।

बुलेट आउने, सिलिन्डर नआउने यही क्रम जारी रहे समस्या देखिने एक्लेफाँटस्थित श्रीराम ग्यास उद्योगका व्यवस्थापक मिलन कार्कीले बताए । ‘लकडाउनअघिनै ग्राहकले ग्यास जोहो गरेर राखेकाले आधा ग्यास किन्न कसैले मानेन र ती सिलिन्डर बजारमै होल्ड भए,’ उनले भने, ‘जसका कारण उद्योगमा आएका ग्यास बुलेट त्यत्तिकै थन्किनुपरेको छ ।’ चितवन कुरिनटारदेखि धादिङ नौबिसेको पृथ्वी राजमार्ग क्षेत्रमा मात्रै १९ वटा ग्यास बोटलिङ उद्योग छन् ।

बजारमा ग्यासको अभाव भएको गुनासोपछि स्थानीय प्रशासनले उद्योगमा अनुगमन पनि ग¥यो । अनुगमन गर्दा जिल्लामा रहेका १३ वटै उद्योगबाट दैनिक मागभन्दा बढी ग्यास काठमाडौं लगायत ठाउँमा वितरण गरिएको देखिन्छ । भारतबाट ग्यास बोकेर आउने बुलेटका चालकलाई कोरोना भाइरस परीक्षण गर्न अध्यागमनमै २४ घन्टा निगरानीमा राख्न थालेपछि आपूर्तिमा ढिलाइ भए पनि उद्योगले बजारमा मागेभन्दा बढी नै पठाएको उद्योग सञ्चालकहरुको भनाइ छ । 

नेपाल आयल निगमले कोटा अनुसारको ग्यास उठाउन उद्योगीलाई दबाब दिइरहेको छ । तर पूरै सिलिन्डर ग्यास बजार पठाउन नपाउँदा रिफिलिङ उद्योगहरु दोहोरो मारमा परेका छन् । धादिङका प्रत्येक ग्यास उद्योगमा सातदेखि २३ वटासम्म भारतबाट ग्यास बोकेर आएका बुलेट ट्यांकर अनलोड हुन सकेको छैन । भारतबाट पर्याप्त मात्रामा खाना पकाउने ग्यास आउने गरेको तर सिलिन्डरको अभावका कारण बजारमा आफूहरुले ग्यास पठाउन नसक्दा आएका बुलेट ट्यांकरहरु खालि गरेर समयमा नै फर्काउन नसकिएको कम्पनीको भनाइ छ । 

प्रकाशित: २ वैशाख २०७७ ०६:१९ मंगलबार

ग्यास_बुलेट सिलिन्डर_अभाव