अर्थ

महोत्सवलाई ‘भ्रमण वर्ष’ लक्षित गर्दै बिभिन्न आकर्षण दिइने

भेडेटार बिर्साउने कटारीको बेतिनी भन्ज्याङ । तस्बिर: महेश्वर

उदयपुर- उदयपुरको कटारीमा बिबिध खेलकुदयुक्त कार्यक्रम मार्शलआर्ट महोत्सव आयोजनाको तयारी भइरहेको छ। कटारी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय खेलप्रेमीहरुले आगामी १० देखि १७ गतेसम्म ‘कटारी मेयर कप मार्शलआर्ट महोत्सव २०७६’ को आयोजना गर्न लागिएको हो।

महोत्सवबारे मूल आयोजक समितिले सोमबार नै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजकले महोत्सवको तयारी लगभग पूरा भइसकेको जानकारी सम्मेलनमा दिएको छ। मूल आयोजक समितिले महोत्सवमा १ नं. प्रदेशका ६ सयभन्दा बढी बिभिन्न तौल समूहका खेलाडीको सहभागिता गराई प्रतिस्पर्धा गराउनने जानकारी दिएको छ। मूल आयोजक अध्यक्ष दिपक तामाङका अनुसार प्रतियोगितामा उसु, तेक्वान्दो र सितेरियो करातेमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। उसु, तेक्वान्दो र कराते तीनै विधामा गरी ४० स्वर्ण, ४० रजत र ७८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। उसुमा १४ वटा स्वर्ण, १४ रजत तथा २८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ भने तेक्वान्दोमा १२ स्वर्ण, १२ रजत र २४ कास्य पदकका लागि स्पर्धा हुनेछ। त्यस्तै प्रतियोगितामा सितोरियो करातेमा भिड्ने खेलाडीहरुमध्ये १४ ले स्वर्ण चुम्दा १३ ले रजत र २६ ले कास्य पदक पाउने अध्यक्ष तामाङले जानकारी दिए।

प्रतियोगिताको सहप्रायोजक कटारीस्थित होटल माछापुच्छ्रे होलिडेईन रहने निश्चित भइसकेको आयोजकले जनाएको छ। मेयर कप नाम दिइए पनि जारी ‘नेपाल भ्रमण वर्ष’ लाई महत्वपूर्ण सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगितामा प्रदेशभरका खेलाडीको सहभागिता गराउन लागिएको कराते प्रशिक्षक सुरेश थापामगरले बताए। उनका अनुसार अहिले जारी ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी प्रतियोगितामा सहभागी खेलाडीहरुलाई कटारीका बिभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको अवलोकन तथा भ्रमणका लागि आग्रह गर्न कटारी नगरपालिकासँग समन्वय भईरहेको छ।

खेलाडीलाई थकाई मार्ने गन्तव्य बेतिनी र हलेसी
कटारी नगरपालिकाका बेतिनी, ठाँटी भन्ज्याङ र कटारी बजारनजिकै रहेको बहुधार्मिक क्षेत्र घुम्न लायक छन्। बाह्रैकाल चिसो र घरीघरी हुस्सुले छोप्ने र छाडिहाल्ने आकर्षक मौसम छाईरहने बेतिनी भन्ज्याङले पूर्वको प्रमुख पर्यटकीयस्थल धनकुटा भेडेटारको झल्को दिने गर्दछ। तर, सम्बन्धित पक्षको बेवास्ता र आवश्यक प्रचारप्रसार अभावले बेतिनीको पर्यटन विकास हुन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन्। त्यस्तै कटारी बजारमा किरात, हिन्दु र बौद्ध धर्मका माङ, मन्दिर र गुम्बा रहेको डाँडा बहुधार्मिक क्षेत्र धार्मिक आस्तिकहरुका लागि दर्शन योग्य छ भने नास्तिकहरुका लागि शारीरिक व्यायाम (विहार)योग्य स्थल हो।

प्रतियोगितास्थलदेखि ५ मिनटभित्रै पुगिने एकैठाउँ किरातीको माङ, हिन्दुको मन्दिर र बुद्धिस्टको गुम्बा भएको बहुधार्मिक क्षेत्र खेलाडीलाई भगवानको दर्शन र शारीरिक व्यायाम दुवै हुन सक्छ। त्यसो गर्दा बिहान भगवानको दर्शनले खेलाडीको आत्मा शान्ति हुन्छ भने खेलिसकेपछि थकित शरीर २२ किलोमिटरमाथि बेतिनी भन्ज्याङ पुगेर चिसो मौसममा रम्न पाउँदा पुनर्ताजगीको महसुस हन्छ।

मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा र सोलु जोड्ने सिद्धिचरण लोकमार्गअन्तरगत कटारीकै ११ नं. वडामा हरेक वर्खायाममा पटकपटक पहिरो जाने र वर्षेनी सवारी दुर्घटनाले कैयौंको ज्यान गएर सधै चर्चामा आईरहने ठाँटी भन्ज्याङ अर्को हेर्नलायक ठाउँमध्ये एक हो। गएको बर्खामा झण्डै ३ सय मिटर सडकसहित पहाडै पहिरो जाँदा केहीमाथिको डाँडा काटेर बैकल्पिक बाटो निकालेपछि अहिले यातायात सुचारु भएको छ। कटारीदेखि ४७ किलोमिटर दूरी कटेपछि पुगिने दुधकोसी घुर्मी हुँदै जयरामघाटको नयाँ प्रविधिको झोलुङ्गे पुल तरेर खोटाङको प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसी पुग्न पाउनु कटारी आउँने खेलाडीका लागि संयोग र भ्रमण दुवै हुनसक्छ।
    
कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले पर्यटन वर्ष चलिरहेका बेला मार्सलआर्ट महोत्सव आयोजना गर्दै कटारीलाई १ नं. प्रदेशभर प्रचारप्रसार गर्ने योजना रहेको बताए। खेलको माध्यामबाट भएको जमघटमार्फत नगरपालिकाको पर्यटन विकास र प्रबद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको मेयर श्रेष्ठको बुझाई छ। ‘हाम्रो नगरपालिकामा बेतिनी, धार्मिक क्षेत्र, मठमन्दिरलगायत बिभिन्न आकर्षक पर्यटकीयस्थल छन्’ मेयर श्रेष्ठले भने ‘तर, प्रचारप्रसार नहुँदा ओझेलमै छन्। नगरपालिकाले अहिले खेलकुद प्रतियोगिताको माध्यमबाट जारी पर्यटक भित्र्याउने योजना बनाएको छ।’

उनले बेतिनीलाई चालु वर्षभित्रै रमणीय बनाएर धेरै पर्यटक भित्र्याउने योजना बनाएको पनि बताए। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै पर्यटन विकासका लागि निश्चित क्षेत्रहरु किटान गरी बजेटसमेत बिनियोजन गरेको बताउँदै मेयर श्रेष्ठले भ्रमण वर्षभरी १ लाख पर्यटक भित्र्याउने योजना नगरपालिकाले बनाएको बताए।  


 

प्रकाशित: ७ फाल्गुन २०७६ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App