अर्थ

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकः १५औं योजना पारित

काठमाडौं - राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजना पारित गरेको छ। सोमबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो।

 १५औं योजनाको आधारपत्र भने गत बैशाख १७ गते पारित भएको थियो। आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए। उनले बैठकमा देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सुझाव र अर्थमन्त्री डा. युवराज खतिवडाले दिनुभएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने समेत बताए।

त्यस्तै बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको उनले बताए। यसबाहेक बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ।

बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमहरुका विषयमा समेत छलफल भएको थियो। त्यस्तै सार्वजनिक निजी साझेदारी अन्तर्गत गर्नुपर्ने केही कार्यक्रमका विषयमा छलफल भई कार्यान्वयनमा लैजाने निर्णय भएको उपाध्यक्ष कँडेलले बताए। १५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पुरा गर्ने गरी २५ वर्षे दिर्घकालिन सोच सहितका कार्यक्रमहरु समावेस गरिएको छ। त्यस्तै संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५ औं योजनाले गरेको छ।  

प्रकाशित: १९ फाल्गुन २०७६ ०७:४३ सोमबार

राष्ट्रिय_योजना_आयोग पूर्ण_बैठक योजना_पारित