अर्थ

कोरोनाको असरले अन्तर्राष्ट्रिय उडान कटाैती

फाइल तस्बिर

काठमाडौं – कोरोना भाइरस (कोभिड– १९) को त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ। सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी अप्रिल ३० (वैशाख १८) सम्मका लागि नेपाल आउने सम्पूर्ण देशका पर्यटकसहित गैरआवासीय नेपालीलाई अनअराइभल भिसा नदिने निर्णय गरेको हो। हालसम्म गैरआवासीय नेपालीले परिचयपत्रका आधारमा भिसा पाउँदै आएका थिए। तर, अत्यावश्यक अवस्थामा नेपाल आउँदा स्वास्थ्य जाँच प्रमाणपत्रका आधारमा भने भिसा आवेदन दिन सकिने निणर्य सरकारले गरेको छ। सरकारले अनअराइभल भिसामा गरेको कडाइ र १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने व्यवस्थाको असर नेपालमा हुँदै आएका अन्तर्राष्ट्रिय उडानमा परेको छ।

यसैबीच केही अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले उडान प्रभावित भएको जानकारी गराएका छन्। नेपाल वायुसेवा निगमले शुक्रबार सूचना जारी गर्दै आफ्नो उडानतालिका कटौती गरेको जनाएको छ। फागुन २७ देखि काठमाडौं–दोहा उडान बन्द गरेको निगमले चैत २ देखि लागु हुनेगरी काठमाडौं–दिल्ली–काठमाडौं उडान दैनिक एकमा झारेको छ। हाल उक्त गन्तव्यमा बिहान र साँझ गरेर दैनिक दुइटा उडान हुँदै आएका छन्।

निगमले बैंगलौरमा चैत ६ र १८ गतेको उडान पनि रद्द गरेको जनाएको छ। त्यस्तै, मुम्बईमा प्रत्येक शुक्रबार हुँदै आएको उडान चैत २ देखि वैशाख ३ सम्म स्थगित गरिएको छ।

कोरोनाकै कारण यात्रु नपाएर बुधबारको बैंकक उडानसमेत रद्द गरेको निगमले सोही गन्तव्यको चैत १२ कोे उडानसमेत रद्द गरेको छ। चैत ६ र १३ गते हुने हङकङ उडानमा समेत यात्रुसंख्या नपुगेपछि रद्द गरिएको छ।

कोरोना भाइरसको त्रासका कारण यात्रु कम हुँदा उडानतालिका रद्द गर्नुपरेको निगमले जनाएको छ। जापानको नारिताका लागि सातामा हुँदै आउका तीन उडान भने हाललाई कायमै राखिएको निगमकी प्रवत्ता अर्चना खड्काले बताइन्। ‘सरकारले पर्यटक भिसामा रोक लगाएसँगै हवाई यात्रु कम हुँदा हाललाई केही गन्तव्यका उडान तालिका रद्द गरेका हौं’, उनले भनिन्, ‘नारिता उडानमा यात्रुको संख्या अझै दुई सय माथि रहेकाले हाललाई उडान बन्द गर्ने निणर्य भएको छैन्।’ नेपाल नागरिक उडड्यन प्राधिकरणले हाललाई जापान उडान बन्द गरिहाल्नुपर्ने अवस्था नरहेका जानकारी गराएकाले पनि जारी राखेको उनको भनाइ छ। जापानबाट पनि संक्रमणकै कारण उडान रोकिहाल्नुपर्ने निर्देशन नआएको उनले स्पष्ट पारिन्। उडान रद्द गरेका गन्तव्यको टिकटको पूरै पैसा फिर्ता हुने उनले जानकारी गराइन्।

यस्तै टर्किस एयरलाइन्सले पनि आफ्ना उडान प्रभावित भएको उल्लेख गर्दै ३० देखि ५० प्रतिशतले टिकट रद्द गरेको जनाएको छ। ‘कम्पनीले हाल नेपालमा सातामा पाँच उडान भर्दै आए पनि केही उडानमा यात्रु संख्या कम हुँदा अर्काे उडानमार्फत पठाउने अवस्था आएको छ’, कम्पनीको बजार प्रबन्धक बेनिजिर खानले भनिन्, ‘एयरलाइन्सले उडानतालिका रद्द गर्नुेपर्ने स्थिति आए पनि अहिले नै कुनै आधिकारिक निर्णय भने भएको छैन्।’ जर्मनी, इटाली, फ्रान्सलगायत युरोपेली मुलुकमा आउजाउ गर्ने यात्रु घट्दै गएको र सरकारले गरेको भिसासम्बन्धी निणर्यले उडान अझै प्रभावित हुने उनले बताइन्। ‘नेपाल आउने पर्यटकले भिसा पाउन नसक्ने र यहाँ आउने गैरआवासीय नेपाली पनि सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जस्ता निणर्यले प्रायः सबै हवाई कम्पनी प्रभावित बन्ने देखिन्छ,’ उनको भनाई छ।

कतार एयरलाइन्सले भने दोहा–काठमाडौं उडान हाललाई नियमित रहने जनाएको छ। कम्पनी सम्बद्व कर्मचारीका अनुसार हाल कम्पनीले काठमाडौंमा दैनिक तीन उडान भर्र्र्दै आएको छ। विश्वभरका एक सय ७०भन्दा बढी गन्तव्यमा उडान भर्दे आएको कतार एयरलाइन्सले काठमाडौंमा समस्या नरहेको जनाउँदै उडान यथावत राखेको ती कर्मचारीले बताए। नेपाल सरकारले खाडी मुुलुकमा जाने कामदारको श्रमस्विकृति रोकेका कारण यात्रुको संख्यामा भने केही प्रभाव देखिन थालेको ती कर्मचारीले बताए।

अध्यागमन विभागले समेत विदेशमा रहेका नेपालीलाई अत्यावश्यक कामले बाहेक नेपाल नआउन सूचना जारी गरेको छ। विश्वव्यापी महामारी भनिएको कोरोनाकै कारण पर्यटक प्रभावित हुँदा यस वर्षको वसन्त ऋतुमा हुने पर्वतारोहणसमेत रद्द भइसकेको छ। यसअघि अनुमति लिएका तर आरोहण गर्न बाँकी रहेकाले समेत अर्को सूचना जारी नभएसम्म आरोहण गर्न नपाउने भएका छन्।

प्रकाशित: १ चैत्र २०७६ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App