अर्थ

चिसोले खायो कफी, किसान मर्कामा

अत्यधिक चिसो र तुसारोका कारण नछिप्पिदै सुकेर काला भएका कफीको दाना र सुक्दै गरेको बोट। तस्बिर : जनार्दन/नागरिक

गुल्मी - माघ पहिलो सातादेखि परेको झरी र तुसारोका कारण गुल्मीका कफी बगैंचा र नर्सरीमा अधिकांश कफीका बोट र बिरुवा नष्ट भएका छन्। अत्यधिक चिसोका कारण कफी अनुसन्धान कार्यक्रम, कफी विकास केन्द्र आँपचौर र कफी सुपरजोनअन्तर्गतका जिल्लामा ६० प्रतिशतभन्दा बढी कफीका बिरुवा नष्ट भएका हुन्। चिसो बढेसँगै कफीका बिरुवा तथा बोट माथिबाट सुक्दै झर्नेे, पात पहेंला हुने, नर्सरीका बिरुवाको टुप्पा सुक्ने र दानासमेत सुक्दै जाने समस्या देखिएको छ।  

विदेश निर्यात हुँदै आएको गुल्मीको कफीखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्। ‘यसअघि कहिल्यै यस्तो भएको थिएन। तर अहिले कफी पाकेर टिप्ने बेला धमाधम बोट र दाना सुक्दै गएको छ,’ रुरुक्षेत्र गाउँपालिका–१ भटड्कुवाकी कफी किसान मना भट्टराईले भनिन्। अहिले यहाँका कफी बगैंचामा ठाडै सुकेका कफीका बोट र नछिप्पिदै सुकेर झरेका कफीका दाना भुइभरी छरिएका देखिन्छन्। यसले व्यावसायिक कफी खेती गर्ने किसान मर्कामा परेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, कफी सुपरजोनअन्र्तगत गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा र प्युठानमा स्थापना गरिएका कफी ब्लग तथा नर्सरीमा पनि यस्तो प्रकोप बढी देखिएको छ।

चिसोका कारण गुल्मीलगायत पाँच जिल्लामा अधिकांश कफी नष्ट, यो वर्ष कफीको उत्पादन र गुणस्तरमा ह्रास आउने

कफी सुपरजोनअन्र्तगत स्थापना गरिएका १८ वटा नर्सरीमा रहेका एक लाख ७२ हजार बिरुवामध्ये ८० हजारभन्दा बढी बिरुवा चिसो र तुसारोका कारण नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए। ‘चिसो र तुसारोका कारण कफीमा यसपटक ठूलो क्षति बेहोर्नु परेको छ, यसले किसानलाई निराश बनाएको छ,’ काफ्लेले भने। नर्सरीसँगै कफीका नयाँ पुराना बोटसमेत मर्दै जान थालेकाले यो वर्ष उत्पादन घट्नुका साथै गुणस्तर खस्कने काफ्लेले बताए। उनले कफी नर्सरी धनिलाई चिसोबाट बचाउन सेटहाउस निर्माण र नेटको प्रयोग गर्न सुझाव दिएका छन्।   कफी विकास केन्द्र आँचौर र रुरुक्षेत्र गाउँपालिकामा स्थापना गरिएको कफी अनुसन्धान कार्यक्रम भण्डारी डाँडामा रोपिएका कफीका बोट र नर्सरीमा पनि बिरुवा मर्ने प्रकोप देखिएको छ। कफी पाक्ने अवस्थामा दानामात्र हैन बगैंचामा कफीका नयाँ र पुराना बोटसमेत सुक्दै गएको कफी अनुसन्धान कार्यक्रम गुल्मी प्रमुख कृष्णबहादुर थापाले बताए।

थापाका अनुसार यसको रोकथामका लागि सुकेका दाना टिपेर फाल्ने, सुकेका हाँगा काँटछाट गर्ने, कफीका बिरुवा र बोटमा बोडोमिश्रण छर्ने, समयमै सिँचाइ गरी गोडमेल गरेर छहारी दिनसके क्षति कम गर्न सकिन्छ। उनका अनुसार पानीसँगै परेको असिनाले  बोट र हाँगामा लागेको चोटले पनि कफीको बोट सुकेका छन्। गुल्मीमा कफीको वंश संरक्षण कार्यक्रमअन्तर्गत कफीको वृद्धि विकास र उत्पादनसम्बन्धी अनुसन्धान गर्न ३९ थरी कफी संकलन गरी रोपण गरिएको छ। जिल्लामा यतिबेला १२ वटा स्थानीय तहमध्ये हाल रुरुक्षेत्र, छत्रकोट, गुल्मी दरबार, इश्मा र मुसिकोट गरी दुई हजारभन्दा बढी किसान व्यावसायिक कफी खेतीमा लागेका छन्। गुल्मीमा अहिले एक सय ४० हेक्टर क्षेत्रफलमा वार्षिक ८० मेट्रिकटन कफी उत्पादन हुँदै आएको छ। जैविक मल प्रयोग तथा अर्गानिक प्रविधिबाट उत्पादन गरिने गुल्मेली कफी हाल जापान, कोरिया, अस्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुँदै आएको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App