अर्थ

एउटै वडाबाट २६० कोरी कागज निर्यात

खोटाङ – केपिलासगढी गाउँपालिकाको एउटै वडाबाट दुई सय ६० कोरी नेपाली कागज निर्यात भएको छ। गाउँपालिकाको वडा नम्बर १ मा रहेको फेदी सामुदायिक नेपाली हाते कागज उद्योगले पोहोरको ७२ र यस वर्ष उत्पादित एक सय ८८ कोरी कागज निर्यात गरेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख अम्बिकाप्रसाद पौडेलले बताए।

गत वर्ष फेदीबाट एक सय ५० कोरी कागज निर्यात भएको थियो। स्थानीय चिलिम–लाहुरे–पोखरी सामुदायिक वनमा पाइने लोक्ताबाट उत्पादित कागज काठमाडौं निकासी गरिएको कागज उद्योगका सञ्चालकले बताए। उक्त कागज काठमाडौंबाट विदेश पनि निर्यात हुन्छ। कागज काठमाडौं पु-याउँदा प्रतिकोरी ६ हजारसम्ममा बिक्री हुने उद्योग सञ्चालकमध्येका मनकुमार तामाङले बताए। कम गुणस्तरको कागज भने प्रतिकोरी ३२ सयमा बिक्री हुन्छ। उनका अनुसार सिक्रे लोक्ताबाट बनेको गुणस्तरीय कागजको सट्टा जिल्लामा बाबियो, पराल र केराको दाम्चाले बनेको नेपाली कागज प्रयोग हुने गरेको छ।

२२ सय मिटरभन्दा माथिको जंगलमा प्रशस्त मात्रामा पाइने सिक्रे लोक्ताबाट कागज बनाउने उद्योग स्थानीयले २०६८ सालमा स्थापना गरेका हुन्। उद्योगले उत्पादन गर्ने ३० इन्च लम्बाइ र २० इन्च चौडाइको एक पाना कागजको तौल २० ग्राम हुन्छ। दुई सय पानाको बन्डललाई कोरी भनिन्छ। एक कोरीको तौल सरदर चार केजी हुने उद्योगी बताउँछन्।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App